भरतपोखरी बिकास मन्च को आयोजनामा ‘जनतासँग उम्मेदवार साक्षात्कार कार्यक्रम’ आयोजना हुने भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम फागुन ६ गते बुधबार पोखरा–३३ भरतपोखरीमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
“मातृभूमि प्रतिको उच्च सम्मान, समृद्धिको संकल्पका लागि असल नेतृत्व छनौटमा साझा अभियान” भन्ने उद्घोषसहित स्थापित सामाजिक संस्था भरतपोखरी विकास मञ्चले कास्की क्षेत्र नं. २ का उम्मेदवारहरूलाई मतदातासमक्ष आफ्ना एजेन्डा र प्रतिबद्धता प्रस्तुत गर्ने अवसर प्रदान गर्न कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रम दुई सत्रमा सञ्चालन हुनेछ। पहिलो सत्रमा उम्मेदवारहरूले आफ्नो परिचय सहित चुनावी एजेन्डा प्रस्तुत गर्न प्रति उम्मेदवार १० मिनेट समय पाउनेछन्। दोस्रो सत्रमा जनता र उम्मेदवारबीच अन्तरक्रिया कार्यक्रम हुनेछ, जसमा मतदाताले आफ्ना राय, सुझाव, माग तथा जिज्ञासा प्रत्यक्ष रूपमा राख्न सक्नेछन् र उम्मेदवारहरूले त्यसको जवाफ दिनुपर्नेछ।
उम्मेदवारहरूको प्रस्तुति क्रम गोलाप्रथाबाट निर्धारण गरिनेछ। कार्यक्रम सुरु हुँदा हुने गोलाप्रथामा अनुपस्थित उम्मेदवारले अन्तिममा पालो पाउने व्यवस्था गरिएको छ। साथै, कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसक्नेहरूले संस्थाको इमेल ठेगानामार्फत लक्षित उम्मेदवारको नाम उल्लेख गरी प्रश्न पठाउन सक्नेछन्।
कार्यक्रममा निर्वाचन आयोगले तोकेको आचारसंहिता पूर्ण रूपमा लागू हुने आयोजकले जनाएको छ। कसैप्रति व्यक्तिगत लाञ्छना वा घृणायुक्त अभिव्यक्ति दिन नपाइने र त्यस्तो पाइएमा आयोजकले तत्काल रोक लगाउने तथा प्रस्तुति रद्द गर्ने चेतावनी पनि दिइएको छ।
कार्यक्रम स्थानीय टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ। आयोजकले स्थानीय बासिन्दा तथा विश्वभर रहेका भरतपोखरीबासीलाई कार्यक्रममा सहभागी भई सहयोग गर्न आग्रह गरेको छ।





