कास्की क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढ्दै जाँदा तिलक रानाभाट नेतृत्वको घरदैलो अभियानमा उल्लेख्य जनसहभागिता देखिएको छ। विशेषगरी पोखरा महानगरपालिका वडा नं. ३२ मा आयोजित घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा हजारौं युवाको सक्रिय सहभागिताले चुनावी माहोल थप उत्साहित बनेको हो।
घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै रानाभाटले “अबको विकास युवा–मैत्री र युवा नेतृत्वमै केन्द्रित हुनुपर्छ” भन्ने धारणा राखे। उनले युवाको सहभागिता बिना दिगो विकास सम्भव नहुने उल्लेख गर्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म युवालाई अग्रपंक्तिमा ल्याउनुपर्ने आवश्यकता औंल्याए।
सुकुम्बासीदेखि विश्वविद्यालय विकाससम्म प्राथमिकता
कार्यक्रमका क्रममा उनले आफू विजयी भए सुकुम्बासी समस्या व्यवस्थित रूपमा समाधान गर्ने प्रतिबद्धता जनाए। त्यस्तै क्षेत्रीय बसपार्क निर्माण, गण्डकी विश्वविद्यालय को वृहत विकास, रुपाताल को संरक्षण तथा प्रवर्द्धन, कृषिको आधुनिकीकरण, जडीबुटी प्रशोधन केन्द्र स्थापना, गुणस्तरीय शिक्षा–स्वास्थ्य सेवा विस्तारलगायत योजनालाई प्राथमिकतामा राख्ने बताए।
“वडा विकास बिना देशको विकास सम्भव छैन,” उनले भने, “स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आत्मनिर्भर वडा निर्माण हाम्रो लक्ष्य हो।” कृषकलाई केन्द्रमा राखेर आयआर्जन अभिवृद्धि गर्ने, माहुरीपालन तथा जडीबुटी उत्पादन विस्तारमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उनको योजना छ।
टोल–टोलमा संवाद, उत्साहजनक सहभागिता
बिहानदेखि तल्लोगगनगौडा, लामेआहाल, मजुवा, खुदीखोला, मालमुल, राजाको चौतारा, मालेपाटन, ढोडवेसी, सातमुहाने र खोलाको छेउलगायतका बस्तीमा घरदैलो अभियान सञ्चालन गरिएको थियो। पार्टीका विभिन्न भ्रातृ संघ–संगठनका पदाधिकारी, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण केसीलगायत नेताहरूको पनि सहभागिता थियो।
युवाको बाक्लो उपस्थितिले वडा नं. ३२ मा कांग्रेसको चुनावी अभियान थप सशक्त बनेको स्थानीय नेताहरूको भनाइ छ। प्रत्यक्ष संवादमार्फत स्थानीय समस्या, आवश्यकता र समाधानका उपायबारे छलफल गर्दै अभियानलाई जनकेन्द्रित बनाइएको उम्मेदवार रानाभाटले बताए।
कुल मिलाएर, पोखरा–३२ मा देखिएको युवा सहभागिता र घरदैलोको सक्रियताले कास्की–१ को चुनावी प्रतिस्पर्धा झनै रोचक बन्ने संकेत गरेको छ।




