मुख्य मन्त्रीले गरे शौचालयको उद्घाटन (भिडियो सहित)

मुख्य मन्त्रीले गरे शौचालयको उद्घाटन (भिडियो सहित)

सुन्दरहरैंचा, प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले देशकै नमूना शौचालयको उद्घाटन गरेका गर्नुभएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा निर्माण भएको शौचालय तथा पुस्तकालयको एक कार्यक्रमका बिच मंगलबार उद्घाटन गरिएको हो ।

नगरपालिका क्षेत्र भित्र निर्माण गरिने ८ वटा मध्ये विराटचोक र सलकपुरको गरि २ वटा नमूना सार्वजनिक शौचालय तथा पुस्तकालयको आज उद्घाटन गरिएको हो ।

उद्घाटन गर्दै मुख्य मन्त्री राईले आधुनिक शौचालय भएकोले आफु शौचालयको उद्घाटन गर्न आएको बताउनुभयो । मुख्य मन्त्री राईले देशका लागि उदाहरणीय काम सुन्दरहरैँचाबाट सुरु भएको बताउनुभयो । यो महाअभियान छिमेकी पालिका र देशका विभिन्न ठाउँहरुमा पुगुपर्ने राईले बताउनुभयो । गफ गरेर, नेतृत्वमा बसेर मात्रै नहुने र नेतृत्वमा हुनेले भिजन दिन सक्नु र काम गर्नु ठुलो कुरा भएको राईले बताउनुभयो । हाल सम्म प्रदेश सरकारको कुनैपनि लगानी नरहेको शौचालय निर्माण अभियानमा अब प्रदेश सरकारले गम्भिरताका साथ हेर्ने राईले प्रतिवद्धता समेत गर्नुभयो ।

यी शौचालयहरु सुन्दरहरैँचा उद्योग वाणिज्य संघले संरक्षण गर्ने भएको छ । संघका पूर्व अध्यक्ष भोलेश्वर दुलालको संयोजकत्वमा शौचालय निर्माण महाअभियान सुरु गरिएको थियो । समितिले सबै शौचालयहरु निर्माण पश्चात संघले रेखदेखको जिम्मा लिने जनाइएको छ ।

सुन्दरहरैंचाको खोर्साने , हरैंचा, बलिया, गछिया र गोठगाँउमा निर्माणधिन अवस्थामा रहेको र मृगौलियामा निर्माणको तयारीमा रहेका छन् । शौचालय निर्माण थालिएको हरैँचा र मृगौलिया बाहेक अन्य छ स्थान पूर्व पश्चिम राजमार्गमा पर्छन् । सार्वजनिक शौचालयमा आधुनिक पुस्तकालय सहितको सुविधाहरु हुने तथा शौचालय एउटै डिजाइनमा निर्माण भएको दुलालले बताउनुभयो । भूइतला व्यावसायिक सटरहरु, व्यवस्थित तथा आधुनिक शौचालय, विश्राम स्थल, स्मोकिङ जोन, दोस्रो तलामा बैठक स्थल, व्यवस्थित पुस्तकालय र तेस्रो तलामा शौचालय रेखदेख तथा सरसफाइ गर्ने कर्मचारीको परिवार बस्ने व्यवस्थापन मिलाइएको छ । शौचालय बाहेकको क्षेत्रमा सिसि क्यामेरा समेतको निगरानी रहेको छ ।

स्थानीयबासीको अग्रसरतामा करिब ९ करोड ६४ लाख लागतमा निर्माणधिन शौचालयका लागि झण्डै ४० प्रतिशत रकम सुन्दरहरैंचा नगरपालिकाको लगानी रहेको सुन्दरहरैँचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले बताउनुभयो । बाँकी ६० प्रतिशत रकम स्थानीयबासीले श्रोत जुटाएको निर्माण समितिले जनाएको छ । दुलालको नेतृत्वमा नगरमा योजना सुनाएपछि नगरसभाले नै निश्चित प्रतिशत रकम सहयोगको निर्णय गरेको ढकालले बताउनुभयो । सोही समयमा ढकालले प्रदेश सरकारले सुन्दरहरैँचाको विकासका लागि बेवास्ता गरेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण समेत गराउनुभयो ।

शौचालयको उक्त भवनमा इन्टरनेटको सुविधा सहितको आधुनिक पुस्तकालय, चमेना गृह, सैलुन, आराम कक्ष समेत रहेका छन् । सार्बजनिक यातायतालाई लक्षित गरी निर्माण गरिएको शौचालयमा गाडी पार्किङका लागि सुबिधा समेत रहेको छ । राजमार्गमा नजिक रहेको शौचालयमा हाल भुई तलामा शौचालय, चमेनागृह, यात्रु आराम कक्ष र सैलुन रहेको छ र पहिलो तलामा अडियो भिडियो सुविधा सहितको आधुनिक पुस्तकालय रहेको छ । पुस्तकालय सहितको शौचालय युरोपेली मापदण्ड अनुसारको सुविधा सम्पन्न रहेको छ । २०७४ माघबाट निर्माण सुरु गरिएको शौचालयहरु मध्ये विराटचोक तथा सलकपुरको गरि २ वटाको निर्माणको कार्य सम्पन्न भएको हो ।

(भिडियो)

सम्बन्धित खवर