पोखराबाट अन्तर्राष्ट्रिय उडान : संसदको पहिलो माग हुने – उम्मेदवार तिलक रानाभाट

पोखराबाट अन्तर्राष्ट्रिय उडान : संसदको पहिलो माग हुने – उम्मेदवार तिलक रानाभाट

तिलक रानाभाटले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनलाई संसदमा उठाउने आफ्नो पहिलो माग हुने बताएका छन्। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रानाभाटले पोखरा महानगरपालिका वडा नम्बर १४ मा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई “सेतो हात्ती” नभई पोखराको पर्यटन भविष्यको आधारस्तम्भ भएको दाबी गरे।

उनले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरिसकिएको सन्दर्भ उल्लेख गर्दै अब नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन नै समग्र गण्डकी प्रदेशको आर्थिक चलायमानताको प्रमुख आधार हुने बताए। “विमानस्थल बनेर मात्र पुग्दैन, त्यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नीतिगत र कूटनीतिक पहल आवश्यक छ,” रानाभाटले भने, “संसदमा पुगेपछि मेरो पहिलो आवाज पोखराबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्नकै लागि उठ्नेछ।”

घरदैलो कार्यक्रम अन्तर्गत उनले काजीपोखरी, हवेली मार्ग, देउराली टोल, मान्द्रे ढुङ्गा, राधाकृष्ण टोल, मनकामना टोल, कैलास टोल, खसी बजार लगायतका स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। स्थानीयसँगको अन्तरक्रियामा उनले पर्यटन, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र युवालाई लक्षित उद्यमशीलता कार्यक्रम आफ्नो प्राथमिकतामा रहने स्पष्ट पारे।

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर १४का सभापति दिवस कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष बोधबहादुर कार्की, महाधिवेशन प्रतिनिधि संज्ञा पोखरेल, गण्डकी प्रदेश कोषाध्यक्ष सरिता कार्की, महासमिति सदस्य इन्द्रमाया बानिया, महिला नेतृ दिपा थापा, शैलेश बानिया, पूर्व सभापति ललित बानिया, बामदेव मिश्र, उपेन्द्र न्यौपाने, लक्ष्मण भण्डारी, टिकाराम भण्डारी, किरण अधिकारी, प्रदेश प्रतिनिधि दयासागर सुवेदी तथा वडा सदस्य दिलमाया गुरुङ लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले समृद्ध पोखरा निर्माणका लागि स्थिर नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै प्रतिनिधिसभा निर्वाचनमा रुख चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका थिए। क्षेत्रीय सचिव ओमप्रकाश गुरुङका अनुसार वडा नम्बर १४ मा चुनावी अभियानलाई व्यापक जनसमर्थन प्राप्त भइरहेको छ।

पोखराबाट अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन भएमा पर्यटन प्रवर्द्धन, वैदेशिक लगानी वृद्धि, होटल तथा यातायात क्षेत्रको पुनरुत्थान र हजारौं युवालाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर