आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) का कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा महानगरपालिका–३३, भरतपोखरीबाट औपचारिक रूपमा चुनावी अभियान सुरु गरेका छन्।
भरतपोखरीमा आयोजित विशेष कार्यक्रममा स्थानीय बासिन्दाबाट शुभकामना तथा समर्थन ग्रहण गर्दै आचार्यले अभियान प्रारम्भ गरेका हुन्। कार्यक्रममा बोल्दै उनले जन्मथलोको आशिर्वादले आफ्नो विजय यात्रा सुनिश्चित भइसकेको उल्लेख गर्दै विगतका अधुरा कामलाई पूरा गर्ने र नयाँ योजनासहित क्षेत्रको समग्र विकासमा समर्पित हुने प्रतिबद्धता जनाए।
“हिजो यस क्षेत्रमा हाम्रा जनप्रतिनिधिले विकास र नीति निर्माणमा खेलेको गौरवशाली भूमिकालाई अझ उचो बनाउनेछु,” उनले भने, “मतदाता र कास्कीबासीको शिर निहुरिने कुनै काम मबाट हुने छैन।” उनले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमार्फत प्रभावकारी नीति निर्माण तथा कार्यान्वयनबाट मात्रै दिगो र द्रुत विकास सम्भव हुने धारणा राखे।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य तथा एमालेका पूर्व केन्द्रीय सदस्य भीम कार्कीले रश्मि आचार्यको उम्मेदवारी सम्पूर्ण भरतपोखरीवासीको साझा उम्मेदवारी भएको बताए। उनले अत्यधिक बहुमतसहित विजय सुनिश्चित गर्न भरतपोखरी उदाहरणीय बन्ने विश्वास व्यक्त गरे। “भरतपोखरीको धर्ती पुत्र, जुझारू र बौद्धिक युवा उम्मेदवार रश्मिलाई सूर्यझैँ चम्काउनेछौँ,” उनले भने, “जनताको साथ नै विजयका लागि पर्याप्त आधार हो।”
सो अवसरमा अनेमसंघ केन्द्रीय सल्लाहकार सृजना शर्मा, एमाले कास्कीका कार्यबाहक अध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवन प्रसाद आचार्य, प्रदेश कमिटी सदस्य केशव आचार्य, तेजनारायण अधिकारी, कास्की–२ का संयोजक झपट रानाभाटलगायत स्थानीय नेता, कार्यकर्ता, युवा तथा मतदाताको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा मतदातासँग साक्षात्कारमा व्यस्त उम्मेदवार आचार्यलाई स्थानीयले पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरणलगायत भावी योजनाबारे सुझाव दिएका थिए। एमाले पोखरा–३३ का अध्यक्ष टुकराज भण्डारीका अनुसार भरतपोखरीबाट सुरु भएको यो अभियान अब क्षेत्रका अन्य वडामा तीव्र रूपमा अघि बढाइनेछ।




