माधव प्रसाद बास्ताेलालाई जिताउन सबै सक्रिय, भरतपाेखरीमा घरदैलो अभियान तीव्र

माधव प्रसाद बास्ताेलालाई जिताउन सबै सक्रिय, भरतपाेखरीमा घरदैलो अभियान तीव्र

नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचार अभियानलाई थप तीव्र बनाएको छ। पार्टीले घरदैलो, टोलसभा तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै उम्मेदवारको एजेण्डा जनतामाझ पुर्‍याउने अभियानलाई संवाद यात्राका रूपमा अघि बढाएको हो।

कांग्रेसका तर्फबाट उम्मेदवार बनेका माधब प्रसाद बास्ताेला (मधु) बिहिबार साविक भरतपाेखरी हाल पाेखरा महानगरपालिका  वडा नं. ३३ अन्तर्गत कालिकास्थान , पुरानाे बस पार्क, ताेरी पेल्ने चाैतारा, तिक्लाङ,लामगादि लगायतका बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्। उनले स्थानीयबासीसँग क्षेत्रका समस्या, आवश्यकता र सम्भावनाबारे छलफल गर्दै विकासका स्पष्ट योजना प्रस्तुत गरेका थिए।

भेटघाट कार्यक्रममा बोल्दै बास्ताेलाले “बदलिएको र सचिएको कांग्रेस” अब देशको नेतृत्व गर्न तयार रहेको दाबी गरे। उनले पार्टीभित्रको पुस्तान्तरण, नीतिगत स्पष्टता र सुशासनको प्रतिबद्धतासहित अघि बढेको कांग्रेसले स्थायित्व र समृद्धिको मार्गचित्र प्रस्तुत गरेको बताए। साथै उनले पार्टीका महामन्त्री गगन थापा को नेतृत्व क्षमताको प्रशंसा गर्दै आगामी दिनमा सक्षम र दूरदर्शी नेतृत्वमार्फत देशलाई नयाँ दिशा दिन सकिने विश्वास व्यक्त गरे।

बास्ताेलाले भरतपाेखरी क्षेत्रको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। “भरतपाेखरीको उत्पादनलाई बजारसँग जोड्ने, युवालाई रोजगारीसँग जोड्ने र स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने योजना हाम्रो प्राथमिकतामा छ,” उनले भने। उनले सबै मतदातासँग रुख चिन्हमा मतदान गरी कांग्रेसलाई विजयी गराउन अपिल पनि गरे।

त्यस्तै कांग्रेसका प्रदेश सभापति दिनेश आचार्यले अबको कांग्रेस युवा र प्रविधिमैत्री हुनुपर्ने धारणा राखे। उनले डिजिटल प्रविधिको प्रयोग, पारदर्शी शासन र समावेशी विकासमार्फत नयाँ पुस्ताको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा क्षेत्र नं: २  सभापति केशर प्रसाद निर्दाेषीले भरतपाेखरीको माटो, उत्पादन र जनताको भावना बुझेका उम्मेदवार माधब प्रसाद बास्तोला नै क्षेत्रको उपयुक्त प्रतिनिधि हुने बताए। उनले पार्टीभित्र एकता कायम गर्दै सबै नेता–कार्यकर्ता चुनावी अभियानमा सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिए।

स्थानीय नेता भाेजराज आचार्य, डिल्लीरमण पाैडेल,कमल गुरूङ (राजु)  लगायतले बाघमाराको विकास र समृद्धिका लागि बास्ताेलाको विकल्प नरहेको दाबी गरे। उनीहरूले क्षेत्रका सबै कार्यकर्ता तथा समर्थकलाई एकजुट भई चुनावी अभियानमा लाग्न आह्वान गरेका थिए।

नेपाली कांग्रेस कास्की–२ले आगामी दिनमा पनि घरदैलो अभियानलाई अझ सशक्त बनाउँदै प्रत्येक टोल–बस्तीमा पुग्ने जनाएको छ। पार्टीले जनतासँग प्रत्यक्ष संवादमार्फत सुझाव संकलन गर्दै त्यसलाई आफ्नो प्रतिबद्धतामा समेट्ने रणनीति अघि सारेको बताइएको छ।

सम्बन्धित खवर