श्रीलंका पुलिस स्पोर्ट्स क्लब आर्मीसँग ५–१ गोल अन्तरले पराजित

श्रीलंका पुलिस स्पोर्ट्स क्लब आर्मीसँग ५–१ गोल अन्तरले पराजित

काठमाण्डौ । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप–२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो चरणको यात्रा तय गरेको हो ।

आर्मीलाई पुनरागमन जित दिलाउन नवयुग श्रेष्ठले २ गोल गरे । यस्तै सन्तोष तामाङ, टंक बहादुर बस्नेत, सुदिल राईले एक एक गोल गरे । श्रीलंका पुलिसका इभान्सले एक गोल फर्काए । अब आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल बैशाख १ मा हुनेछ । भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । यस प्ले अफको विजेताले समूह चरणको समूह ’डी’ स्थान बनाउने छन् ।

समूह ’डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो । सहिद स्मारक ’ए’ डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।

सम्बन्धित खवर