राणाकालदेखि वर्तमानसम्मका गभर्नरको जीवनी, मर्जरको कथा र मुद्रा इतिहास समेटिएको खोजमूलक कृति
-केशव भारद्वाज
मोरङ / अर्थतन्त्रको मेरुदण्ड मानिने बैङ्किङ क्षेत्रलाई केवल मुद्रा राख्ने थलोको रूपमा मात्र नभई यसको ८८ वर्ष लामो इतिहास र आयामहरूलाई मिहिन रूपमा केलाउँदै एक महत्त्वपूर्ण खोजमूलक पुस्तक बजारमा आएको छ।
मोरङको पथरी शनिश्चरे-१ निवासी खोजकर्ता लेखक एवम् सञ्चारकर्मी दीपेन्द्रराज तिम्सिनाले गहन अध्ययनपछि ‘नेपालको बैङ्किङ इतिहास’ नामक पुस्तक प्रकाशनमा ल्याउनु भएको हाे । राणाकालीन अवस्थादेखि वर्तमान समयसम्मको नेपाली बैङ्किङ यात्रालाई सजीव रूपमा प्रस्तुत गर्ने यस पुस्तकले नेपालको आर्थिक इतिहास बुझ्नका लागि एक बलियो आधार प्रदान गरेको छ।
पुस्तकमा समेटिएका मुख्य विषयहरू
लेखक तिम्सिनाले २७२ पृष्ठको यस कृतिमा ५१ वटा भिन्न-भिन्न विषयवस्तुहरूलाई समेटेका छन्। यसमा समावेश भएका मुख्य जानकारीहरू यस्ता छन् :
गभर्नरहरूको जीवनी : नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हिमालय शमशेरदेखि वर्तमान गभर्नर विश्वनाथ पौडेलसम्मका १८ जना गभर्नरहरूको तस्बिरसहितको विस्तृत जीवनी समाविष्ट छ।
ऐतिहासिक सन्दर्भ: राणाकालमा बेलायतबाट फर्केर नेपालमा बैङ्क खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङ्किङ क्षेत्रका अगुवा बिके श्रेष्ठ र विदेशी बैङ्क भित्र्याउने डा. प्रकाशचन्द्र लोहनीसहितका व्यक्तित्वहरूको योगदान समेटिएकाे छ।
मुद्रा र टक्सार इतिहास: लिच्छविकालदेखिका मुद्राहरूको खोजी तथा भोजपुरको टक्सारको इतिहासकाे खाेजी गरिएकाे छ।
बैङ्किङ घटनाक्रम: नेपाली बैङ्कहरूको मर्जरको इतिहास, द्वन्द्वकालमा बैङ्कमा भएको आक्रमण, जेनजी आन्दोलनका बेला भएको क्षति र चिनियाँ ह्याकरले मच्चाएको लुटपाट जस्ता विषय समेटिएकाे छ ।
विविध आयाम: खारेज भएका बैङ्कहरू, बैङ्किङ क्षेत्रमा महिला सहभागिता (डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिमिल्सिनासहित), विपत्मा बैङ्कको सहयोग, राष्ट्रिय/अन्तर्राष्ट्रिय अवार्डहरू र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन/कानुनहरूजस्ता विविध सन्दर्भ जाेडिएकाे छ।
बैङ्कको चिनारी: पुस्तकमा क श्रेणीका वाणिज्य र ख श्रेणीका विकास बैङ्कहरूको परिचय र पूर्वमा खुलेका बैङ्कहरूको इतिहास समेटिएकाे छ।
टेलिफाेन डायरीदेखि बैङ्किङ क्षेत्रकाे यात्रासम्म
लेखक तिम्सिनाको विगत एक दशकको निरन्तर खोज यात्राको फलस्वरूप यो पुस्तक आएको हो। झापा दमकको स्रष्टा छापाखानाले छापेको र लीला निरौला प्रकाशक रहेको यो उहाँको १४ औं पुस्तककार कृति हो। यस पुस्तकको महत्त्वबारे नेपाल बैङ्कर्स संघका अध्यक्ष दिनेश कोइरालाले समेत शुभकामना दिँदै यो पुस्तक नेपाली बैङ्किङ इतिहास बुझ्नका लागि राम्रो सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभएको छ।
‘टेलिफोन डायरी’ (२०६८), ‘मोरङको सामुदायिक वन : एक चिनारी’ (२०६९), ‘मोरङको क्षेत्र नं २ : एक चिनारी’ (२०७०), ‘पथरी शनिश्चरे नगरपालिका : एक चिनारी’ (२०७७), ‘जेसीज दस्तावेज : विगतदेखि वर्तमानसम्म’ प्रथम (२०७७) र दोस्रो संस्करण (२०७८), ‘धिमाल जातिको इतिहास : विगतदेखि वर्तमानसम्म’ (२०७८), ‘इतिहासमा पथरी शनिश्चरे’ (२०७८), ‘मोरङका जनप्रतिनिधि सँगालो’ (२०७९), ‘माइखोलादेखि पुनर्वाससम्म’ (२०८०), ‘तिमिल्सिना इतिहास : विगतदेखि वर्तमानसम्म’ (२०८०), ‘गुमनाम एक इतिहास : बिसे नगर्ची’ पहिलो (२०८१) र दोस्रो संस्करण (२०८१) जस्ता यसअघि प्रकाशित खोजमूलक पुस्तकहरूले तिम्सिनालाई चर्चित लेखकको रूपमा स्थापित गरिसकेको छ।
अहिले प्रकाशित १४ औँ पुस्तककार कृति ‘नेपालको बैङ्किङ इतिहास’ भने नेपाली अर्थतन्त्रको जगलाई गहिराइबाट नियाल्न चाहने हरेक पाठक, विद्यार्थी, अनुसन्धानकर्ता र बैङ्किङकर्मीका लागि एक अनिवार्य सन्दर्भ सामग्रीको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।







