अबको नेपाली कांग्रेस युवाहरूको कांग्रेस बन्नेछ : उम्मेदवार तिलक रानाभाट

अबको नेपाली कांग्रेस युवाहरूको कांग्रेस बन्नेछ : उम्मेदवार तिलक रानाभाट

कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले अबको नेपाली कांग्रेस युवा मैत्री र युवाहरूको नेतृत्वमा अघि बढ्ने पार्टीका रूपमा स्थापित हुने बताएका छन्। युवाहरूको उल्लेखनीय सहभागिता र उत्साहले कांग्रेसप्रति बढ्दो आकर्षण स्पष्ट पारेको उनको भनाइ छ।

सोमबार पोखरामा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै रानाभाटले देशभित्रै रोजगारी, उद्यमशीलता र अवसर सिर्जना गर्न ठोस योजना ल्याइने प्रतिबद्धता जनाए। “युवाहरू समाजका पहरेदार हुन्। अब देशभित्रै सम्भावना देख्ने वातावरण बनाउनुपर्छ, त्यसका लागि युवाहरू स्वयं अग्रसर हुनुपर्छ,” उनले भने।

कार्यक्रमका अवसरमा शारीरिक संगठन नेपालका केन्द्रीय उपाध्यक्ष एवं नेकपा जिल्ला सदस्य लुना गुरुङ तथा नेकपा एमाले वडा नम्बर १५ का कार्यसमिति सदस्य अन्तिम गुरुङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रवेश कार्यक्रममा बोल्दै गुरुङले युवाहरूको सशक्त उपस्थितिले कांग्रेसलाई अझ बलियो र संगठित बनाउने विश्वास व्यक्त गरे।

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर १०का सभापति दीपक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव उदिन गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रममा कृष्णबहादुर केसी, भानुभक्त ढकाल, सरस्वती गुरुङ, ओमप्रकाश गुरुङ तथा सुरजजंग राणालगायतका नेताहरूको उपस्थिति रहेको थियो।

उपस्थित वक्ताहरूले देश विकास र लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाली कांग्रेस नै एकमात्र विकल्प भएको दाबी गर्दै आसन्न निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी पार्टीलाई विजयी गराउन अपिल गरेका थिए।

कार्यक्रमले कास्की–१ मा युवाहरूको सक्रियता र कांग्रेसप्रतिको आकर्षण बढ्दो रहेको सन्देश दिएको सहभागीहरूको भनाइ छ।

सम्बन्धित खवर