अर्जुन काफ्ले, पथरी
आइतबारे क्रिकेट क्लबद्धारा आयोजित स्थानीय जनता माध्यमिक विद्यालयको खेल मैदानमा आइतबार सम्पन्न वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ७ ले जितेको छ।
आइतबार भएको फाइनल खेलमा वडा नम्बर ३ लाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर ७ च्याम्पियन बनेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको वडा नम्बर ३ वडा नम्बर ७ को बलिङ आक्रमण सामु टिक्न सकेन। निर्धारित २ ओभरको खेलमा वडा नम्बर ३ ले ११ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो। चेतन खतिवडाले २४ बलमा ५१ रन जोडन वाहेक अन्य व्याटमेनले रन जोडन सकेनन् । अनिस लुइटेलले ११ रन बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । वडा नम्वर ३ का ५ जना व्याटमेन त शुन्यमै आउट भए ।
८८ रनको सामान्य लक्ष्य पछ्याएको वडा नम्बर ७ ले सुरुदेखि नै आक्रामक ब्याटिङ प्रदर्शन गर्यो। टोलीले मात्र ८ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्दै सहज जित दर्ता गर्यो ।
वडा नम्बर ७ को जितका मुख्य नायक ओपनर सुधिर बस्नेत बने। उनले ३३ बलमा ९ छक्का र १ चौकाको मद्दतले अविजित ६४ रनको विस्फोटक इनिङ खेल्दै विपक्षी बलरमाथि पूर्ण दबाब सिर्जना गरे। अर्का ब्याटर बिबेक मोक्तान ८ रनमा अविजित रहे ।
वडा नम्बर ३ का अभिषेक बिक बालाले ४ ओभरमा १६ रन खर्चेर एक विकेट लिँदै टोलीका लागि एकमात्र सफलता दिलाएका थिए। प्रतियोगिता समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। फाइनलमा शानदार प्रदर्शन गरेका सुधिर बस्नेतले ‘म्यान अफ दि म्याच’ र ‘सर्वोत्कृष्ट खेलाडी’ दुवै उपाधि जित्न सफल भए।
प्रतियोगीताको उत्कृष्ट ब्याटर विशाल तामाङ वडा नं २ उत्कृष्ट बलर सुदिप चौधरी वडा नं १ उत्कृष्ट फिल्डर अभिषेक बिक बाला वडा नं ३ र उदयमान खेलाडी अनमोल कोइराला वडा नं ३ घोषित भए । विजेता तथा उपविजेता र विधागत तर्फ उत्कृष्ट घोेषित वडा र खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो ।
विजेता वडा नम्वर ७ ले ३० हजार रुपयाँ र ट्रफि प्राप्त गर्दा उपविजेता वडा नम्वर ३ २० हजार रुपयाँमा चित्त बुझाउन पुग्यो । फाइनलमा पथरीशनिश्चरे घर भएर कोशी प्रदेश को महिला क्रिकेट टिमवाट उत्कृष्ट प्रर्दशन गर्ने उमेर समुहकि खेलाडी शुभेच्छा लिम्बुलाई सम्मान समेत गरिएको थियो । स्थानीय खेलकुदको विकास तथा युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आइतबारे क्रिकेट क्लब द्धारा आयोजित प्रतियोगिताको पथरीशनिश्चरे नगरपालिकाको खेलकुद विकास समितीको आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।
फाइनल खेल हेर्न जनता माविको मैदानमा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटप्रतिको आकर्षण र खेलाडीहरूको उत्साहलाई थप बल पुगेको आयोजकले जनाएको छ।






