नेकपाका उम्मेदवार राजकाजी गुरुङद्वारा सहिदको शालिकमा माल्यार्पण, भेटघाट अभियानको शुभारम्भ

नेकपाका उम्मेदवार राजकाजी गुरुङद्वारा सहिदको शालिकमा माल्यार्पण, भेटघाट अभियानको शुभारम्भ

 

कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सहिदहरूको शालिकमा माल्यार्पण गर्दै चुनावी भेटघाट अभियानको औपचारिक शुभारम्भ गरेको छ।

प्रत्यक्षतर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले आइतबार रुपा गाउँपालिका–३ टाकेञ्जास्थित सहिद कमल भुजेल, सुमित्रा घिमिरे, तीर्थ भुजेल र विजय बास्तोलाको शालिकमा माल्यार्पण गरी सम्मान व्यक्त गर्दै भेटघाट कार्यक्रम सुरु गरेको हो।

सो अवसरमा आयोजित भेटघाट कार्यक्रममा सहभागी स्थानीयवासीहरूले यस पटक नेकपालाई नै विजयी गराउने प्रतिबद्धता व्यक्त गरे। विगतमा अन्य दलका उम्मेदवारलाई जिताउँदा अपेक्षित विकास र सुशासन नपाएको भन्दै नेकपाले मात्रै जनताको भावना अनुसार काम गरेको उनीहरूको भनाइ थियो। तर, जनयुद्धका एजेण्डा र सहिदको सपना नछाड्नुपर्ने सुझाव पनि स्थानीयले दिए।
कार्यक्रममा सहभागी एक स्थानीय आमाले भावुक हुँदै भनिन्,
“नेकपाले जित्दा जस्तो विकास र सुशासन अरूले गर्न सकेनन्। त्यसैले यस पटक पनि नेकपालाई जिताउँछौं। तर सहिदको सपना र वेपत्ताको योगदान कहिल्यै नबिर्सिनुहोस्।”

त्यसैगरी अर्की स्थानीय आमा चिजा भुजेलले कांग्रेस र एमालेले जेन–जी आन्दोलनको नाममा भ्रम फैलाइरहेको र केही स्वतन्त्र नेतृत्वले आगजनीजस्ता गतिविधिलाई प्रोत्साहन गरेको आरोप लगाइन्। “यस्तो प्रवृत्तिको हातमा सत्ता गयो भने देशले दुःख पाउँछ, त्यसैले सचेत भएर नेकपालाई जिताउँछौं,” उनले भनिन्।
सो अवसरमा उम्मेदवार राजकाजी गुरुङले पार्टी र आफू जनयुद्धका एजेण्डामा दृढ रहेको स्पष्ट पारे।

“सहिदको सपना, वेपत्ता र घाइतेको योगदान हामीले कहिल्यै बिर्सेका छैनौं र बिर्सने पनि छैनौं,” उनले भने, “त्यो सपना पूरा गर्ने बाटो समाजवाद मात्रै हो, र हामी त्यसैका लागि संघर्षरत छौं।”
नेकपाले कास्की क्षेत्र नम्बर १ मा सहिदको सम्मान र जनताको भावना केन्द्रमा राख्दै चुनावी अभियानलाई तीव्र बनाउने जनाएको छ।

सम्बन्धित खवर