फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं. ३३ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ।
कार्यालयको शुभारम्भ पहिलो पटक मतदानमा सहभागी हुन लागेका जेन–जी (Gen Z) युवाहरूले सामूहिक रूपमा गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै उनीहरूले कास्की क्षेत्र नं. २ बाट एमालेकी उम्मेदवार रश्मि आचार्यको जन्मथलो पोखरा–३३ भरतपोखरी भएकाले उनले अहिलेसम्म कुनै विश्वासघात नगरेको उल्लेख गरे।

युवाहरूले आचार्यलाई राष्ट्रको नेतृत्व गर्ने हैसियतका उम्मेदवारका रूपमा अत्यधिक मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले रश्मि आचार्यको उम्मेदवारी साझा र गौरव गर्न लायक रहेको प्रतिक्रिया दिएका थिए।
सो अवसरमा उम्मेदवार रश्मि आचार्यले जेन–जी आन्दोलनको मूल मर्म सुशासन र भ्रष्टाचारको निराकरण रहेको उल्लेख गर्दै सोही एजेन्डा आफ्नो पनि प्रमुख प्राथमिकता भएको बताइन्। देशको समृद्धिका लागि सुशासन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले हुर्किएको गृहस्थानका बासिन्दाबाट पाएको अपार माया, सद्भावना र समर्थनले आफू उत्साहित बनेको बताइन्। “तपाईंहरूकै आवश्यकता, चाहना र मागअनुसार उम्मेदवारी दिएको हुँ।

अहिलेसम्म कुनै दाग लाग्ने काम गरेको छैन र भविष्यमा पनि गर्ने छैन,” उनले भने, “सबैको शिर उच्च बनाउने काममा म प्रतिबद्ध छु।”
एमालेका पूर्व केन्द्रीय सदस्य भीम कार्कीले पटक–पटक नेतृत्व उत्पादन गरेको पोखरा–३३ लाई राष्ट्रिय भूमिकामा नेतृत्व दिने ऐतिहासिक अवसर आएको उल्लेख गरे। उनले यो निर्वाचन एमालेबाट रश्मि आचार्यको मात्र नभई राष्ट्रकै उम्मेदवारी भएको दाबी गरे।
कार्यक्रममा एमाले कास्की जिल्ला कमिटी लेखा आयोग अध्यक्ष बैकुण्ठनाथ आचार्य, गण्डकी प्रदेश कमिटी पूर्व सचिवालय सदस्य केशवप्रसाद आचार्य, प्रदेश कमिटी सचिवालय सदस्य तेजनारायण अधिकारी, जिल्ला कमिटी सदस्य वसन्तराज आचार्य, पूर्व वडाध्यक्ष शिवप्रसाद आचार्य, पोखरा महानगर कमिटीका जीवनप्रसाद आचार्यलगायतले एमाले नेतृत्वले मात्र नवयुवाको माग सम्बोधन गर्न सक्ने धारणा व्यक्त गरे।
वडा कमिटी अध्यक्ष टुकराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगर कमिटी सदस्य दीपक लामिछानेले सञ्चालन गरेका थिए।




