पोखरा–३१ मा घरदैलो: बेगनास तालको विकास नै समृद्धिको आधार : तिलक रानाभाट

पोखरा–३१ मा घरदैलो: बेगनास तालको विकास नै समृद्धिको आधार : तिलक रानाभाट

कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार तिलक रानाभाटले पोखरा महानगरपालिका वडा नम्बर ३१ मा व्यापक घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा रानाभाटले बेगनास तालको दीर्घकालीन संरक्षण, विकास र प्रवर्द्धनलाई आफ्नो मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गर्दै ताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने प्रमुख गन्तव्य बनाइने बताए। उनले बेगनास तालको सौन्दर्य संरक्षणसँगै हरियाली, शान्त वातावरण र व्यवस्थित पूर्वाधार विकासका लागि गुरुयोजना निर्माण गरी संसदमा आवाज उठाउने उल्लेख गरे।

“सात तालको बाटिका सहर लेखनाथको सबैभन्दा ठूलो सम्पदा बेगनास ताल हो, यसलाई व्यवस्थित रूपमा विकास गर्न सके पोखरा–३१ मात्र होइन समग्र क्षेत्रको आर्थिक समृद्धि सम्भव छ,” रानाभाटले भने।

कार्यक्रममा कांग्रेस कास्की जिल्ला सदस्य भरतप्रसाद तिवारीले विकासप्रेमी र सक्षम नेतृत्वका रूपमा रानाभाटको विकल्प नभएको बताउँदै स्थानीय तहदेखि संघीय संसदसम्म समन्वयात्मक विकास आवश्यक रहेको धारणा राखे।

सो अवसरमा वडा अध्यक्ष ढकनाथ कँडेल, कांग्रेस नेता ध्रुवनाथ अधिकारी, शान्ति खनाल, जीवनजंग हिमाली, मुरारी कोइराला, देवेन्द्र रानाभाट, युवा नेता भरतप्रसाद तिवारी, ध्रुवराज अधिकारी लगायतले पर्यटन पूर्वाधार, रोजगारी सिर्जना र ताल संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।

वडा सभापति भानुभक्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव श्रीराम कडेल र वीरभद्र कँडेलले गरेका थिए। घरदैलो अभियान अन्तर्गत एकान्तकुना, किम्बेसी, चिसाकुना, सुन्दर बस्ती, लामा स्वारा र तालबेसी चौर क्षेत्रमा मतदाता भेटघाट गरिएको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले जानकारी दिए।

सम्बन्धित खवर