उम्मेदवारीकै चरणमा रश्मि आचार्यद्वारा सम्पत्ति विवरण सार्वजनिक, पारदर्शिताप्रति प्रतिबद्धता व्यक्त

उम्मेदवारीकै चरणमा रश्मि आचार्यद्वारा सम्पत्ति विवरण सार्वजनिक, पारदर्शिताप्रति प्रतिबद्धता व्यक्त

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा–३३ भरतपोखरीबाटै सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

बिहीबार भरतपोखरीमा सम्पन्न मतदाता भेटघाट कार्यक्रमअन्तर्गत लामगादीमा आयोजित युवा भेलामा उनले उम्मेदवारीकै चरणमा सम्पत्ति विवरण सार्वजनिक गर्नु जनताप्रतिको उत्तरदायित्व भएको बताए। पदमा पुगेपछि मात्र विवरण सार्वजनिक गर्ने परम्परा रहँदै आएको उल्लेख गर्दै उनले आम मतदातालाई सुसूचित गर्ने उद्देश्यले अग्रिम रूपमा विवरण सार्वजनिक गरेको स्पष्ट पारे।

सार्वजनिक विवरणअनुसार आचार्यको आफ्नै नाममा हाल कुनै सम्पत्ति नरहेको जनाइएको छ भने पुख्र्यौली जग्गा–जमिन उनका बुवाको नाममा रहेको छ। आफूले लेखनबाट प्राप्त गरेको आम्दानी तथा श्रीमतीको जागिरबाट हुने आय नै आफ्नो मुख्य कमाइ स्रोत रहेको उनले जानकारी दिए।

कार्यक्रममा बोल्दै आचार्यले पारदर्शिता, सुशासन र जवाफदेहितालाई आफ्नो राजनीतिक मूल आधार रहेको उल्लेख गर्दै इमानदारी र नैतिकतालाई उच्च आदर्शका रूपमा अंगालेको बताए।

“अहिलेसम्म कसैसँग बेइमानी गरेको छैन, भोलि पनि गर्ने छैन। आज मसँग जे–जति छ, तपाईँहरूलाई जानकारी गराएको छु, आगामी दिनमा पनि नियमित रूपमा जानकारी गराउनेछु,” उनले भने।

समृद्धि र विकासलाई ‘अर्जुन दृष्टि’ बनाएर निःस्वार्थ सेवाभावका साथ उम्मेदवारी दिएको बताउँदै आचार्यले आफ्नै जन्मभूमिका बासिन्दालाई साक्षी राखेर सम्पत्ति विवरण सार्वजनिक गर्नु राजनीतिक इमानदारीताको उदाहरण भएको स्थानीयवासीहरूले बताएका छन्।

निर्वाचनको माहोल तातेका बेला उम्मेदवारद्वारा उम्मेदवारीकै चरणमा गरिएको यस्तो कदमलाई पारदर्शिता र जवाफदेहिताप्रति सकारात्मक संकेतका रूपमा हेरिएको छ।

सम्बन्धित खवर