वडा स्तरिय प्रतियोगितामा वार्ड नम्बर १ र वडा नम्बर ३ को जित

वडा स्तरिय प्रतियोगितामा वार्ड नम्बर १ र वडा नम्बर ३ को जित

पथरी
आइतबारे क्रिकेट क्लबको आयोजनामा जनता माविको खेल मैदानमा शनिबार बाट सुरु भएको वडा स्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १ ले वडा नम्बर ५ लाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। पथरीशनिश्चरे नगरपालिकाका ८ वटा वडा सहभागी प्रतियोगिताको पहिलो खेल जितेर वडा नमर १ सेमिफाइनल प्रबेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको वडा नम्बर १ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५८ रनको सम्मानजनक योगफल तयार पारेको थियो।
ब्याटिङतर्फ वडा नम्बर १ का आदर्श कार्कीले आक्रामक प्रदर्शन गर्दै १७ बलमा ४ छक्का र १ चौकाको सहयोगमा सर्वाधिक ३१ रन बनाए। त्यस्तै राज बस्नेले अविजित २१ रन, रावणले १८ रन तथा योगेश श्रेष्ठले १७ रनको योगदान दिए।
वडा नम्बर ५ का बलरहरूले सुरुवातदेखि नै दबाब सिर्जना गरेका थिए। संजीव धिमालले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए भने विशाल रोक्काले पनि ३ विकेट हात पारे। सञ्जय मुर्मु र द्रोण जंग बस्नेतले समान २–२ विकेट लिए।
१५९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर ५ ले केही समय संघर्ष गरे पनि निरन्तर विकेट गुमाउँदा १६.२ ओभरमा १४२ रनमै समेटियो।
वडा नम्बर ५ का लागि विशाल रोक्काले १० बलमा ३ छक्का र २ चौकासहित सर्वाधिक २७ रन बनाए। संजीव धिमालले २५ रन, सनम सुन्दासले २० रन तथा गंगा राजबंशीले १९ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।
बलिङतर्फ वडा नम्बर १ का सुदिप चौधरी र रावण निर्णायक बने। सुदिपले ४ ओभरमा १ मेडनसहित १३ रन दिएर ३ विकेट लिए भने रावणले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट हात पारे। अर्जुन बस्नेत र आदर्श कार्कीले समान २–२ विकेट लिएपछि वडा नम्बर ५ को इनिङ्स धराशायी बन्यो।
खेलको म्यान अफ दि म्याच बिजेता टोलीका आदर्श कार्की घोषित भए ।
त्यस्तै दोश्रो खेलमा
वार्ड नम्बर ३ ले वार्ड नम्बर ९ माथि ४ विकेटको सानदार जित निकालेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको वडा नम्बर ९ १७.५ ओभरमा ९९ रनमै अलआउट भयो। टोलीका लागि मध्यक्रमका ब्याट्सम्यान सुरज खड्काले एक्लै उत्कृष्ट संघर्ष गर्दै ३२ बलमा ९ छक्का र २ चौकाको मद्दतले ६२ रनको विस्फोटक इनिङ्स खेले।
उनलाई सरोज अधिकारीले १२ रनको साथ दिए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्। वडा नम्बर ९ का ६ जना ब्याट्सम्यान शून्यमै आउट भएपछि टोली ठूलो योगफल बनाउन असफल रह्यो।
बलिङतर्फ वडा नम्बर ३ ले सुरुदेखि नै दबाब कायम राख्यो। अभिषेक बिक बालाले ४ ओभरमा २ मेडनसहित केवल ५ रन खर्चेर ३ विकेट लिए। त्यस्तै अमर नेपालीले पनि ४ ओभरमा २ मेडन राख्दै ११ रन दिएर ३ विकेट लिएपछि वडा नम्बर ९ को इनिङ्स धराशायी बन्यो।
१०० रनको विजयी लक्ष्य पछ्याएको वडा नम्बर ३ ले आक्रामक ब्याटिङ गर्दै १३.५ ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाउँदै सहज जित निकाल्यो।
ब्याटिङतर्फ अनिस लुइटेलले सर्वाधिक २९ रन बनाए। समित राई र सुशील काफ्लेले समान १६–१६ रनको योगदान दिए भने अभिषेक बिक बाला १० रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए।
वडा नम्बर ९ का लागि प्रतिक धिमालले ३ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए भने लक्ष्मी बहादुर खड्काले २ विकेट हात पारे। तर त्यो प्रदर्शन टोलीलाई जित दिलाउन पर्याप्त भएन।
खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका अभिषेक बिक बाला म्यान अफ दि म्याच घोषित भए। बलिङमा ३ विकेट र ब्याटिङमा अविजित योगदान दिएपछि उनले टोलीको जितमा निर्णायक भूमिका खेले।
जनता माविको मैदानमा जारी प्रतियोगिताले स्थानीय क्रिकेटप्रेमीबीच उत्साह थप्दै प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेलमा वडा नम्बर ७ र वडा नम्बर ८ आमनेसामने हुनेछन् भने दोस्रो खेलमा वडा नम्बर २ र वडा नम्बर १० बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
आइतबारे क्रिकेट क्लबको आयोजनामा तथा पथरीशनिश्चरे नगरपालिका खेलकुद विकास समितिको सहयोगमा जनता माविको खेल मैदानमा जारी वडा स्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता बिजेताले ३० हजार नगद र ट्रफी जित्ने छ्न भने उपबिजेताले २० हजार नगद सहित ट्रफी प्राप्त गर्ने छ्न ।

 

सम्बन्धित खवर