पथरी, राष्ट्रिय भूमि आयोगले मोरङको पथरी शनिश्चरे नगरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नगरको भूमि सम्बन्धी समस्या समाधानका लागि सर्वपक्षीय समन्वय अघि बढाउनु पर्ने निर्णयमा पुगेको छ ।
छलफलमा, पालिकाको निर्वाचनपछिका जनप्रतिनिधिहरु सहितको सर्वदलीय सहयोग समन्वय समिति (नगर र वडामा) पुनर्गठन प्रक्रिया अघि बढाएर जग्गा सम्बन्धी निवेदकहरुको सूचना प्रकाशन र नयाँ नापीको प्रक्रिया थालिने निर्णयमा पुगिएको आयोगका नगर सेवा केन्द्र प्रमुख ताराप्रसाद ढकालले जनाउनु भयो ।
वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि सम्मिलित छलफलमा आयोग जिल्ला अध्यक्ष सुशीला घिमिरे, विज्ञ सदस्य प्रेम भारती, नगर प्रमुख मोहनप्रसाद तुम्वापो सहितले आयोगले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउनु भयो । अघिल्ला आयोगले पुरा गर्न बाँकी रहेका अधुरा कामलाई पुरा गर्ने प्रक्रियामा वडा नम्बर ८ र १० मा नापी थालेको छलफलमा जानकारी गराइयो । वडा नम्बर १ बाट अधुरो कामका ५ सय ९५ वटा फायल आयोगमा पुगेको, वडा नम्बर ८ को केहि फाइल अन्तिम निर्णयको क्रममा पुगेको समेत जानकारी गराइएको छ ।
पहिले अधुरा कामको प्रक्रिया अघि बढाइएको भएपनि अव अधुरासँगै कम्प्युटरमा प्रविष्ट भएका फायल अन्तर्गतको नयाँ कामको पनि प्रक्रिया अघि बढाइने जिल्ला अध्यक्ष घिमिरेले जनाउनु भयो । उहाँले एउटाको बसोबास र पूर्जा अर्कैको भएका जग्गाको समस्याको समाधानका लागि प्रमुख जिल्ला अधिकारीसँग समेत छलफल गरिरहेको जानकारी गराउनु भयो ।
वडाध्यक्षहरुले सवैखाले समस्या केलाएर न्यायोचित हिसावले जोतभोगका आधारमा जग्गाधनी प्रमाण पूर्जा प्रदान गर्न सवैको सहकार्य आवश्यक रहेको कुरामा जोड दिनुभएको छ । नगरमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी १० हजार वटा आवेदन भरिएको छ ।