आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कास्कीले पोखराको अमरसिंह चौर मा फागुन १५ गते शुक्रबार विशाल चुनावी आमसभा गर्ने तयारी पूरा गरेको छ। पार्टीले उक्त कार्यक्रमलाई गण्डकी प्रदेशस्तरको शक्ति प्रदर्शनसँगै आगामी नीति–कार्यक्रम सार्वजनिक गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।
पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै पार्टी नेतृत्वले आमसभामा शीर्ष नेताहरूको उपस्थितिसहित वर्तमान राजनीतिक परिस्थिति, लोकतान्त्रिक मूल्य सुदृढीकरण, सुशासन र रोजगारीमुखी आर्थिक रूपान्तरणका विषयमा स्पष्ट धारणा प्रस्तुत गरिने बताएको छ। कार्यक्रममा पार्टीका महामन्त्री गगन थापा र उपमहामन्त्री विश्वप्रकाश शर्मा ले विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
कास्की जिल्ला कार्यसमितिका महासमिति सदस्य दीपक गुरुङ का अनुसार आमसभामा करिब २० हजार सहभागी जुट्ने अनुमान गरिएको छ। गाउँ–गाउँबाट करिब १०० सवारीमार्फत जनप्रतिनिधि, कार्यकर्ता र समर्थकलाई पोखरा ल्याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए। सभालाई व्यवस्थित बनाउन स्वयंसेवक परिचालन, पार्किङ व्यवस्थापन तथा सुरक्षा समन्वयमा विशेष ध्यान दिइएको पनि उनको भनाइ छ।
आमसभामा गण्डकी प्रदेशका नेपाली कांग्रेसका १८ प्रत्यक्षतर्फका उम्मेदवारहरूको संक्षिप्त परिचय र प्राथमिकता सार्वजनिक गरिने तयारी छ। यसले मतदातालाई उम्मेदवारको योग्यता, योजना र प्रतिबद्धता बुझ्न सहज बनाउने विश्वास पार्टीको छ। साथै युवाशक्ति परिचालन, उद्यमशीलता प्रवर्द्धन, सीप विकास र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित संस्कार–संस्कृति संरक्षण, ग्रामीण कृषि आधुनिकीकरण र उत्पादनमुखी अर्थतन्त्र निर्माणका ठोस कार्ययोजना प्रस्तुत गरिने जनाइएको छ।
कास्की कांग्रेस सभापति किशोरदत्त बराल ले ‘बदलिएको कांग्रेस, बदलिन्छ देश’ मूल नारामार्फत संगठनात्मक रूपान्तरण, विधिसम्मत कार्यशैली, पारदर्शिता र उत्तरदायित्वलाई व्यवहारमा उतार्ने प्रतिबद्धता दोहोर्याए। उनका अनुसार आमसभा नारामात्र नभई परिणाममुखी कार्ययोजना र स्पष्ट रोडम्याप जनतामाझ राख्ने अवसर हुनेछ।
आयोजकले कार्यक्रमलाई शान्तिपूर्ण, व्यवस्थित र समावेशी बनाउन स्थानीय प्रशासनसँग समन्वय भइरहेको जनाएको छ। यातायात व्यवस्थापन, भीड नियन्त्रण, प्राथमिक उपचार सेवा तथा सञ्चार संयन्त्रसमेत तयारी अवस्थामा राखिएको बताइएको छ।
लोकतान्त्रिक मूल्य र विचारको सुदृढीकरणका लागि व्यापक जनसहभागिता सुनिश्चित गर्न पार्टीले नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई आमसभामा सहभागी हुन आह्वान गरेको छ।
यस आमसभाले प्रतिनिधिसभा निर्वाचन अभियानलाई थप तीव्र बनाउँदै गण्डकी प्रदेशभर संगठनात्मक सक्रियता बढाउने र चुनावी एजेन्डालाई स्पष्ट रूपमा मतदातासमक्ष प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।




