विद्यालय तहबाटै सुरु भयो ‘दीक्षान्त’को अभ्यास

विद्यालय तहबाटै सुरु भयो ‘दीक्षान्त’को अभ्यास

वाल्मीकिद्वारा १ सय २५ जना विद्यार्थी दीक्षित
पथरी / ‘अध्ययन कार्यको समाप्ति’ भन्ने मूल अर्थ वहन गरेको ‘दीक्षान्त’ कार्यक्रम खास गरी विश्वविद्यालयीय शिक्षामा प्रचलित छ । कुनै विश्वविद्यालयबाट हुने निश्चित अध्ययन अवधिको समाप्तिपछि समारोहकै रूपमा आयोजना गरिने दीक्षान्त कार्यक्रममार्फत विद्यार्थीलाई दीक्षित गर्ने सनातनी प्रचलन छ । तर, मोरङको पथरीशनिश्चरे–२ मा रहेको वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले भने आधारभूत तहमै दीक्षान्त कार्यक्रमको आयोजना गरी नयाँ उदाहरण पेस गरेको पाइन्छ ।


आज विद्यालयले स्थानीय सिन भिलेज पार्टी प्यालेसमा २०८१ सालको आधारभूत तह (कक्षा ८) मा सफलता प्राप्त गर्ने १ सय २५ जना विद्यार्थीलाई विशेष कार्यक्रमको आयोजना गर्दै दीक्षित गरेको विद्यालय स्रोतले जानकारी दिएको छ । पहिलो दीक्षान्त समारोहको रूपमा आयोजित उक्त कार्यक्रममा कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षामा जिपिए ४ ल्याउने ३ जना विद्यार्थीलाई गोल्ड मेडलद्वारा दीक्षित गरिएको हो । उक्त विद्यालयबाट ४ जिपिए ल्याएने अभिप्सा विष्ट, राशी कार्की र प्रतिष्ठा खत्रीलाई गोल्ड मेडल प्रदान गरिएको कार्यक्रम सञ्चालक एवम् प्रिन्सिपल चन्द्रप्रसाद दुलालले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् निर्देशक नोवलकिशोर खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सांस्कृतिक एवम् साङ्गीतिक खुराक समेत प्रस्तुत गरिएको थियो ।

पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा तहगत परीक्षामा सफलता प्राप्त गर्ने सबै विद्यार्थीलाई विद्यालयले क्रमशः दीक्षित गर्ने रणनीति लिइएको सन्दर्भसमेत जानकारी गराइयो । गाउनमा सजिएर अभिभावकसहित दीक्षित हुँदै गरेका विद्यार्थीको उल्लासमय दृश्यले सफलताको लक्ष्यमा पुग्न एउटा गतिलो आधार खडा गरेको सहभागीले प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समय धेरैजसो विद्यालयमा आम निर्वाचनको व्यावहारिक अभ्यासस्वरूप क्याप्टेन तथा सदन प्याप्टेनलाई निर्वाचनमार्फन चयन गर्ने परिपाटी मौलाइरहेको अवस्थामा यस विद्यालय त झन् दीक्षान्त समारोहकै नवीन अभ्यास सुरु गरेको हो ।   (केशव निरौला)

सम्बन्धित खवर