पथरीशनिश्चरेको शैक्षिक उन्नयन

पथरीशनिश्चरेको शैक्षिक उन्नयन

– केशव निरौला

पूर्वोत्तर मोरङमा रहेको पथरीशनिश्चरे नगरपालिका शैक्षिक उन्नयनको आधारबाट भिन्न पहिचान बनाउन सफल बन्दै गएको छ । विद्यालय तहमा मोफसलमै पहिलो पटक सबैभन्दा धेरै विषयको पठनपाठन गराइरहेको यस नगरभित्रको पञ्चायत माविले देशमै नयाँ पहिचान बनाएको पाइन्छ । त्यसै गरी नगरको एकमात्र उच्च शिक्षा प्रदायक सामुदायिक संस्था पथरी बहुुमुखी क्याम्पसले गरेको शैक्षिक उन्नयनसँगै संस्थागत विद्यालयको गुणस्तरीय शिक्षा प्रवाहका कारण पनि यो नगर ‘शैक्षिक हब’ बन्दै गएको छ ।

यहाँको उच्च शिक्षा प्रदायक संस्था पथरी बहुमुखी क्याम्पस र कक्षा ११/१२ मा नगरमै धेरै विषय पठनपाठन गर्ने पञ्चायत माविले शैक्षिक आकर्षणमा ‘मियो संस्था’को काम गरेका छन् । विज्ञान, सिभिल इन्जिनियरिङ, कानुन, ललितकला, व्यवस्थापन, मानविकी र शिक्षा समूहमा सबैजसो विषय पठनपाठनको व्यवस्था मिलाएको पञ्चायत मावि कक्षा ११ र १२ तर्फ मोफसलमै सबैभन्दा बढी विषय पठनपाठन गराउने विद्यालयमा पर्दछ । सामुदायिक विद्यालयमा विज्ञानतर्फ देशमै उत्कृष्ट नतिजा दिने पगरी पनि पञ्चायत माविले नै गुथेको छ । यस्तै संस्थागत विद्यालयहरूमा एभरेस्ट, रेडस्टार, वाल्मीकि, अन्नपूर्ण, मोरङ मेरिगोल्ड, न्यु पेगोडा, अरुणोदय, भूपू सैनिकलगायतका विद्यालयले अन्य पालिकाबाट पनि विद्यार्थी आकर्षण गरिरहेका छन् । त्यसो त गुठी संस्थाबाट सञ्चालित गैरनाफामूलक ठानिने भूपू सैनिक अङ्ग्रेजी स्कुल र धार्मिक विद्यालयको रूपमा रहेको विश्वनाथ संस्कृत विद्यालयले पनि नगरको भिन्न पहिचान दिलाउन सफल बन्दै गएका छन् ।

धमाधम कक्षा ११ र १२ थप हुँदै
यस नगरभित्र रहेका धेरैजसो कक्षा १० सम्ममात्रै पढाइ हुँदै गरेका विद्यालयले क्रमशः कक्षा ११,१२ सञ्चालनको स्वीकृति लिएर कक्षा सञ्चालन सुरु गरेका छन् । यसक्रममा पछिल्लो पटक शैक्षिक वर्ष २०८० बाट भूपू सैनिक अङ्ग्रेजी स्कुलले पनि कक्षा ११ सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । नगर शिक्षा समितिको मिति २०७९/१२/३० को निर्णयानुसार उक्त विद्यालयलाई कक्षा ११ थप गरी पठनपाठन गर्न अनुमति दिइएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव शालिग्राम काफ्लेले जानकारी दिनुभयो । विद्यालयका प्रिन्सिपल उपेन्द्र कँडेलका अनुसार यही शैक्षिक सत्रबाट विद्यालयले कक्षा ११ मा ऐच्छिक विषयको रूपमा लेखाशास्त्र, ग्रामीण विकास, व्यावसायिक अध्ययन, अर्थशास्त्र, बजारशास्त्र, व्यावसायिक गणित र कम्प्युटर विज्ञान छनोट गर्न पाउने गरी पढाइ सुरु गर्दैछ । यसअघि गत वर्षमात्रै न्यु पेगोडा आवासीय मावि र अरुणोदय आवासीय माविले एकै साथ कक्षा ११ थप गरी पठनपाठन सुरु गरेका हुन् भने त्यसअघिको वर्षमा मोरङ मेरिगोल्ड अङ्ग्रेजी हाई स्कुलले कक्षा ११ को पढाइ सुरु गरेको पाइन्छ । त्यसै गरी नगरभित्र रहेका प्याराडाइज इङ्लिस स्कुल, बाल जागरण विद्या मन्दिर, चन्द्रकिरातेश्वर मावि, बालकल्याण मावि र सुनाखरी माविले पनि कक्षा ११ र १२ सञ्चालनका लागि पहलकदम अघि बढाइरहेको बुझिएको छ । यस नगरमा अन्य पालिकाबाट आउने विद्यार्थीको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि पनि कक्षा ११, १२ थप गर्ने जमर्कोमा यहाँका विद्यालय लागिपरेको बुझाइ छ– शैक्षिक एवम् सामाजिक व्यक्तित्व थिरप्रसाद आचार्यको । नयाँ शैक्षिक संरचनामा माध्यमिक तह कक्षा ९ देखि १२ भएसँगै कक्षा १० सम्ममात्रै पढाइ गर्दै आएका विद्यालयहरूले कक्षा ११ र १२ सञ्चालनमा बढी तदारूकता देखाएका हुन् ।

मोफसलमै धेरै विषय छान्न पाइने

पथरीशनिश्चरे वडा नं. १ मा रहेको पञ्चायत माविले कक्षा ११ र १२ पढ्न चाहने विद्यार्थीका लागि बढीभन्दा बढी विषय छनोटको सुविधा मिलाएको छ । काठमाडौँ उपत्यकाबाहिर (मोफसल) यस विद्यालयमै कक्षा ११ र १२ मा अत्यधिक ऐच्छिक विषय छनोटको सुविधा पाइन्छ । मूल विषय समूहको रूपमा विज्ञान, सिभिल इन्जिनियरिङ, कानुन, ललितकला, व्यवस्थापन, मानविकी र शिक्षाका विभिन्न ऐच्छिक विषयहरू पढाइ हुन्छन् । काठमाडौँबाहिर सामुदायिक विद्यालयमा ललितकला (फाइन आटर््स) पढाइ हुने एउटै मात्रै विद्यालय पञ्चायत मावि मानिन्छ भने विराटनगरबाहिर पहिलो पटक यही विद्यालयले आमसञ्चार र पत्रकारिता विषय पठनपाठन गर्दै आएको छ । विद्यार्थीको चाहना र रुचिअनुसार पछिल्लो समयमा प्रायोगिक विषयको रूपमा आमसञ्चार तथा पत्रकारिता विषय पढाइ सुरु गरेको जानकारी दिँदै नेपाल शिक्षक महासङ्घका नगर अध्यक्ष एवम् प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले भन्नुभयो– ‘विद्यार्थीको मागलाई ध्यानमा राखेर विद्यालयले प्रत्येक वर्ष नयाँनयाँ विषय थप गर्दै छ । यसबाट पथरी नगरलाई नै शैक्षिक आकर्षणको केन्द्र बनाउन ठुलो मद्दत पुग्दै छ ।’ यता, नगरमै पहिलो पटक स्थानीय एभरेस्ट अङ्ग्रेजी आवासीय माविले पनि कक्षा ११ र १२ मा होटेल मेनेजमेन्टको पढाइ सुरु गरेपछि विद्यार्थीको आकर्षण बढिरहेको पाइन्छ । ३ बर्से डिप्लोमामा बालीविज्ञानको कक्षा सुरु गरेको भागीरथ माविले पनि प्राविधिक एवम् व्यावसायिक शिक्षामा विशेष जोड दिइरहेको छ । सिटिईभिटीअन्तर्गत सञ्चालित बालीविज्ञान कार्यक्रम नगरकै पहिलो र एकमात्र कृषिसम्बद्ध पढाइ हुने कार्यक्रम हो । प्रधानाध्यापक जानुका चेम्जोङका अनुसार यस विद्यालयले नगरपालिकाको सहयोगमा घुम्ती कोष खडा गरी नगरपालिकाभित्रका गरिब तथा जेहेनदार विद्यार्थीलाई सहुलियत ऋण उपलब्ध गराई प्राविधिक धारतर्फ यही कार्यक्रममा विद्यार्थीलाई आकर्षण गर्ने प्रयत्न गरिरहेको छ ।

क्युएए प्राप्तिको अन्तिम चरणमा पथरी क्याम्पस
२०६४ सालमा स्थापित पथरी बहुमुखी क्याम्पस पछिल्लो समयमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरण सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्तिको अन्तिम चरणमा पुगेको छ । गत चैत्र १५ गते नै एसएसआर रिपोर्ट बुझाइएको हुँदा यही असारभित्रमा आयोगबाट क्याम्पस भिजिट हुने कुरामा विश्वस्त रहेको क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाले जानकारी दिनुभयो । सबल भौतिक संरचना, प्रविधिमैत्री सिकाइ पद्धति, आइसिटीजस्ता प्रविधिसम्बद्ध विषयको पठनपाठन आदि कारण पनि अहिले क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दै गइरहेको छ । क्याम्पस बसको सुविधा नहुँदा पनि ६ सयको हाराहारीमा विद्यार्थी रहनुले आकर्षण बढेको ठान्नुपर्ने क्याम्पस प्रशासनको भनाइ छ । नगरपालिकाबाट प्राप्त अनुदानजस्तै अन्य सरकारी स्रोतबाट पनि दिगो आर्थिक व्यवस्थापनका लागि नियमित स्रोत जुट्न सके यस क्याम्पसले अझ सहुलियतमा उच्च शिक्षा प्रदान गर्ने सशक्त आधार खडा हुन्छ ।

अङ्ग्रेजी माध्यममा बढ्दो आकर्षण
यस नगरभित्र रहेका अधिकांश सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप अघि बढाएसँगै विद्यार्थीको आकर्षण बढ्दो अवस्थामा छ । यसैको परिणामस्वरूप पहिलेको तुलनामा अहिले सामुदायिक विद्यालयमा पनि विद्यार्थीको बाक्लो उपस्थिति देखिन्छ । २०४१ सालमा सिरिसे डाँडामा स्थापित सरस्वती आधारभूत विद्यालयमा हाल कुल २९४ जना विद्यार्थी अध्ययनरत छन् । बालकक्षादेखि नै अङ्ग्रेजी माध्यमबाट विद्यार्थी आकर्षण गरिरहेको यस विद्यालयले अहिले सोही माध्यममा कक्षा ५ र अन्य कक्षामा नेपाली माध्यमबाट पठनपाठन गर्दै छ । विद्यालयका प्रधानाध्यापक रामप्रसाद न्यौपानेका अनुसार भौतिक उन्नतिमा विद्यालय कमजोर भए पनि गुणस्तरीय शिक्षा प्रदान गर्नमा पछाडि परेको छैन । वडा (४ नम्बर) ले नियमित दिने शैक्षिक सुधारअन्तर्गतको अनुदान रकमले अङ्ग्रेजी माध्यमको पठनपाठन गर्न सम्भव भएको भनाइ प्रअ न्यौपानेको छ । २०४२ सालमा जरायोटोलमा स्थापित जनकल्याण आधारभूत विद्यालयमा हाल २ सय ३ जना विद्यार्थी अध्ययनरत छन् । मजबुत घेराबारा भएर अङ्ग्रेजी माध्यमबाट निरन्तर कक्षा थप गर्दै पठनपाठनलाई सुदृढ गर्न सफल यस विद्यालयमा पनि विद्यार्थी आउने क्रम बर्सेनि बढ्दै छ । विद्यालयका प्रधानाध्यापक आनन्दप्रसाद घिमिरेका अनुसार आधुनिक भवन, फर्निचर र स्वच्छ खानेपानीको समुचित व्यवस्थापन गर्न नसकिए पनि अङ्ग्रेजी माध्यमबाट लगनशीलताका साथ गुणस्तरीय शिक्षा पस्कनमा विद्यालय कहिल्यै पनि पछि परेको छैन । न्यून विद्यार्थी सङ्ख्या रहेको भनिएको सिद्धार्थ आधारभूत विद्यालयले पनि पछिल्लो समयमा विद्यार्थीलाई आकर्षित गर्नका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्रप्रसाद अधिकारीले अङ्ग्रेजी माध्यमका कारण विद्यार्थी सङ्ख्या बढाउन निकै सहज बनेको छ । त्यसो त पहिलेदेखि नै स्थानीय पञ्चायत मावि, जनता मावि, चन्द्रकिरातेश्वर मावि, बुद्ध मावि, सिंहवाहिनी मावि, सुनाखरी मावि, दुर्गा माविलगायतका विद्यालयमा अङ्गे्रजी माध्यमका कारण छिमेकी पालिकाबाट पनि विद्यार्थी आई अध्ययन गरिरहेको अवस्था छ ।

नगरको शिक्षा नीति र बजेट

अहिले नगरपालिका आफ्नो पहिचान झल्कने गरी स्थानीय पाठ्यक्रम (हाम्रो पथरी शनिश्चरे) निर्माण पूरा गरी पाठ्यपुस्तक बनाउने काममा तल्लीन रहेको पाइन्छ । नगरपालिकाले नगरभित्र रहेका सबै सामुदायिक, संस्थागत एवम् धार्मिक विद्यालय र पथरी बहुमुखी क्याम्पसको सर्वाङ्गीण विकासका लागि नीतिगतरूपबाटै समन्वयकारी भूमिका निर्वाह गरिरहेको भनाइ छ– नगरप्रमुख मोहनप्रसाद तुम्बापोको । यसका लागि नगरले स्वच्छ शैक्षिक वातावरण कायम राख्न तथा शिक्षाको गुणस्तर सुनिश्चित गर्न भनी पाँचबर्से नगरशिक्षा योजना बनाएर कार्यान्वयनको पहल सुरु गरेको छ । नगरको भर्खरै सम्पन्न नगरसभाले आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक २ करोड ५० लाख ९६ हजार बजेट विनियोजन गरेको छ । उसले सबै सामुदायिक विद्यालयमा प्रविधिमैत्री सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्ने गरी नीतिगत व्यवस्था गरेको छ । ‘प्राविधिक शिक्षामा अनुदान : सक्षम जनशक्ति उत्पादन’ भन्ने नारालाई सार्थक बनाउन स्थानीय भागीरथ माविमा डिप्लोमा बालीविज्ञान अध्ययन गर्ने र मदनभण्डारी कलेजमा प्राविधिक धार अध्ययन गर्ने नगरभित्रका विद्यार्थीलाई सहुलियतमा शैक्षिक ऋण उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको छ । यसै गरी नगरकै एकमात्र उच्च शिक्षा प्रदायक सामुदायिक क्याम्पस पथरी बहुमुखी क्याम्पसलाई पनि नगरले दिँदै आएको अनुदानलाई निरन्तरता दिइरहेको नगर शिक्षा अधिकृत नवीन खुलाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयका जीर्ण भवनको मर्मत, नयाँ भवन निर्माणका लागि पहल, विभिन्न विद्यालयमा शुद्ध खानेपानीको व्यवस्थापन, खेलमैदानसहित घेराबारामा सहयोग, अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्नमा आवश्यक शिक्षक व्यवस्थापन, नगरभित्रका विभिन्न क्लबलाई शैक्षिक उन्नयनकेन्द्रित कार्यक्रम गर्न प्रोत्साहन, विपन्न वर्गलक्षित सीपमूलक तालिमको व्यवस्थाजस्ता कार्यमा यस नगरपालिकाले सक्दो सहयोग गर्दै आएको छ । नगरभित्र कक्षा १२ सम्म नै निःशुल्क शिक्षाको प्रत्याभूति हुने गरी कार्यक्रम तय हुँदै छ । यसको शुभारम्भ वडा नं. ८ बाट भएको वडाध्यक्ष नवीन कार्कीले बताउनुभयो । ‘वडा नम्बर आठको इच्छा : छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा’ भन्ने नारासहित वडाभित्रका सबै विद्यार्थीलाई १२ कक्षासम्म निःशुल्क पढाइने भएको हो ।

शैक्षिक उन्नयनमा सहकार्य
सामुदायिक विद्यालयको सर्वाङ्गीण पक्षको विकास र संस्थागत विद्यालयको नीतिगत एवम् सामाजिक सद्भाव बढाउनमा स्थानीय सरकारको हैसियतमा नगरले सक्दो सहयोग गरेको बताउनुहुन्छ– नगरप्रमुख मोहनप्रसाद तुम्बापो । नगरप्रमुख तुम्बापोका अनुसार नगरसँगै प्रदेश र केन्द्र सरकारसम्मले सामुदायिक विद्यालयको सर्वाङ्गीण पक्षमा सहयोग गरी शैक्षिक उन्नयनको काम भइरहेको छ भने संस्थागत र सामुदायिक विद्यालय आफैँमा पूरकको रूपमा सहकार्य गर्दै अगाडि बढिरहेका छन् । नगरले विभिन्न समयमा सामुदायिक र संस्थागत विद्यालयलाई समन्वय गरी एकीकृत गतिविधि अघि बढाउँदा अभिभावक, शिक्षक, विद्यार्थी र सम्पूर्ण सरोकारवाला स्थानीयवासीले यहाँका सबै शैक्षिक संस्थालाई उत्तिकै माया गरेको बताउनुहुन्छ– एनप्याब्सनका नगर अध्यक्ष एवम् ब्राइट सनराइज स्कुलका संस्थापक प्रिन्सिपल थिरप्रसाद आचार्य । प्रिन्सिपल आचार्यको भनाइमा संस्थागत विद्यालयको श्रीवृद्धिमा राज्यले स्पष्ट नीति नबनाए पनि यस नगरपालिकाले भने संस्थागत विद्यालयको समेत हितलाई ध्यानमा राखेर नीतिगत व्यवस्था गरी समन्वयकारी भूमिका निर्वाह गर्ने गरेको छ ।

भावी मार्गदर्शन
यस नगरपालिकाले अझ बढी शैक्षिक उन्नयन गर्नका लागि वैकल्पिक रूपमा दुई ओटा प्रक्रिया अवलम्बन गर्न सकिने सो क्षेत्रका धेरैजसो जानकारहरूले सुझाउने गरेका छन् । अबको शैक्षिक उन्नयनको प्रमुख आधार प्राविधिक एवम् व्यावसायिक शिक्षामा नै बढी जोड दिनु हो । यसका लागि भौतिक पूर्वाधारको विकास पनि पहिलो सर्त हो । नगरमा वाचनालय सहितको सार्वजनिक ई–पुस्तकालयको अभाव रहेकामा सोको व्यवस्थापन आवश्यक छ । यस्तै अनौपचारिक र अनियमित शिक्षाको प्रभावकारिता अझ बढाउन सके यो नगर शैक्षिक दृष्टिकोणबाट नमुना बन्नेछ । नगरभित्रको एकमात्र उच्च शिक्षा प्रदायक पथरी बहुमुखी क्याम्पसको दिगो आर्थिक व्यवस्थापनमा नगरले ठोक कदम चाल्नुपर्ने अनिवार्यता छ भने उक्त क्याम्पसमा पढ्न आउने विद्यार्थीलाई लक्षित गरी कलेज बसको व्यवस्थापन गर्न पनि तदारूकता बढाउनुपर्ने देखिन्छ । यस्तै नगरवासीले अनुसन्धान तहको उच्च शिक्षा (एम.फिल, पिएच.डी.) को उपाधि लिन चाहेमा नगरले प्रोत्साहन गर्ने गरी नीतिगत व्यवस्था गर्न जरुरी भइसकेको छ ।

(निरौला स्वतन्त्र पत्रकार हुन् ।)

 

सम्बन्धित खवर