पथरीशनिश्चरेको विकासात्मक आयाम र सम्भावना

पथरीशनिश्चरेको विकासात्मक आयाम र सम्भावना

–केशव निरौला

पूर्वोत्तर मोरङको पथरीशनिश्चरे नगरपालिका विकासको प्रबल सम्भावना बोकेको ‘हरित नगरी’ हो । साविक पथरी, शनिश्चरे र हसन्दह गाउँ विकास समिति मिलेर बनेको यो नगरपालिकाले पूर्वमै वन र सिमसारयुक्त पर्यटनको छुट्टै पहिचान बोकेको छ । भूधरातलको आधारमा यो नगरपालिका समथर र उर्बर भूमिको बनोटमा रहेको छ ।

२०७४ असार २१ गते पदभार ग्रहण गरेको यो नगर समितिको पहिलो कार्यकाल पूरा हुनै लागेको छ । यस अवधिमा नगरको सर्वाङ्गीण विकासमा केन्द्रित भई सक्रियतापूर्वक समिति लागे पनि कैयौँ विकासात्मक कार्यहरूले पूर्णता पाउन सकेका छैनन् । एकातिर सङ्घीयता कार्यान्वयनको अभ्यासमा रहेको र अर्कातिर पटकपटक कोरोनाजस्ता महामारीसँग जुध्नु परेकाले पनि आशातीत विकासात्मक कार्य पूरा गर्न नसकिएको बताउनुहुन्छ– नगरप्रमुख दिलीपकुमार (किशोर) राई । नगरप्रमुख राईका अनुसार चार वर्षको यो अवधिमा नगरले भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, शैक्षिक र नीतिगत विकासका उल्लेखनीय कार्यहरू गरेको छ । पथरीशनिश्चरे नगरपालिकाको उल्लेखनीय विकासात्मक आयामका विविध पक्षलाई मूलतः यसरी दर्साउन सकिन्छ ः

१. न्याय सम्पादनमा उत्कृष्ट पालिका ः

प्रदेश १ मै बढी विवाद निरूपण गर्न सफल यो नगरपालिका न्याय सम्पादनमा उत्कृष्ट भएको जिल्ला अदालत मोरङले ठहर गरेको छ । नगर उपप्रमुख यमुना विष्ट बाँस्तोलाका अनुसार न्याय निरूपणको क्रममा अधिकांश मुद्दामामिलाहरू यहीँ मिलापत्र भएका छन् भने नगण्य मात्रामा (०.५ प्रतिशत) मात्रै मुद्दा अदालती प्रक्रियाअनुसार अघि बढाएर निपटरा गरिएका छन् । न्यायिक समितिले माघसम्ममा २ हजार ९० ओटा मुद्दाको मध्यस्थतामार्फत किनारा लगाएको छ । पर्याप्त भौतिक पूर्वाधारको कमी र सम्बन्धित क्षेत्रका दक्ष कर्मचारीको अभावमा समेत व्यवस्थित तरिकाबाट न्याय सम्पादन भइरहेको न्यायिक समिति संयोजक विष्टले बताउनुभयो । नगरबाट हालसम्म ८ ओटा ऐन, ४ ओटा नियमावली, २४ ओटा कार्यविधि र २ ओटा निर्देशिका निर्माण भएको छ भने अन्य आवश्यकीय ऐननियमहरू निर्माण हुने क्रममा रहेका छन् ।

२. स्वास्थ्य सेवामा उल्लेखनीय विकास ः

नागरिकलाई सरल र सहज तरिकाबाट घरपायक हुने गरी स्वास्थ्य सेवासुविधा प्रदान गर्नमा नगरपालिकाले उल्लेखनीय कार्य गरेको पाइन्छ । १५ बेडको नगर अस्पताल स्थापना गरेर यस क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । १८ करोडको लागतमा बनेको आधुनिक भवनमा स्थापित नगर अस्पतालमा विशेषज्ञ सेवासहितको सुविधा प्राप्त गर्न सकिन्छ भने यही फागुन १ गतेदेखि आकस्मिक एवम् अन्तरङ्ग सेवा चालु रहेको बताउनुहुन्छ– स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य । शाखा प्रमुख आचार्यका अनुसार अहिले नगरका १० ओटै वडामा स्वास्थ्य केन्द्रको समेत स्थापना गरी सेवा सुचारु गरिएको छ भने स्वास्थ्य बिमा कार्यक्रम, ७० वर्षमाथिका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा र ८० वर्षमाथिका बिरामीलाई घरमै गएर स्वास्थ्य जाँच एवम् उपचार गर्ने गरिएको छ । नगरले जनताको स्वास्थ्यप्रति अतिसंवेदना जनाउँदै २० जना स्वास्थ्यस्वयंसेवी परिचालन गरेको छ भने अतिविपन्न नागरिक र तोकिएका दीर्घरोगीको उपचारका लागि जनही १५ हजार नगदसमेत प्रदान गर्ने गरेको छ । यस्तै यो नगर पूर्ण खोप सुनिश्चित भएको नगरमा परिचित छ । अहिले नगरले ३ ओटा एम्बुलेन्स र एउटा शववाहन सञ्चालनमा ल्याएको छ ।

३. भूमिसम्बन्धी समस्या समाधानमा सक्रियता ः

यस नगरपालिकाले भूमिसम्बन्धी समस्या समाधानका लागि द्रुत गतिमा काम अगाडि बढाएको छ । नगरले भूमि आयोगसँग कार्यगत एकताको सम्झौता गरी भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्नमा तदारूकताका साथ कामकारबाही अघि बढाएको हो । यस क्रममा भूमिसम्बन्धी समस्याको तथ्याङ्क सङ्कलन सकी प्रविष्टीकरणको काम भइरहेको छ भने चाँडै जग्गा नापीको काम अघि बढ्ने नगरप्रमुख राईले बताउनुभयो । अहिलेसम्म वडा नं. १,२,३,४,५ र ७ को प्रविष्टीकरण सकिएको छ भने ६ को क्रमशः सुचारु छ । भूमि आयोगको नगर कार्यालयस्थित इकाइ प्रमुख ताराप्रसाद ढकालले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको ३ हजार ५ सय ६८ र अव्यवस्थित बसोबासीको ६ हजार २ सय २५ घर परिवारको गरी कुल ९ हजार ७ सय ९३ ओटा फारममा लगत सङ्कलन भएको जानकारी गराउनुभयो । यो विवरण जिल्लामा विराटनगर उपमहानगरपालिकापछिकै ठूलो सङ्ख्याको मानिन्छ । सरकार परिवर्तनसँगै भूमि आयोगमा आएको परिवर्तनीय खेलले केही समय काम रोकिए पनि अहिले बाँकी काम द्रुत गतिमा अघि बढिरहेको नगरपालिका स्रोतले जानकारी दिएको छ ।

४. शैक्षिक आकर्षणको केन्द्र बन्दै नगर ः

पूर्वमा शैक्षिक आकर्षणको केन्द्र बन्दै छ पथरीशनिश्चरे । यहाँको उच्च शिक्षा प्रदायक संस्था पथरी बहुमुखी क्याम्पस र कक्षा ११÷१२ मा नगरमै धेरै विषय पठनपाठन गर्ने पञ्चायत माविले शैक्षिक आकर्षणमा ‘मियो’को काम गरेका छन् भने संस्थागत विद्यालयहरूमा एभरेस्ट, रेडस्टार, वाल्मीकि, अन्नपूर्ण, मोरङ मेरिगोल्ड, न्यु पेगोडा, अरुणोदयलगायतका विद्यालयले अन्य पालिकाबाट पनि विद्यार्थी आकर्षण गरिरहेका छन् । विज्ञान, सिभिल इन्जिनियरिङ, कानुन, ललितकला, व्यवस्थापन, मानविकी र शिक्षा समूहमा सबैजसो विषय पठनपाठनको व्यवस्था मिलाएको पञ्चायत मावि र ३ बर्से डिप्लोमामा बालीविज्ञानको कक्षा सुरु गरेको भागीरथ माविले पनि प्राविधिक एवम् व्यावसायिक शिक्षामा विशेष जोड दिइरहेका छन् । गुठी संस्थाबाट सञ्चालित भूपू सैनिक अङ्ग्रेजी स्कुल र धार्मिक विद्यालयको रूपमा रहेको विश्वनाथ संस्कृत विद्यालयले पनि नगरको भिन्न पहिचान दिलाउन सफल भएका छन् । नगरले व्यवस्था गरेको शैक्षिक ऋणबाट भागीरथ माविमा बालीविज्ञान पढ्ने विद्यार्थी प्रत्यक्ष लाभान्वित छन् । अहिले नगरपालिकाले आफ्नो पहिचान झल्कने गरी स्थानीय पाठ्यक्रम निर्माणको कामलाई तीब्रता दिइरहेको छ ।

५. भौतिक पूर्वाधार विकास ः

जनप्रतिनिधि निर्वाचित भएर आएपछिको साढे ५ वर्षमा नगरमा भौतिक पूर्वाधार विकासमा नयाँ आयाम थपिएको छ । त्यस अवधिमा करिब ३५ किलोमिटर सडक कालोपत्रे भएको छ भने बाँकी काम निरन्तर अघि बढिरहेको छ । नगरपालिका र नगरको पहलमा प्रदेश र सङ्घीय सरकारमार्फत नगरमा विकासका ठूला योजनाहरू सञ्चालन भइरहेका छन् । यस सम्बन्धमा नगरप्रमुख राई भन्नुहुन्छ ‘विगत २० वर्षको अवधिमा भन्दा हामीले यो छोटो अवधिमा नगरवासीको सहकार्यमा धेरै गुणा बढी काम गर्न सकेका छौँ । भौतिक विकासको क्षेत्रमा भएको यो विकाससँगै अब चेतनाको क्षेत्रमा पनि रफ्तार बढाउँदै जानुपर्नेछ ।’ नगरपालिकाभित्रका बाटोघाटो र पुलपुलेसोको निर्माण एवम् मर्मतमा उल्लेखनीय प्रगति भएको छ । अहिले पथरीको बुद्धचोकदेखि कीर्तिपुर हुँदै हसन्दह जाने बाटो कालोपत्रे (पिच) छ भने बुद्धचोकबाटै लामाटोली र पथरी शिखरचोकबाट देवीगन्जहुँदै अगाडि बढेको बाटो पनि कालोपत्रे छ । गान्धी मनमोहन मार्ग र कीर्तिपुरबाट सोमबारे (सखुवारा) जाने बाटो फराकिलो बनाई कालोपत्रे हुने काम धमाधम चलिरहेको छ । यी प्रतिनिधि नमुनाबाट नै नगरभित्र बाटोघाटो र पुलपुलेसोको निर्माण एवम् मर्मतमा सक्रियता छ भन्न सकिन्छ । यस्तै पञ्चायत माविमा सङ्घीय सरकारको ८ करोड बजेटमा अपाङ्गता भएका विद्यार्थीहरूका लागि आवाससहितको भवन र नमुना कार्यक्रमको अन्य भवनहरू निर्माण भइरहेका छन् भने सङ्घीय सरकारकै ४ करोड हाराहारीको बजेटमा वडा नम्बर ८ को बुद्ध माविको भवन धमाधम निर्माण भइरहेको छ ।

६. उद्यमशीलता र आत्मनिर्भरताको बाटो समाउँदै ः

यस नगरभित्र रहेका आर्थिक विपन्नहरूलाई लक्षित गरी सञ्चालन भएका लघु उद्यम विकाससम्बन्धी कार्यक्रमहरू पनि प्रभावकारी बनेका छन् । सञ्चालन भएका विभिन्न कार्यक्रमको परिणामस्वरूप मासु र अन्डामा नगर आत्मनिर्भर बनेको छ । पशुपन्छी शाखामार्फत कार्यक्रमको सम्पूर्ण विवरण सहितको फ्लेक्स बोर्ड वडावडामा समेत राखिएको छ । प्रदेश सरकारको ५० लाखसहित कुल ६७ लाखमा वडा नम्बर १ मा व्यवस्थित वधस्थल निर्माण सम्पन्न भएको छ भने प्रदेश र नगरको संयुक्त साझेदारीमा ६० लाखको लागतमा १३ कोठाको सटरसहित ‘कोसेली घर’ समेत हुने गरी कृषि टहरा निर्माणको काम अघि बढेको छ ।

७. पर्यापर्यटनको विकास ः

‘वन तथा सिमसारयुक्त पर्यटकीय नगरी’का रूपमा आफ्नो फरक पहिचान बनाउने क्रममा यस नगरभित्र हालसम्म १ दर्जन सिमसार मर्मत भएका छन् भने दर्जनकै हाराहारीमा सिमसार क्षेत्र निर्माणको क्रममा छन् । नगरको प्रमुख पर्यटकीयस्थलका रूपमा विकास भएको शान्ति सामुदायिक वनभित्रको शान्ति भूल्के सिमसारमा पर्यटकीयस्थल निर्माणको काम सञ्चालनमा छ । देशमै उत्कृष्ट बनेको हरियाली सामुदायिक वनले पब्लिक लिमिटेड बनी प्रदेशकै नमुना पर्यटकीयस्थल निर्माणको डीपीआर तयार गरेर काम अगाडि बढाएको छ । यसका लागि उसले २० करोडको योजना बनाएको छ । यसरी पर्यापर्टनको विकासमा पनि नगरले उल्लेखनीय विकासात्मक कार्य गरिरहेको छ ।

यी विभिन्न विकासात्मक आयाममा पथरीशनिश्चरे नगरपालिकाको गौरव अघि बढे पनि केही प्रमुख विकासात्मक सम्भावनाका माझ ती क्षेत्रको विकासमा नगर पछि परेको देख्न सकिन्छ । नगरको सर्वाङ्गीण विकासका लागि अल्पकाल र दीर्घकालका योजनामा निम्नानुसारका कार्यहरूलाई प्राथमिकताका साथ समावेश गरी अघि बढ्न सकिन्छ ः

१. यस नगरपालिकाभित्र कहीँकतै पनि सार्वजनिक वाचनालयसहितको व्यवस्थित ई–पुस्तकालय नभएको हुँदा सोको व्यवस्थापन गरिनुपर्ने ।
२. नगरपालिकाभित्र कतै पनि पेट्रोलपम्प नभएकाले सोको स्थापनाका लागि आवश्यक पहल एवम् सहजीकरण गरिनुपर्ने ।
३. पथरीशनिश्चरे क्षेत्रभरिको सम्पूर्ण राजमार्ग खण्डमा सडकबत्तीको जडान गरी उज्यालो नगरको पहिचान कायम गर्नुपर्ने ।
४. नगरबाट उत्पादित फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि काम अघि बढाइनुपर्ने ।
५. नगर क्षेत्रभित्र कालोपत्रे चक्रपथ निर्माणको काम सुरु गरिनुपर्ने ।
६. राजमार्गका आवश्यकीय स्थानमा आकासेपुल निर्माण गरिनुपर्ने ।
७. पञ्चायत र भागीरथ माविमा जस्तै नगरभित्रका अन्य माविहरूमा पनि प्राविधिक शिक्षा पठनपाठनको व्यवस्था मिलाउन पहल गरिनुपर्ने ।
८. तत्काल पथरी बहुमुखी क्याम्पसलाई क्याम्पस बस र क्रमशः अन्य सामुदायिक विद्यालय (मा.वि.)का लागि पनि बसको व्यवस्था गर्न पहल गरिनुपर्ने ।
८. स्थानीय पाठ्यक्रमअनुसारका पाठ्यपुस्तकहरू निर्माण गरी शीघ्रातिशीघ्र लागु गरिनुपर्ने ।

माथि उल्लेख गरिएका विकासात्मक कार्यलाई जतिसक्दो चाँडो पूरा गर्न सके नगरले अझ बढी विकासको उचाइ प्राप्त गर्ने निश्चित छ ।

सम्बन्धित खवर