नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रश्मि आचार्यले जनतामुखी नेतृत्वको अभ्यासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। “जनताले नेता खोज्ने होइन, नेताले जनता खोज्ने परिपाटी विकास गर्छु,” भन्दै उनले आफू सधैं जनताको सेवकका रूपमा राजनीति गर्दै आएको बताए।
बुधबार पोखरा महानगरपालिका वडा नम्बर १५ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै आचार्यले साना–साना जनताका काम प्रभावकारी नीति र कानुनको अभावमा अलमलमा पर्ने गरेको उल्लेख गरे। भएका योजनाहरू समेत गुणस्तरीय रूपमा कार्यान्वयन हुन नसकेको जनगुनासोलाई सम्बोधन गर्न स्पष्ट नीति, कडाइका साथ कार्यान्वयन र उत्तरदायी नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।
निर्वाचनमा विजयी भए नियमित कार्यतालिका बनाएर स्थानीयसँग निरन्तर संवाद गर्ने, समस्या पहिचान र समाधानमा प्रत्यक्ष संलग्न रहने तथा स्थानीय आवश्यकताअनुसार विकास निर्माणमा अगुवाइ र सहकार्य गर्ने उनले प्रतिबद्धता जनाए। “मेरो प्रतिबद्धता पत्र हजुरहरूकै सल्लाहबाट तयार भएको हो, अब त्यसलाई सृजनात्मक ढंगले कार्यान्वयन गर्छु,” उनले भने।
आचार्यले कास्की–२ अन्तर्गतका ११ वटै वडालाई सन्तुलित विकासको अवधारणाबाट अघि बढाउने योजना प्रस्तुत गर्दै बृहत् पोखरालाई स्थानीय तहसँगको सहकार्यमा व्यवस्थित पर्यटनको सहरका रूपमा विकास गर्ने दाबी गरे।
कार्यक्रममा एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी ‘प्यासी’, केन्द्रीय सदस्यहरू प्रभा कोइराला र मीना कुमारी गुरुङ, पूर्व केन्द्रीय सदस्य भीम कार्की, अनेमसंघकी केन्द्रीय सल्लाहकार सृजना शर्मा, एमाले कास्कीका कार्यवाहक अध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य लगायत प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता सहभागी थिए। कार्यक्रमको जानकारी एमाले पोखरा–१५ का अध्यक्ष माधवप्रसाद गौतमले दिएका हुन्।




