नेपाली नानो स्याटलाइटले पृथ्वीको परिक्रमा गर्न थाल्यो

नेपाली नानो स्याटलाइटले पृथ्वीको परिक्रमा गर्न थाल्यो

काठमाडौँ—नेपालको पहिलो भू–उपग्रह ‘नेपाली–स्याट–१’ सोमबारदेखि अन्तरिक्षको परिक्रमा लगाउन सुरु गरेको छ । दुई महिनासम्म अन्तर्रा्ष्ट्रिय स्पेश स्टेसन(आईएसएस)मा रहेको भू–उपग्रहलाई सोमबार अपरान्ह ४ बजे ‘स्पेश’मा ‘डिप्लोइमेन्ट’ गरिएको हो ।

नेपाल सहित श्रीलंकाको रावना–१ र जापनको उगिसू भू–उपग्रह अन्तरक्षिमा सँगै छाडिएको हो। यो स्याटलाइट पृथ्वीको तल्लो अन्तरिक्ष कक्षलाई परिक्रमा गर्ने भूउपग्रह निर्माता एवं नाष्टका प्राविधिक हरिराम श्रेष्ठले कान्तिपुरलाई बताए।

उनका अनुसार स्याटलाइटलाई ४२० किलोमिटरको रेन्जमा डिप्लोइमेन्ट गरिएको हो। भूउपग्रहले आईएसएससँगै परिक्रमा गरिरहने उनले जानकारी दिए। स्याटलाइट जुन देशको नजिक पर्छ त्यही रहेको ग्राउण्ड स्टेसनसँग सञ्चार गर्न सक्ने श्रेष्ठको भनाइ छ।

नेपालमा दैनिक ४ पटकसम्म देखिने यो स्याटलाइटले नेपाली आकाशमा ४० मिनेट बिताउनेछ। ग्राउण्ड स्टेसनबाट हरेक पटकको डाटा लिने र कमान्ड दिन सकिने उनले सुनाए। स्याटलाइटले लोअर अर्बिट परिक्रमा गर्न ९० मिनेट लगाउनेछ भने सूर्यको प्रकाशमा ६० मिनेट र बाँकी समय अँध्यारो र चिसो क्षेत्रमा रहनेछ।

व्यावसायिक प्रयोजनका लागि नभएपनि अध्ययन तथा अनुसन्धानका लागि निर्मित भूउपग्रहबाट पठाइएको तथ्याङ्क सङ्कलन लागि चाहिने ग्राउण्ड स्टेसन निर्माण अहिलेसम्म सम्पन्न भएको छैन। नाष्टले गत चैत १९ गते उपकरण खरिदका लागि भनेर २१ दिनको सूचना निकालेर बोलपत्र आहृवान गरेको थियो। तर दुई महिना बितिसक्दा समेत ग्राउण्ड स्टेसन सञ्चालनमा आउन सकेको छैन।

नाष्ट स्रोतका ग्राउण्ड स्टेसनका लागि चाहिने रोटेटर उल्टो परेपछि स्टेसन निर्माण ढिलाइ भएको हो। तथ्याङ्क सङ्कलन अन्य देशमा रहेका ग्राउण्ड स्टेसनबाट हुनेछ। भुटान र बंगादेशका ग्राउण्ड स्टेसनले तथ्यांयक संकलनमा सहयोग गरिदिने श्रेष्ठले जानकारी दिए।

यो भूउपग्रह ठुलो नभएर नानो भू–उपग्रह हो। यो १यू–क्यूब–स्याट (लम्बाई,चौडाइ र उचाइ १०,१० सेन्टिमिटर भएको) नानो स्याटलाइट हो। ‘स्याटलाइट सर्भिस ओरिन्टेट नभएर डेमोनस्ट्रेसन र रिसर्च ओरिन्टेट हो।’ श्रेष्ठले भने। अहिले स्याटलाइटले तस्बिर लिन सक्ने नाष्टले जनाएको छ। अन्तरिक्षमा चुम्बकीय शक्तिको अध्ययन गर्न र रिमोट सेन्सिङ र अन्य सामन्य किसिमका काम मात्र गर्न सकिनेछ।

सम्बन्धित खवर