जनताको माझमा उपस्थिति बढाउँदै रानाभाट, पोखरा–३१ मा महिला भेला सम्पन्न

जनताको माझमा उपस्थिति बढाउँदै रानाभाट, पोखरा–३१ मा महिला भेला सम्पन्न

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाट यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै जनताको माझमा सक्रिय रूपमा उपस्थित भइरहनुभएको छ। मादी गाउँपालिका र रूपा गाउँपालिकाका सम्पूर्ण वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट सम्पन्न गरिसक्नुभएका रानाभाटले अहिले लेखनाथ क्षेत्रको अभियानलाई थप तीव्रता दिनुभएको छ।

घरदैलो कार्यक्रमका क्रममा मतदाताबाट उल्लेखनीय सहभागिता र सकारात्मक सुझाव प्राप्त भएको उहाँले बताउनुभयो। “म यो गर्छु र त्यो गर्छु भनेर वाचा मात्रै गर्नेभन्दा पनि जनताको वास्तविक आवश्यकता र माग के हो भन्ने बुझेर अघि बढ्न चाहन्छु,” उहाँले भन्नुभयो, “त्यसैले म जनताको घरदैलोमै पुगेर सुझाव संकलन गर्दै अघि बढिरहेको छु।”

उहाँका अनुसार अभियानका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासका विषयमा स्थानीयले आफ्ना अपेक्षा राखेका छन्। ती मागलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

यसैबीच, विभिन्न वडाहरूमा पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिइएको छ। सोही क्रममा पोखरा–३१ मा नेपाल महिला संघको आयोजनामा महिला भेला सम्पन्न भएको छ। आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा महिला सशक्तीकरण, संगठन विस्तार तथा निर्वाचनमा सक्रिय सहभागिताबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरु बराल, महाधिवेशन प्रतिनिधि शान्ति खनाल, गण्डकी प्रदेश सदस्य धुर्बनाथ अधिकारी, देवेन्द्र रानाभाट, प्रदेश कोषाध्यक्ष मित्रलाल सापकोटा, अगुवा नेता लोकनाथ पाण्डे, इकाईका कार्यवाहक सभापति भानुभक्त पौडेल तथा सचिव वीरभद्र कँडेललगायत नेताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

महिला नेतृ सुधा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गा अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन शक्तिश्री तिवारीले गर्नुभएको थियो।

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार रानाभाटसहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू जनताको घरदैलोमा पुगेर संगठन सुदृढीकरण र मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिइरहेका छन्।

सम्बन्धित खवर