नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचार अभियानलाई थप तीव्र बनाएको छ। पार्टीले घरदैलो, टोलसभा तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै उम्मेदवारको एजेण्डा जनतामाझ पुर्याउने अभियानलाई संवाद यात्राका रूपमा अघि बढाएको हो।
कांग्रेसका तर्फबाट उम्मेदवार बनेका तिलक रानाभाट मङ्गलबार मादी गाउँपालिका वडा नं. ११ र १२ अन्तर्गत उपल्लो सारले, तोबी, सयमर्याङ, वार्चोक, खिमाजे, बरालडाँडा लगायतका बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।
उनले स्थानीयबासीसँग क्षेत्रका समस्या, आवश्यकता र सम्भावनाबारे छलफल गर्दै विकासका स्पष्ट योजना प्रस्तुत गरेका थिए।
भेटघाट कार्यक्रममा बोल्दै रानाभाटले “बदलिएको र सचिएको कांग्रेस” अब देशको नेतृत्व गर्न तयार रहेको दाबी गरे। उनले पार्टीभित्रको पुस्तान्तरण, नीतिगत स्पष्टता र सुशासनको प्रतिबद्धतासहित अघि बढेको कांग्रेसले स्थायित्व र समृद्धिको मार्गचित्र प्रस्तुत गरेको बताए। साथै उनले पार्टीका महामन्त्री गगन थापा को नेतृत्व क्षमताको प्रशंसा गर्दै आगामी दिनमा सक्षम र दूरदर्शी नेतृत्वमार्फत देशलाई नयाँ दिशा दिन सकिने विश्वास व्यक्त गरे।
रानाभाटले मादी क्षेत्रको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। “मादीको उत्पादनलाई बजारसँग जोड्ने, युवालाई रोजगारीसँग जोड्ने र स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने योजना हाम्रो प्राथमिकतामा छ,” उनले भने। उनले सबै मतदातासँग रुख चिन्हमा मतदान गरी कांग्रेसलाई विजयी गराउन अपिल पनि गरे।
कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा ले मादीको माटो, उत्पादन र जनताको भावना बुझेका उम्मेदवार तिलक रानाभाट नै क्षेत्रको उपयुक्त प्रतिनिधि हुने बताए। उनले पार्टीभित्र एकता कायम गर्दै सबै नेता–कार्यकर्ता चुनावी अभियानमा सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिए।
त्यस्तै कांग्रेसका पूर्व सहमहामन्त्री जीवन परियार ले अबको कांग्रेस युवा र प्रविधिमैत्री हुनुपर्ने धारणा राखे। उनले डिजिटल प्रविधिको प्रयोग, पारदर्शी शासन र समावेशी विकासमार्फत नयाँ पुस्ताको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याए।
स्थानीय नेता प्रेम तामाङ, कृष्णचन्द्र बराल, दिपेन्द्र ढकाल लगायतले मादीको विकास र समृद्धिका लागि रानाभाटको विकल्प नरहेको दाबी गरे। उनीहरूले क्षेत्रका सबै कार्यकर्ता तथा समर्थकलाई एकजुट भई चुनावी अभियानमा लाग्न आह्वान गरेका थिए।
नेपाली कांग्रेस कास्की–१ ले आगामी दिनमा पनि घरदैलो अभियानलाई अझ सशक्त बनाउँदै प्रत्येक टोल–बस्तीमा पुग्ने जनाएको छ। पार्टीले जनतासँग प्रत्यक्ष संवादमार्फत सुझाव संकलन गर्दै त्यसलाई आफ्नो प्रतिबद्धतामा समेट्ने रणनीति अघि सारेको बताइएको छ।




