तिलक रानाभाटको बजारकेन्द्रित चुनावी अभियान सुरु

तिलक रानाभाटको बजारकेन्द्रित चुनावी अभियान सुरु

नेपाली कांग्रेसका कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले आफ्नो चुनावी प्रचारप्रसारलाई बजारकेन्द्रित बनाउँदै पोखरा महानगरपालिकाका वडाहरूमा अभियान सुरु गर्नुभएको छ।

मादी गाउँपालिका र रुपा गाउँपालिकामा पहिलो चरणको भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि रानाभाटले सहरी क्षेत्रमा केन्द्रित प्रचार अभियानलाई तीव्रता दिनुभएको हो। यसै क्रममा सोमबार उहाँले पोखरा महानगरपालिका वडा नम्बर २६ का विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा छलफल गर्नुभयो।

भेटघाटका क्रममा उम्मेदवार रानाभाटले वडा नम्बर २६ मा भइरहेका विकास निर्माणका कामहरूको अवलोकन गर्दै आगामी दिनमा थप पूर्वाधार विकास, रोजगारी सिर्जना तथा जनमुखी योजनाहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनताको आवश्यकता र सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।

कार्यक्रममा वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले हालसम्म सम्पन्न विकास निर्माणका कामहरूलाई निरन्तरता दिन र थप प्रभावकारी बनाउन तिलक रानाभाटको विजय आवश्यक रहेको धारणा राख्नुभयो।

नेपाली कांग्रेस पोखरा–२६ का सभापति शिवबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव ईश्वरी अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको क्षेत्रीय सचिव ओम प्रकाश गुरुङले जानकारी दिनुभयो।

सम्बन्धित खवर