बालबालिका र पथरीशनिश्चरेमा बालबालिकाको अवस्था

बालबालिका र पथरीशनिश्चरेमा बालबालिकाको अवस्था

भिमराज अधिकारी
पथरीशनिश्चरे – ०५ हसन्दह, मोरङ

बालबालिका र पथरीशनिश्चरेमा बालबालिकाको अवस्था

भनिन्छ बालबालिका भविष्यका कर्णदार हुन् । उनिहरुको हेरचाह समयमा नै राम्रो गर्नुपर्छ अनिमात्र भविष्यमा राम्रो प्रतिफल पाइन्छ । हामीले हाम्रो पुस्ताको भविष्य राम्रो देख्नु छ भने अहिलेका बालबालिकामा राम्रो लगानी अवश्य हुनु पर्दछ । विकास भनेको के ? हामीले बुझेको विकास सडक, पुलपुलेसा, बत्ति, भवन निर्माण यस्तै यस्तै कुराहरु मात्र हुन् ? पक्कै हैनन् किनभने मानिसको मानसिक विकास, आचरणको विकास, असल व्यवहारको बिचार, सुमधुर सम्बन्धको विकास, भाइचाराको विकास लगाएतका थुप्रै विकास त अझै वढि महत्वका कुराहरु हुन् । एउटा भनाइ छ “१ वर्षका लागि हो भने धान खेतमा लगानी गर, १० वर्षका लागि हो फलफुलका विरुवामा लगानी गर, ५० वर्षका लागि हो भने सालमा लगानी गर तर १ सय वर्ष सम्मको आम्दानिका लागि हो भने बालबालिकामा लगानी गर” यो भनाइले प्रष्ट भन्छ अब हाम्रा सन्ततिको भविष्य चाहने हो भने अहिले देखि नै बालबालिकामा लगानी गर्नु पर्छ ।

नगर परिचय

मोरङ जिल्लाको पूर्वोत्तर क्षेत्रमा रहेको पथरीशनिश्चरे नगरपालिका दक्षिणमा २६.३६ र उत्तरमा २७.३९ डिग्री अक्षांश, पश्चिममा ८७.३३ र पूर्वमा ८७.९६ डिग्री देशान्तरमा रहेको छ । यसको सिमाना पूर्वमा उर्लाबारी र रतुवामाई नगरपालिका, पश्चिममा कानेपोखरी गाउँपालिका, उत्तरमा लेटाङ नगरपालिका र दक्षिणमा सुनवर्षी नगरपालिका रहेको छ । जम्मा वडा संख्या १० वटा रहेको यस नगरको क्षेत्रफल ७९.८१ वर्ग कि.मि. रहेको छ । यस नगरको पूर्वको सिमाना बक्राहा खोला र पश्चिमको सिमाना डाँस खोलाले छुट्याएको छ । यस्तै उत्तरको सिमाना घना जंगलमा रहेको छ भने दक्षिणको सिमानामा खेति योग्य जमिन रहेको छ । नगरमा सिमसारको र कृषिको प्रचुर सम्भावनाहरु रहेका छन् । पूर्व पश्चिम लोकमार्गले पनि करिब ४ कि.मि. दुरीको क्षेत्रफल ओगटेको छ । यो नगरपालिका साविकमा रहेका पथरी, शनिश्चरे र हसन्दह गाविस मिलेर बनेको हो । पथरी र शनिश्चरे मिलेर एकपटक नगरपालिका घोषणा भएको थियो । त्यसपनि राज्य पूनः संरचना आयोगले हसन्दह गाविसलाई पनि नगरका ५ र ६ दुईवटा वडामा समेटेर पथरीशनिश्चरे नगरपालिका घोषणा गारेको हो ।

को हुन् बालबालिका ?

आमाको गर्भमा रहेका देखि १८ वर्ष मुनिका सबै मानिसलाई बालबालिका भनेर अन्तराष्ट्रिय स्तरमा मानिन्छ । जसलाई हामी ०–१८ सम्मका बालबालिका भनेर चिन्दछौँ । नेपालको संविधान २०७२ ले पनि १८ वर्ष मुनिका सबैलाई बालबालिकालाई भनेर सम्बोधन गरेको छ । बालबालिकाको क्षेत्रमा काम गरिरहँदा आमाको हेरचाह पनि मुख्य रुपमा अगाडी आउने गर्दछ । पेटमा भएको बच्चाको हेरचाह राम्रोसंग भएन भने पछि उसको वृद्धि र विकासमा प्रत्यक्ष असर पर्ने भएकाले गर्भवति आमा देखि नै बालबालिकाको हेरचाह गर्नु पर्दछ । नेपालको संविधान बमोजिम १६ वर्ष उमेर पुरा भएको मानिसल नागरिकता पाउन योग्य हुन्छ । नागरिकता पाएपछि नाबालक स्वतः साबालक हुन्छ तर बालबालिकाको हक र अधिकार भने उसले १८ वर्ष सम्म नै उपभोग गर्न पाउँदछ । चाहे उसले नागरिकता लिएपनि नलिएपनि १८ वर्ष भन्दा मुनिका सबैलाई बालबालिका भनेर सम्बोधन गरिएको छ ।

पथरीशनिश्चरे नगरमा बालबालिकाको अवस्था चैँ कस्तो छ ?

पथरीशनिश्चरे नगरपालिका साविकका ३ वटा गाविसहरु मिलेर बनेको हुनाले पहिले देखि नै सबै गाविसले बालबालिकाको क्षेत्रमा केही न केही काम गरेको पाइन्छ । प्रत्येक गाविसहरुमा बालक्लव तथा बालक्लव संजालहरु रहेका थिए । स्थानीय स्वयत्त शासन ऐन २०५५ देखि नै बालबालिकाको क्षेत्रमा बजेटको व्यवस्था गर्नुपर्ने प्रावधानहरु रहेका थिए । स्थानीय तह हुनु अगावै प्रत्येक गाविसहरुले बालबालिकाको क्षेत्रमा जम्मा बजेटको १० प्रतिशत बजेट विनियोजन हुने गरेको थियो । यदि बालमैत्री अवधारणामा गएको गाविस भएमा अनिवार्य १५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने व्यवस्था थियो । फलस्वरुप पूर्ण खोप सुनिश्चितता, शतप्रतिशत् जन्मदर्ता, पोषण युक्त खानाको व्यवस्था, सुत्केरी स्याहार कार्यक्रम, अनिवार्य गर्भवति जाँच लगाएतका कार्यक्रमहरु संचालनमा थिए । यी सम्पूर्ण कार्यक्रमहरु गर्नका लागि बालबालिकाले आफै खर्च गर्न सम्भव नहुने भएकाले हरेक बालक्लवको संरक्षक, बालक्लव संजालको संरक्षण समिति थियो । जस्ले बालबालिकाको क्षेत्रमा उल्लेख्य मात्रामा काम गरेका थिए । फलस्वरुप पथरीशनिश्चरेमा पर्ने साविकका ३ वटै गाविसहरुमा पूर्ण खोप, शतप्रतिशत् जन्मदर्ता लगाएतका कार्यक्रमहरु पूर्ण रुपमा सम्पन्न भएका थिए ।

स्थानीय तहको पूनः संरचना पश्चात नयाँ व्यवस्था आयो हरेक अधिकारहरु स्थानीय तहलाई दिइयो र दिने क्रम चलिरहेको छ । २ आर्थिक वर्ष, आर्थिक वर्ष ०७४/०७५ र ०७५/०७६ सम्पन्न हुने लागेको छ । यो समयमा हेर्दा बालबालिकाको क्षेत्रमा उल्लेख्य कामहरु भएको पाइदैन जति गाविस रहँदा भइरहेका थिए । पछिल्लो समय बालबालिकाको शीर्षकमा बजेट एकदमै न्यून विनियोजन हुने गरेको पाइन्छ । चालु आ.व. ०७५/०७६ मा नगरले बालबालिकाको शीर्षकमा जम्मा ३ लाख बजेट बिनियोजन गरेको वार्षिक नगर विकास योजना, नीति तथा कार्यक्रमले देखाउछ । नगरका १० वटै वडाहरुले भौतिक विकासलाई मुख्य प्राथमिकतामा राखेका छन् । वडाहरुले वढिमा १ लाख सम्म बालबालिकाको क्षेत्रमा विनियोजन गरेका छन् । तर त्यो १ लाख अपूग रहेको पाइन्छ । नगरले बालमैत्री अवधारणामा काम अघि बढाउनुपर्ने हुन्छ । यसका लागि नगरले वार्षिक, ५ वर्षे, १० वर्षे कार्ययोजना सहित काम गर्नुपर्ने हुन्छ ।

बालमैत्री नगरका लागि “बालमैत्री स्थानीय शासन कार्यविधि २०६८”ले बालबालिका सम्बन्धीका ३९ वटा सूचकहरु तोकेको छ । ति सूचकहरु पुरा गर्न बालबालिकाको अवस्था, सूचक पुरा गर्न गर्नुपर्ने क्रियाकलापहरुका बारेमा जानकारी हुनु पर्दछ । यदि बालमैत्री नगर बनाउने हो भने पहिला बालबालिकाको स्थीति पत्र तयार गर्नु पर्दछ । जसका लागि नगरले प्रयाप्त मात्रामा बजेटको व्यवस्था गर्नु पर्दछ । यो महत्वपूर्ण विषय पनि हो । किनकी भनेजसरी काम गर्न सकिएन भने हामीले भनेको बालबालीका देशका कर्णदार हुन भन्ने कुरा भाषणमा मात्रै सिमित रहन्छ । साच्चिकै देशका कर्णदार बनाउन वडा, नगर, प्रदेश, संघ र सरोकारवाला सबै निकायहरु लाग्नु पर्दछ । लगानी भनेपछि त्यसको प्रतिफल आउनुपर्दछ र प्रतिफलका लागि लगानी गर्ने भनेको नै अहिलेका बालबालिकामा हो । नभए हामीले राम्रो भविष्यको आशा गर्न सक्दैनौँ । यसैगरी बालअधिकार सम्बन्धी अन्तराष्ट्रिय दस्तावेज “बालअधिकार सम्बन्धी महासन्धी १९८९” हो । यस महासन्धीका ५४ वटा धाराहरु रहेका छन् । जसमा रहेका बालअधिकारका कुराहरुलाई यसले बालबालिकाको ४ बाकस भनेर पनि व्याख्या गर्दछ ।

१. बाँच्न पाउने अधिकार
२. विकासको अधिकार
३. संरक्षण पाउने अधिकार
४. सहभागी हुन पाउने अधिकार

यसैगरी बालअधिकारका ४ सिद्धान्तहरु पनि रहेका छन् । कुनैपनि काम गर्दा यी सिद्धान्त विपरित काम गर्नु हुदैन अ‍ै भनेर यो अन्तराष्ट्रिय महासन्धीले भनेको छ ।

१. विभेद रहित
२. बालबालिकाको सर्वोत्तम हित
३. दीर्घ जीवन र विकास
४. बालबालिकाको विचार तथा भावनाको कदर

बालबालिकाका यी अधिकारका लागि पनि हामीले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ ।

पथरीशनिश्चरे नगरको पाश्र्वचित्र २०७५ मा नगरका हरेक विषयहरु समेटेको पाइन्छ । यसैका आधारमा केही तथ्यहरु सार्वजनिक गरिएको छ । यस नगरमा रहेका १० वटै वडामा बालक्लवहरु रहेका छन् । नगर पाश्र्वचित्र २०७५ का अनुसार नगरमा जम्मा २६ वटा बालक्लवहरु रहेको पाइन्छ । तर यस चालु आ.व.को आसार १५ सम्ममा नगरमा दर्ता भएका र हुन आएका बालक्लवहरु जम्मा २१ वटा मात्रै रहेको नगरको महिला तथा बालबालिका शाखाको तथ्याङ्क छ । पाश्र्वचित्रमा उल्लेख भएका बालक्लवहरु साविकको पथरी र शनिश्चरे गाविसका देखिन्छन् । सगैं जोडिएको हसन्दह गाविसका एउटा पनि बालक्लव नगर पाश्र्व चित्रमा उल्लेख छैन् । तर हसन्दहमा अहिलेको आर्थिक वर्षमा पनि बालबालिका सम्बन्धीका कार्यक्रमहरु प्रसस्तै संचालन भएका छन् । यसो त नगरले बाबालिका सम्बन्धी कार्यविधि पनि जारी गरिसेको छ । सो कार्यविधिले नगरमा बालबालिका र बालक्लव, बाल संरक्षणका कुराहरु स्पष्टसंग उल्लेख गरेको छ । कार्यविधि अनुसार कालक्लव नगरमा आएर दर्ता तथा सुचिकृत हुनुपर्ने प्रवधान राखिएको छ । तर बालबालिका आफै आउन नसक्ने र यस विषयमा कस्ले हेर्ने, दर्ताका लागि कस्ले नगर सम्म पु¥याउने भन्ने विषयमा अन्योलता बढेको छ । यसका लागि पनि नगरले ध्यान दिनसपर्ने आवश्यकता भने देखिन्छ ।

नगरमा जम्मा बालबालिकाको संख्या २५ हजार ९१५ रहेको पाश्र्व चित्रले देखाउछ । यसको मतलव जम्मा ४२.६३ प्रतिशत् १८ वर्ष मुनिका बालबालिका नगरमा रहेका छन् । जसमध्ये बालक १३ हजार ५७९ र बालिका १२ हजार ३३६ रहेको पाइन्छ । पाश्र्वचित्र अनुसार १४ हजार ८१९ जना विद्यालय जाने बालबालिका रहेका छन् भने ११ हजार ८१९ जना बालबालिका विद्यालय नजाने छन् ।

यी विद्यालय उमेरका बालबालिकाको लागि शिक्षा दिक्षाका लागि नगरका ७६ वटा शैक्षिक संस्थाहरु रहेका छन् । जसमध्ये २७ वटा सामुदायिक विद्यालय, ३५ वटा संस्थागत विद्यालय, २ वटा धार्मिक, ३ वटा बालकिास केन्द्रहरु, ३ वटा सामुदायिक सिकाइ केन्द्रहरु, ५ वटा मन्ेटेश्वरी र १ वटा स्नातकोत्तर सम्मको अध्ययन गराउने पथरी बहुमुखी क्यामपस रहेका छन् । यसको अलावा बालबालिकाको क्षेत्रमा काम गर्नका लागि थुप्रै सामाजिक गैर सरकारी संघसंस्थाहरु पनि रहेका छन् । नगरमा वडा नं. ५ साविकमा हसन्दहमा रहेको सुनौलो विहानी युवा क्लव रहेको छ । यसले प्लान नेपालको सहयोगमा १ हजार वढि बालबालिकालाई प्रत्यक्ष शैक्षिक क्षेत्रमा सहयोग गर्ने गरेको थियो । यसैगरी वडा नं. ८ मा रहेको प्रभात सामुदायिक युवा क्लवले पनि बालबालिकाको क्षेत्रमा कामहरु गरेको पाइन्छ । उर्लाबारी स्थीत रहेको युवा जागरण नेपालले विशेष गरेर यस वर्ष नगरमा बालबालिकाको कार्यक्रमहरु गरेको पाइन्छ । यसका अलावा पनि अन्य संघसंस्थाहरुले बालबालिकाको हितका लागि काम गर्ने गरेका छन् ।

नगरमा बालबालिकाको समस्या के ?

पथरीशनिश्चरेमा बालबालिका सम्बन्धी थुप्रै समस्याहरु रहेको नगर उपप्रमुख यमुना विष्ट बास्तोलाको भनाइ छ । मुख्य रुपमा बालबालिकामा लागूपदार्थ दुव्र्यसनि अढि मात्रामा रहेको विष्टको भनाइ छ । यसका अलावा बालश्रम, ज्याला मज्दुरी गर्ने परिवारमा बालबालिकामा शिक्षाको कमी, बाल प्रेम विवाह, घरपरिवारले नै गरिदिने बालविवाह लगाएतका समस्या छन् । नगरको न्यायिक समितिमा नै करिब १० वटा बालविवाहका मुद्धा दर्ता भएको विष्टले बताउनुभयो । विशेष गरेर नगरको तल्लो भेग अर्थात वडा नं. ५ र ६ मा वडि मात्रामा बालविवाह हुने गरेको पाइन्छ । तर नगरमा बालश्रम, लागूपदार्थ दुव्र्यसन, बाल प्रेम विवाह, बाल विवाह, विद्यालय बाहिर रहेका बालबालिका, अपाङ्गता भएका बालबालिकाहरुको तथ्याङ्गत हिसाबले हेर्ने हो भने यकिन तथ्याङ्क पाइदैन । यसका लागि नगरले चासो दिनुपर्ने देखिन्छ । यस चालु आर्थिक वर्षमा बालबालिकाका लागि भनेर विनियोजन भएको ३ लाख रुपैयाको समेत कुनै कार्यक्रम भएको छैन् । महिला तथा बालबालिका शाखा मार्फत काम गर्ने भन्दा भन्दै पनि यो शीर्षकको बजेटमा कुनै काम गर्न सकिएन विष्टले भन्नुभयो ।

बालबालिकाका थुप्रै समस्याहरु पुग्ने ठाउँ इलाका प्रहरी कार्यालय पथरी पनि हो । इलाका प्रहरी कार्यालय पथरीका अनुसार वाल विवाहका पनि निकैवटा घटनाहरु इलाका आएका छन् । तर तिनिहरु दर्ता गर्ने र कानुनी रुपमा कार्वाही गर्ने अवस्थामा पुगेको छैन् । सामान्य अभिभावक र बालबालिकालाई नै राखेर सम्झाएर पठाउने गरिन्छ । इलाका प्रहरी कार्यालय पथरीको ३ आर्थिक वर्ष देखिको डाटा हेर्ने हो भने चालु आर्थिक वर्षमा बालबालिका सम्बन्धी घटना वढी भएको पाइन्छ । आर्थिक वर्ष ०७३/०७४ मा १ जना बालिकाको भवितव्य ज्यान गएको तथ्याङ्क छ । यस्तै आर्थिक वर्ष ०७४/०७५ मा ३ बालिकाले आत्माहत्या गरेका छन् । १ बालक कर्तव्य ज्यानमा परेका छन्, भवितव्य ज्यानमा १ बालक परेका छन् । यस्तै सोही आ.व.मा २ बालिका जबरजस्ती करणीमा परेको तथ्याङ्क छ । यस्तै चालु आ.व. ०७५/०७६ को असार १५ सम्ममा २ बालक र १ बालिकाले आत्माहत्या गरेका छन् । भवितव्य ज्यान जानेमा १ बालक १ बालिक रहेका छन् । यो आर्थिक वर्षमा जवरजस्ती करणीमा १५ जना बालिका परेको तथ्याङ्क इलाका प्रहरी कार्यालय पथरीको रहेको छ । यसरी हेर्दा पछिल्लो आर्थिक वर्षमा जवरजस्ती करणीका घट्नामा ह्वात्तै वृद्धि भएको पाइन्छ । यसका अलावा लागूपदार्थ दुव्र्यसनका बालबालिका पनि इलाका आउने गरेका छन् तर उनिहरुलाई सम्झाइ बुझाइ गरेर अभिभावकको जिम्मा लगाइने गरेको छ । यसो त इप्रकाले पनि थुप्रै सचेतना गोष्ठीहरु गर्दै आएको छ ।

आगामी योजना तथा कार्यक्रम के ?

नगरले आगामी दिनमा बालबालिकाको क्षेत्रमा आवश्यक पर्ने बजेट प्रयाप्त मात्रामा विनियोजन गर्नु पर्दछ । बालबालिकाको स्थीति पत्र अनिवार्य रुपमा तयार गरिनु पर्दछ । यसो भएका आगामी कार्यक्रम के गर्ने भन्ने तय गर्न पनि सहज हुने छ । बालमैत्री अवधारणमा अघि बढ्नु पर्दछ । यसका लागि आवश्यक तयारी गर्ने, संघसंस्थाहरुसंग समन्वय, सहकार्य र छलफल गर्नु पर्दछ । सरोबारवाला सबै निकायहरु एक आपसमा सहभागी भएर बालबालिकाको क्षेत्रमा लागनी गर्न जुट्नु पर्दछ ।

नगरले आगामी दिनमा बालमैत्री अभियान गर्नका लागि तयारी गरिने नगर उपप्रमुख विष्टले बताउनुभएको छ । इलाका प्रहरीसंगको सहकार्यमा हरेक टोलमा सुरक्षा व्यवस्था चुस्त राखिने, बालबालिकासंग सम्बन्धित सबै संघ संस्थाहरुसंग समन्वय गर्ने, दुव्र्यसनि विरुद्ध विद्यालय, टोल, वडाहरुमा कार्यक्रम गरिने, बालविवाह विरुद्धका अभियानहरु चलाइने विष्टले जानकारी दिनुभयो । बालबालिकाको क्षेत्रमा आवश्यक बजेटको व्यवस्थापनका लागि पनि पहल गरिने विष्टले बताउनुभयो । अबका दिनमा बालबालिकाको क्षेत्रमा कडाइका साथ लाग्ने विष्टको भनाइ छ ।

यस विषयमा इललाका पथरीले पनि विभिन्न विद्यालयहरुमा सचेतना कार्यक्रम निरन्तर गर्ने जनाएको छ । रातको समयमा पनि सम्भावित क्षेत्रमा गस्ती गर्ने, शंकास्पद मानिसहरुलाई निगरानी गर्ने जस्ता कार्यक्रमहरु रहेका छन् । सुन्दर नगर र भविष्यका लागि सबैले एक आपसमा हातेमालो गरेर बालमैत्री नगर घोषणा गर्दै अगाडी बढ्न सके समुन्नत नगरको परिकल्पना गर्न सकिन्छ ।


सम्बन्धित खवर