​वडा स्तरिय टि ट्वान्टी क्रीकेट वडा नं. ७ र २ को बिजयी सुरुवात

​वडा स्तरिय टि ट्वान्टी क्रीकेट वडा नं. ७ र २ को बिजयी सुरुवात

पथरी
वडा स्तरिय टि ट्वान्टी क्रीकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलमा  वडा नम्बर ७ र २ बिजयी भएका छ्न । दुबै टिम सेमिफाइनमा प्रबेश गरेका छ्न ।
जनता माबीको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा वडा नम्बर २ ले वडा नम्बर १० माथि ४५ रनको रोमाञ्चक जित दर्ता गरेको छ। विशाल तामाङको उत्कृष्ट ब्याटिङ र राज राईको घातक बलिङको मद्दतले वडा नं. २ ले खेल आफ्नो पक्षमा पारेको हो।
​खेलमा पहिले ब्याटिङ गरेको वडा नम्बर २ ले १९.१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १९६ रनको विशाल योगफल खडा गर्‍यो। टोलीका लागि प्रारम्भिक ब्याट्सम्यान विशाल तामाङले विष्फोटक ब्याटिङ गर्दै ५४ बलमा ५ चौका र ८ छक्काको मद्दतले सर्वाधिक ७७ रनको योगदान दिए। त्यस्तै, सोलोमन राईले १४ बलमा ३२ रन तथा केलिन राईले २० रन जोडे।
​बलिङतर्फ वडा नम्बर १० का महेश कार्की, आयुष्मान खड्का र वरुण भण्डारीले समान २–२ विकेट लिए।
​१९७ रनको ठूलो लक्ष्य पछ्याउँदै मैदान उत्रिएको वडा नम्बर १० ले राम्रो सुरुवात गरे तापनि १६.५ ओभरमा १५१ रन बनाउँदा आफ्ना सबै विकेट गुमाउन पुग्यो। टोलीका लागि पुष्कर चौहानले १५ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ३३ रन बनाए। अन्य ब्याट्सम्यानहरूमा समिर कटुवालले २६ रन, वरुण भण्डारीले १८ रन र गौरव थपलियाले १७ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।
​वडा नम्बर १० को इनिङ्सलाई ध्वस्त पार्ने क्रममा वडा नम्बर २ का बलर राज राईले किफायती र घातक बलिङ गरे। उनले २.४ ओभरमा मात्र १३ रन खर्चेर महत्वपूर्ण ४ विकेट चट्काए। त्यस्तै, केलिन राई र सोलोमन राईले पनि समान २–२ विकेट लिँदै टोलीको जित सुनिश्चित गरे। खेलको म्यान अफ दि म्याच वडा नम्बर २ का विशाल तामाङ घोषित भए ।
त्यस अघि बिहान भएको पहिलो खेलमा  वडा नम्बर ७ ले वडा नम्बर ८ लाई ७० रनले पराजित गरेको थियो ।
टस हारेर  पहिले ब्याटिङ गरेको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रनको बलियो योगफल खडा गरेको थियो। टोलीका लागि विवेक मोक्तानले २१ बलमा ३ चौका र २ छक्काको मद्दतले सर्वाधिक २९ रन जोडे। त्यस्तै, सिद्धार्थ धिमालले १३ बलमा २३ रन तथा सुधिर बस्नेतले २० रनको महत्वपूर्ण योगदान दिए।
​बलिङतर्फ वडा नम्बर ८ का भुपेन राईले ४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए भने दिवस राजवंशी र बिबेक कार्कीले समान २–२ विकेट हात पारे।
​१३८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको वडा नम्बर ८ को ब्याटिङ लाइनअप वडा नम्बर ७ को धारिलो बलिङसामु टिक्न सकेन। वडा नम्बर ८ ले १४.४ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै मात्र ६७ रनमा समेटिन पुग्यो। टोलीका लागि मनोज देवानले ७ बलमा १६ रन तथा प्रदिप नुनियाले ९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
​वडा नम्बर ८ लाई सस्तैमा समेट्न बलिङतर्फ वडा नम्बर ७ का उत्सव राईले ३ ओभरमा मात्र ७ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, उत्कृष्ट बलिङ गर्दै विवेक मोक्तानले २.४ ओभरमा १ मेडन राख्दै ८ रन दिएर ३ विकेट चट्काए भने सौरभ बस्नेतले २ विकेट लिए।

​ब्याटिङमा २९ रनको योगदान दिनुका साथै बलिङमा समेत ३ विकेट लिँदै उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका वडा नम्बर ७ का बिबेक मोक्तान खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए। यो संगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमीफाइनलमा वडा नम्बर १ र वडा नम्बर ७ भिडने छ्न भने वडा नम्बर ३ र वडा नम्बर २ प्रतिस्पर्धा गर्ने छ्न । आइतबारे क्रीकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको बिजेताले ३० हजार नगद र ट्रफी प्राप्त गर्ने छ्न भने उपबिजेताले २० हजार नगद र ट्रफी प्राप्त गर्ने छ । मैदानको अभाबमा खेल असार ६ मा सेमिफाइनल र असार ७ गते फाइनल खेल हुने छ ।

सम्बन्धित खवर