मलेप प्रतिवेदन ः सिन्धुलीको फिक्कल गाउँपालिकाको १२३ ठेली राजश्व रसिदनै गायव

मलेप प्रतिवेदन ः सिन्धुलीको फिक्कल गाउँपालिकाको १२३ ठेली राजश्व रसिदनै गायव

सिन्धुली, लक्ष्य अनुसारको राजश्व अशुली गर्न नसकेको सिन्धुलीको फिक्कल गाउँपालिकामा आ.व. २०७७/०७८ को राजश्व अशुलीका लागि तयार गरिएका १ सय २३ ठेली रसिद नै गायव भएको पाइएको छ । महालेखापरीक्षक (मलेप) कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनमा रसिद ठेलीनै गायब भएको उल्लेख गरिएको छ ।

गाउँपालिकालाई मलेपले केहि महिना अगाडि नै प्रारम्भीक प्रतिवेदन दिएको थियो । प्रतिवेदनमा रसिद ठेली पेश गर्न अथवा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ को दफा २८ बमोजिम १० प्रतिशत जरिवाना समेत अशुल गरि दाखिला गर्न भनिएको थियो । तर, गाउँपालिकाले यसको कुनै प्रमाण पेश गर्न नसकेकाले असार २९ गते सार्वजनिक गरिएको मलेपको अन्तिम प्रतिवेदनमा पनि प्रारम्भिक प्रतिवेदनमै उल्लेख गरेको कुराहरु समावेश भएर आएको छ । फिक्कल गाउँपालिकाको मलेप प्रतिवेदनको पेज नं. २२ को बुदा १३.५ मा रसिद नियन्त्रण खाता भनेर पालिकाको जिन्सी खातामा हेर्दा नगदी रसिद १२० ठेली र मालपोत रसिद १२० ठेली गरि जम्मा २४० ठेली आम्दानी बादेको, रसिद नियन्त्रण खातामा वडा, एम्बुलेन्स, ढुंगा, गिट्टि बालुवामा प्रयोग भएको बाहेकका ठेली आम्दानी बादेको नपाईएको, उक्त रसिद छपाई गरिएका कति देखि कति सम्म रसिद नम्बरको रसिद ठेली छपाई गरियो सो यकिन गर्न नसकिएको उल्लेख गरिएको छ । पालिकाले लेखापरीक्षणका क्रममा मालपोत ४२ ठेली र नगदी ७५ ठेली मात्र पेश गरेको, नगदी ४५ र मालपोत ७८ गरि १ सय २३ ठेली प्रयोग भएको भए आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ को दफा २८ बमोजिम १० प्रतिशत जरिवाना समेत अशुल गरी दाखिला गर्नुपर्ने अन्यथा खाली रसिद ठेली रसिद नम्बर सहित सबै रसिदको विवरण पेश गर्नुपर्ने मलेपको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वडामा, एम्बुलेन्स र ढुंगा गिट्टि बालुवाका लागि वितरण गरिएका रसिद नयिन्त्रण खातामा आम्दानी बादेका मध्य वडा नं. ५ मा रसिद नं. ३३५१ देखि ३४००, एम्बुलेन्स ५२२५ मा रसिद नं. १३०१ देखि १३५० र नदिजन्य आम्दानीमा रसिद नं १०५१ देखि ११०० को ठेली रसिद नियन्त्रण खातामा नचढाई वितरण गरेको पाईएको समेत उल्लेख गरिएको छ । यसको अर्थ रसिद काटेर आम्दानी गरेपनि रेकर्ड नराख्ने गलत नियतले प्रेरित भई काम गरेको देखिएको छ । मलेपले रसिदको प्रयोगलाई गम्भिर भई व्यवस्थित गर्न भनेको छ ।

आ.व. २०७७/०७८ मा फिक्कल गाउँपालिका ४ करोड ९१ लाख ५८ हजार बेरुजु देखिएको छ । त्यस मध्ये ३२ लाख ९० हजार अशुल गर्नुपर्ने, ४ करोड १ लाख ९९ हजार प्रमाण कागजात पेश गर्नुपर्ने, ५१ लाख ६९ हजार नियमित गर्नुपर्ने र पेश्की ५ लाख रहेको छ । पालिकाको गत वर्ष सम्म ४ करोड ७६ लाख ४९ हजार बेरुजु बाँकी रहेकोमा यस वर्ष समायोजन र सम्परिक्षणबाट फछ्र्यौट एवं आ.व. २०७७/०७८ मा कायम बेरुजु समेत हाल सम्मको अध्यावधिक वेरुजु ९ करोड १९ लाख ११ हजार रहेको छ । यो रकम सिन्धुली जिल्लाका ९ वटा स्थानीय तह मध्य तेस्रो धेरै बेरुजु हो ।

सिन्धुली जिल्लामा सबैभन्दा धेरै अध्यावधिक वेरुजु तीनपाटन गाउँपालिकाको १९ करोड १७ लाख ९ हजार, दोस्रोमा सुनकोशी गाउँपालिकामा ११ करोड ९७ लाख ८९ हजार, तेस्रोमा फिक्कल गाउँपालिकामा ९ करोड १९ लाख ११ हजार रहेको छ ।

सबैभन्दा कम गोलन्जोर गाउँपालिकाको २ करोड ३२ लाख १२ हजार रहेको छ । धेरै बजेट परिचालन गर्ने दुईवटा नगरपालिका कमलामाई र दुधौली बेरुजुको कुल अंकमा थोरै बजेट परिचालन गर्ने गाउँपालिकाहरु भन्दा पछाडि रहेका छन् । आ.व. २०७७र०७८ मा मात्रै कायम बेरुजुमा हरिहरपुरगढी गाउँपालिका सबैभन्दा अब्बल देखिएको हरिहरपुरगढीमा जम्मा ६५ लाख ४ हजार मात्रै बेरुजु रहेको छ । अर्ब बढि बजेट परिचालन गरेका कमलामाई र दुधौली नगरपालिकाे पनि आ.व. २०७७/०७८ को बेरुजु १ प्रतिश भन्दा कम रहेको पाईएको छ ।

सम्बन्धित खवर