आगामी असोजमा ‘तेस्रो पथरी शनिश्चरे गोल्डकप’ हुने, विजेतालाई ६ लाख पुरस्कार

आगामी असोजमा ‘तेस्रो पथरी शनिश्चरे गोल्डकप’ हुने, विजेतालाई ६ लाख पुरस्कार

पथरी (मोरङ) / मोरङको पथरीशनिश्चरेमा आगामी असोज १७ गतेदेखि २६ गतेसम्म ‘अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप २०८३’ आयोजना हुने भएको छ। पथरी–११ फुटबल क्लबको आयोजनामा हुन लागेको यस प्रतिष्ठित प्रतियोगिताको तयारी र मितिबारे आयोजकले आज पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिएको हो।

क्लबका सचिव केशर थुलुङले स्थानीय फुटबलको व्यावसायिक विकास र निरन्तरताका लागि वार्षिक क्यालेन्डरअनुसार नै गोल्डकपको तेस्रो संस्करण आयोजना गर्न लागिएको बताउनुभयो ।

अनुमानित बजेट र पुरस्कार राशि

आयोजकले प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ बराबरको सन्तुलित अनुमानित आय–व्यय विवरण सार्वजनिक गरेको छ।

विजेता पुरस्कार: नगद ६ लाख रुपैयाँ, ट्रफी र मेडल

उपविजेता पुरस्कार: नगद ३ लाख रुपैयाँ, ट्रफी र मेडल

टोली व्यवस्थापन खर्च: २५ लाख रुपैयाँ

बजेटमा विधागत पुरस्कार, प्यारापिट निर्माण, रेफ्री पारिश्रमिक, सुरक्षा व्यवस्था, प्रचारप्रसार तथा मैदान व्यवस्थापन लगायतका शीर्षकहरू समेटिएका छन् ।

आर्थिक स्रोत र सहयोगको अपेक्षा

८० लाखको अनुमानित बजेट जुटाउन आयोजकले विभिन्न स्रोतहरू तय गरेको छ :

स्थानीय सरकारको सहयोग: पथरी शनिश्चरे नगरपालिकाबाट २० लाख रुपैयाँ सहयोगको अपेक्षा गरिएको छ।

अन्य स्रोत: मुख्य प्रायोजक, सह–प्रायोजक, व्यावसायिक प्रतिष्ठान, निजी विद्यालय तथा स्वदेश र विदेशमा रहेका खेलप्रेमी शुभेच्छुकहरूबाट आर्थिक संकलन गरिनेछ।

“यस प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीहरूको प्रतिभा प्रवर्द्धन र खेल पर्यटन (Sports Tourism) लाई ठुलो टेवा पुर्‍याउनेछ। यसलाई भव्य रूपमा सफल पार्न सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी, व्यवसायी र सम्पूर्ण खेलप्रेमीको साथ अनिवार्य छ।” — सुमन विक, अध्यक्ष (पथरी–११ फुटबल क्लब)

पूर्वी नेपालकै उदीयमान र प्रतिष्ठित प्रतियोगिताको रूपमा स्थापित हुँदै गएको ‘पथरीशनिश्चरे गोल्डकप’ को तेस्रो संस्करणलाई लिएर स्थानीय खेलप्रेमी र दर्शकहरूमाझ अहिलेदेखि नै निकै उत्साह छाएको छ।

सम्बन्धित खवर