बालुवा र माटोको तस्करीले महानगरपालिकाकै खोला असुरक्षित

बालुवा र माटोको तस्करीले महानगरपालिकाकै खोला असुरक्षित

भदौ १०, २०७६
प्रदेश १ को राजधानी विराटनगरमा सुरक्षाका संयन्त्र केन्द्रित छन्। जनप्रतिनिधि जागरुक छन्, स्थानीय आफैं सचेत छन्। राजधानी भएकै कारण प्रदेश सरकारका मन्त्रालयदेखि विभिन्न सरकारी निकाय यही स्थापित छन्। तर, सरकारले प्रतिबन्ध लगाएको खोलाजन्य वस्तुको उत्खनन् कार्य महानगरपालिकाभित्रै दिन दहाडै भइरहेको छ।
सोमबार बिहानै ३४ वटा कृषि प्रयोजनका ट्याक्टर खोलाको डिलमा लस्कर लागे। कोही खोलाको माटो भर्न लागे त कोही बालुवा भर्न। स्थानीयको सूचना पाएपछि सम्बन्धित स्थलमा पुगेको प्रहरी देखेपछि खोली ट्याक्टरहरू भागे भने ४ वटा प्रहरीले नियन्त्रणमा लिएको थियो। आधा भरेको एउटा ट्याक्टर पनि भाग्न सफल भएको प्रहरीको दाबी छ।
मोरङ प्रहरीले सोमबार खोलाको अवैध रुपमा माटो उत्खनन् गरी लोड गरिएको अवस्थामा को २ त ३०६१, को १ त ४११५, को १ त ५७७४ र को २ त ५०३२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो। यो क्रम अहिले मात्रै खोलाजन्य वस्तुको उत्खनन् प्रतिबन्ध लगाए पनि वैशाखदेखि नै यहाँ लुकी चोरीको नाममा खुलेआम सेटिङमा तस्करी भइरहेको छ।
समूहगत उत्खननमा जुटेको गिरोहले केशलिया खोलाको बहाव नै परिर्वतन गरेर उत्खनन् गरिरहेको हो। उत्खनन् गर्ने गिरोहले सो ठाउँमा सयौं मिटर क्षेत्रफलमा गहिरो खाडल पर्नेगरी उत्खनन गरेर भरौट बेच्दै आएका छन्। जसका कारण केशलिया खोलाको मूल वहावलाई साबिकभन्दा पूर्वतर्फ मोडिएको स्थानीय बताउँछन्।
दिन दिनै खोला तस्करी भएको विषयमा औपचारिक रुपमा स्थानीय पनि बोल्न डराउँछन्। खोलाजन्य पदार्थ निकाल्नुअघि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गर्नुपर्ने नियम छ। यस्तै सम्बन्धित स्थानिय तहहरुले ठेक्का लगाएपछि मात्र निर्धा्रित मापदण्ड अनुसार खोलाजन्य पदार्थ उपयोग गर्न पाउने नियम रहे पनि ती सबै नियमलाई उल्लंघन गर्दै उत्खनन् भइरहेको छ।
कहिले हाते औजारले त कहिले ठूला मेसिन लगाएर पनि खोला किनार खनिने गरेको स्थानीय बताउँछन्। खोलाको बगरभन्दा झण्डै ५ सय मिटर उत्तर अवस्थित पुल छेउमा समेत पुललाई प्रतिकूल असर गर्नेगरी माटो काटिएको छ। खोला किनारको डिल काटिएको कारण सो ठाउँमा जुनसुकै बेला भत्कन सक्ने सम्भावना छ।
गत साउनमा अन्तिम साता आएको बाढीले विराटनगर ६, १२ र १६ नम्बरको बस्तीमा केसलिया खोला पस्दा सयौं घर डुवनामा परेको थियो। महानगरपालिकाले यसखालको गतिविधिलाई नियन्त्रण गर्न सबै क्षेत्रमा एलर्ट गराएको जनाएको छ। यद्यपि माटो र बालुवाको तस्करी भने रोकिएको छैन।
विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले खोला किनारको २ सय मिटर क्षेत्रमा निजी जग्गा भए पनि उत्खनन् गर्न नपाईने बताए। अवैध उत्खनन् गरेको पाइए कारवाही गरिने उनको भनाइ छ। प्रहरीले नियन्त्रणमा लिएको चार वटा ट्याक्टरलाई आवश्यक कारवाहीको लागि विराटनगर महानगरपालिकामा सोमबार नै बुझाएको छ। बालुवा, माटो उत्खननमा संलग्न ४६ सवारी साधन कारबाहीमा सरकारले असार, साउन र भदौ गरी तीन महिनाभरी पूर्ण रूपमा खोला उत्खनन् गर्न रोक लाएको छ।
सरकारले रोक लगाएको बर्षायाममै मोरङको खोलामा व्यापक उत्खनन् हुने गरेको छ। मोरङको विभिन्न खोलाहरूमा अवैध उत्खनन् भइरहेको अवस्थामा साउन र भदौमा ४६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। साउनमा ४० वटा र भदौ ८ गतेसम्म ६ वटा गरी दुई महिनामा ४६ वटा सवारी साधान अवैध उत्खनन् गरि ढुंगा, गिटी, बालुवा र माटो ओसार्ने क्रममा नियन्त्रणमा लिएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए।
माटो, ढुंगा, गिटी र बालुवा अवैध उत्खनन्ले भू–बनोटलाई जोखिममा पारेको र बढी मुनाफा आर्जन गर्ने उद्देश्यमा लागेको गिरोह पनि सक्रिय रहेको बताउँदै अधिकारीले त्यस्ता गिरोहलाई नियन्त्रणमा लिएको बताए।
अवैध उत्खनन्मा संलग्न सवारी साधनलाई आवश्यक कारवाहीको लागि स्थानीय तह र जिल्ला समन्वय समितिमा बुझाउने गरेको उनको भनाइ छ। अनुगमन प्रभावकारी नहुँदा जिल्लामा खोला र नदीजन्य वस्तुको अवैध रुपमा उत्खनन् रोक्ने प्रयास भने सफल भएको छैन। राति र एकाबिहानै तस्करहरूले मोरङको खोलाबाट बालुवा गिट्टीको अवैध चोरी निकासी हुने गरेको छ।
बढी चोरी तस्करी हुने केराबारीको खोलाहरूमा अवेर राति प्रहरीको गस्ति नहुने समयमा बालुवा गिट्टीको अवैध उत्खनन हुने गरेको सर्वसाधरण बताउँछन्। नियमित अनुगमनको अभावमा अवैध काम बढेको भए पनि त्यो रोक्न स्थानीय सरकार भने असक्षम बन्दै गएको छ। त्यसको जिल्ला समन्वय समितिले पनि प्रभावकारी रुपमा अनुगमन गर्न सकेको छैन।
सहयोग ः ओबि

सम्बन्धित खवर