तिलक रानाभाट ले लेखनाथ क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिँदै विकासका प्राथमिक एजेन्डा सार्वजनिक गरेका छन्। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार रानाभाटले शनिबार पोखरा महानगरपालिका वडा नम्बर ३० का विभिन्न बस्तीमा व्यापक घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका हुन्।
अभियानअन्तर्गत गगनगौडाबाट सुरु भएको घरदैलो टोली पावरहाउस, मगर समाज खुदी, सिसुवाचोक, खुदी, गुमाज, मोहरिया र देउरालीखोला लगायतका बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवादमा जुटेको थियो। मतदातासँगको भेटमा रानाभाटले भौतिक पूर्वाधार सुदृढीकरण, आधुनिक कृषि प्रवर्द्धन, पर्यटन पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार तथा शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे।
स्थलगत अवलोकनका क्रममा उनले तालचाेक–बेगनास्थल सडकको प्रगति, सिसुवादेखि खुदीखोलापुरसम्म निर्माण सम्पन्न सडक, पोखरा विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पतालको निर्माण अवस्था, संक्रमण तथा जनरल अस्पताल मोहरिया, शिशुवा अस्पताल र मैदी ताल क्षेत्रका विकास आयोजनाबारे जानकारी लिएको बताए। पूर्वाधार निर्माणसँगै सेवा प्रवाहको गुणस्तर सुधार अपरिहार्य रहेको उल्लेख गर्दै उनले स्थानीय, प्रदेश र संघ सरकारबीचको समन्वय र सहकार्यबाट मात्र दीगो विकास सम्भव हुने धारणा व्यक्त गरे।
“कृषि मैत्री, पर्यटन विकास र डिजिटल सेवा विस्तार” भन्ने मूल नारालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै रानाभाटले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, युवालाई उद्यमशीलतासँग जोड्ने, स्वास्थ्य र शिक्षामा सर्वसुलभ पहुँच विस्तार गर्ने तथा उत्पादन र पर्यटनसँग सम्बन्धित कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरे। विकास योजनाको प्राथमिकता स्थानीय आवश्यकताका आधारमा निर्धारण गरिने उनको भनाइ थियो।
वडा नम्बर ३० का सभापति ध्रुवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुदायका प्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा कृषि उत्पादन वृद्धि, सडक स्तरोन्नति, स्वास्थ्य सेवा सुदृढीकरण, खानेपानी व्यवस्थापन, बाढी नियन्त्रण तथा युवाका लागि रोजगारीका अवसर विस्तारलगायत विषयमा स्थानीयले सुझाव दिएका थिए।
कार्यक्रममा वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीसहित जनप्रतिनिधि तथा स्थानीय नेताहरूले विकासका कार्यक्रमलाई समुदायसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले राजनीतिक दल, जनप्रतिनिधि र नागरिकबीच सहकार्य र समन्वयलाई प्रभावकारी बनाउँदै क्षेत्रीय आवश्यकतालाई केन्द्रमा राखेर योजनाबद्ध कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
यसैबीच, क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेका अनुसार आइतबार बिहानदेखि वडा नम्बर ३२ का विभिन्न स्थानमा घरदैलो तथा स्थानीयसँग संवाद कार्यक्रम सञ्चालन गरिनेछ।




