ताप्लेजुङका सामुदायिक वनमा वन्यजन्तु संरक्षणका कृत्रिम पोखरी निर्माण गरिदै

ताप्लेजुङका सामुदायिक वनमा वन्यजन्तु संरक्षणका कृत्रिम पोखरी निर्माण गरिदै

३० भाद्र २०७६, सोमबार
खानेपानी तथा बासस्थानको अभावले जंगली जनावर लोप हुन थाले पछि ताप्लेजुङका सामुदायिक वनमा कृत्रिम पोखरी निर्माण गर्न थालिएको छ । पछिल्लो पटक जिल्लाका ८ स्थानमा कृत्रिम पोखरी निर्माण भएका छन् ।
यहाँका क्रियाशील सामुदायिक वनसँगको साझेदारीमा हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्क र तीनजुरे मिल्के जलजले क्षेत्र संरक्षण आयोजनासँग मिलेर पोखरी निर्माण गरेको हो
उक्त संस्थाले सिरिजंघा गाउँपालिकाको मामाङ्खे, सिकैचा र फुङलिङ नगरपालिकास्थित फावाखोलामा पोखरी निर्माण गरेको छ । यस्तै मिक्वाखोला गाउँपालिकाको पापुङमा चार ओटा र मैवाखोला गाउँपालिकाको साँघुमा समेत पोखरी निर्माण गरिएको छ ।
वन्यजन्तु विस्थापित हुने मात्रै नभई मर्नेसम्मको समस्या देखिएपछि कृत्रिम पोखरी निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । उनका अनुसार संखुवासभाको चैनपुरमा र तेह्रथुमको मेन्छायम नगरपालिकामा समेत पोखरी निर्माण भएको छ ।
यसअघि ताप्लेजुङका २ स्थानमा पोखरी निर्माण भएको थियो । पोखरी निर्माणपछि ती क्षेत्रमा राम्रो परिणाम देखिएपछि थप पोखरी बनाइएको र आगामी दिनमा समेत यसलाई अघि बढाउने योजना गरेको राईको भनाइ छ ।
पछिल्लो समयमा अवैज्ञानिक तवरले भइरहेको विकासे गतिविधिले पानीका मुहानहरू सुक्दै जाँदा पशुप्राणीलाई पानीको अभाव देखिन थालेको वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्ने संघसंस्थाको भनाइ छ ।
ताप्लेजुङमा रेडपाण्डा, हिउँ चितुवा, बाघ, भालु, कस्तुरी र नाउर लगायतका वन्यजन्तु पाइन्छ । चोरी शिकारीको चपेटामा पर्दै आएका लोपोन्मुख वन्यजन्तु अवैज्ञानिक तवरले भइरहेका विकास निर्माणका गतिविधिले झर्दै समस्यामा पर्दै आएको सरोकारवाला बताउँछन् ।

सम्बन्धित खवर