मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला : बलात्कारपछि हत्याको आशङ्का

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला : बलात्कारपछि हत्याको आशङ्का

मोरङ, मोरङको लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतम १८ दिनदेखि बेपत्ता भएकोमा उनको शव लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र शुक्रबार बीभत्स अवस्थामा फेला परेको छ। असोज २१ गते दिउँसो ४:३० बजेतिर घरबाट बेपत्ता भएकी बालिकाको शव टाउको र शरीर छुट्टिएको तथा सडेर दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार, घटनास्थलको दृश्य अत्यन्तै भयावह र हृदयविदारक रहेको छ। बीभत्स अवस्थामा शव फेला परेकाले स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशङ्का व्यक्त गर्दै तत्काल दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ। एसपी कटवालले पोस्टमार्टम रिपोर्ट र फरेन्सिक अध्ययनपछि मृत्युको कारण स्पष्ट हुने बताएका छन्। उनले हाल हत्या हो वा जङ्गली जनावरको आक्रमण भन्ने यकिन नभएको तर अनुसन्धान तीव्र पारिएको जानकारी दिए। प्रहरी स्रोतका अनुसार, घटनास्थल र शवको प्रकृति हेर्दा बलात्कारपछि धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने आशङ्का छ। प्रहरीले घटनास्थल नियन्त्रणमा लिई प्रमाण सङ्कलन गर्नुका साथै वरपरका केही व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ। घटनाले लेटाङ गाउँ नै स्तब्ध एवं त्रसित बनेको छ।

सम्बन्धित खवर