उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान तीव्र

उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान तीव्र

तिलक रानाभाटले आफ्नो घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ। नेपाली कांग्रेसका तर्फबाट कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार रानाभाटले पोखरा महानगरपालिका वडा नम्बर २८ का विभिन्न स्थानमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको हो।

घरदैलो कार्यक्रम अन्तर्गत काफलघारी, माझठाना, रैकर र स्याङखुदी लगायतका टोलहरूमा पुगेर उहाँले मतदातासँग प्रत्यक्ष संवाद गर्नुभयो। सो अवसरमा बोल्दै रानाभाटले आगामी सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्ने दाबी गर्दै नेतृत्व गगन थापाले गर्ने बताउनुभयो। उहाँले समृद्ध नेपाल निर्माणको परिकल्पनासहित कांग्रेस अघि बढेको उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य कृष्णबहादुर केसीले सचिएको र सुध्रिएको कांग्रेस नै विकासको अन्तिम विकल्प भएको धारणा राख्नुभयो। त्यसैगरी पोखरा महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडाको विकाससँगै देशको समग्र विकासका लागि कांग्रेस नेतृत्व आवश्यक रहेको बताउनुभयो।

कांग्रेसका महासमिति सदस्य विकास लामा गुरुङले कास्की क्षेत्र नम्बर १ को समग्र विकासका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

नेपाली कांग्रेस पोखरा–२८ का सभापति विश्वरमण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की जिल्ला उपसभापति रामबाबु भण्डारी, नेता वीरबहादुर बुढाथोकी, विद्यार्थी नेता निरोज लामिछाने, स्थानीय नेताहरू सागर अधिकारी र टिकाराम लामिछाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव जीवन तिवारी र राजेश भण्डारीले गर्नुभएको थियो।

सम्बन्धित खवर