उर्लाबारी, मोरङको उर्लाबारी–५ मा रहेको गोदावरी हस्पिटलको चरम लापरबाहीबाट मृत्यु भएको भन्दै पैसाको बार्गेनिङ हुन थालेको छ ।
उर्लाबारी– ६ का अनिल अग्रवालको गोदावरी हस्पिटलका चिकित्सकले फरक समूहको रगत प्रयोग गरेका कारण मृत्यु भएको दाबी गरिएको थियो । पीडित परिवारले आज पत्रकार सम्मेलन गर्ने भन्दै खबर गरेपनि स्थगित गरेर पैसाको बार्गेनिक गरिरहेको जानकार स्रोत बताउँछ । राजनीति दलका नेता, ब्यवसायी, वडाध्यक्ष लगायत समेत पीडित परिवारलाई राहत दिलाएर घटना थामथुम बनाउन लागि परेको बुझिएको छ ।
५० लाख बार्गेनिङ
गोदावरी हस्पिटलका चिकित्सकले फरक समूहको रगत प्रयोग गरेका कारण मृत्यु भएको दाबी गर्दै पीडित परिवारले ५० लाख मागेको देखिएको छ । छोराछोरीको भबिष्यका लागि भन्दै घुमाउरो तरिकाले ५० लाख मागेको र हस्पिटलले १२ लाख रुपैयाँसम्म दिने छलफलमा कुरा भएको छलफलमा सहभागीहरुले नै बताएका छन् । उर्लाबारी नगरपालिका, उर्लाबारी उद्योग बाणिज्य संघलगायत धेरै ठाउँमा छलफल भएको बुझिएको छ ।
कार्वाही प्रक्रियामा किन जान चाहेनन् ?
गोदावरी हस्पिटलका चिकित्सकले फरक समूहको रगत प्रयोग गरेका कारण मृत्यु भएको हो भने किन कानुनी कार्वाहीमा जान भन्दा पटक पटक छलफल भयो । ब्लड ग्रुपको हेराफेरी मात्रै अनिल अग्रवालको मृत्युको कारक नभएको हस्पिटल प्रशासनले जनाएको छ । क्यान्सर र फोक्सोमा समस्या रहेका अग्रवालको मृत्युका बारेमा चलखेल भइरहेको बुझिएको छ । दोषी देखिए कार्वाही गर्नु भन्दा पैसा लिएर मिल्ने कुरा राम्रो नभएको स्थानीय हेमराज अग्रवालको भनाई छ । निष्पक्ष छानविन गरी दोषीलाई कार्वाही गर्नु पर्नेमा उहाँको जोड छ । ‘भोलीका दिनमा यस्ता घटना हुन नदिनका लागि पनि दोषी जोजो छन्, उनीहरुलाई कार्वाही हुनुपर्छ’–उहाँले भन्नुभयो । यता हस्पिटल प्रशासनले दोषी देखिए कार्वाही भोग्न तयार भएको जनाएको छ ।