अमरदह ढल्केजोवन गोल्डकपको उद्घाटन खेलामा दार्जिलिङ विजयी

अमरदह ढल्केजोवन गोल्डकपको उद्घाटन खेलामा दार्जिलिङ विजयी

चोथौँ अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवन गोल्ड कप २०७८ को उद्घाटन भएको छ । सुनवर्सी नगरपालिका वडा नं –२ मा रहेको विरेन्द्र सार्वजनिक माविको खेलमैदानमा शुक्रवार भव्य कार्यक्रमकाबिच प्रतियोगिताको उद्घाटन भएको हो ।

अमरदह ढल्के जोवन युवा क्लब सुनावर्षीको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी बल बराह पकलीका बाहिनी पति प्रहरी नायव महानिरीक्षक कमल गिरीले गरेका थिए । उक्त कार्यक्रममा सुनवर्षी नगरपालिकाका उपप्रमुख मञ्जु कुमारी राई, मोरङ फुटबल सङ्घका अध्यक्ष दीपेन्द्र धिमाल, मोरङ प्रहरी प्रमुख जनार्दन विसि लगायतको सहभागिता रहेको थियो ।

शुक्रवारको उद्घाटन खेल मानेभन्याङ फुटबल क्लब दार्जिलिङ र एपिएफ फुटबल क्लब काठमाडौकाबिच भएको थियो । उद्घाटन खेलमा एपिएफलाई ४ का विरुद्ध ५ गोल प्रहार गर्दै मानेभन्याङ फुटबल क्लब दार्जिलिङ दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिता सुरु भएको १८ मिनेटमा मानेभन्याङ फुटबल क्लबका जर्सी नं २ का खेलाडी डोनाल्ड डेन्जोङले पहिलो गोल गरेका थिए । निकै प्रयास गरे पनि पहिलो हाफमा एपिएफले गोल गर्न सकेन । १–० मा सिद्धिएको पहिलो हाफ, दोस्रो हाफ सुरु भएको १४ मिनेटमा एपिएफका जर्सी नं १५ का सचिन राईको एक गोल गरेर खेललाई बराबरी तुल्याएका थिए । खेल निकै प्रतिस्पर्धात्मक रूपमा चले पनि मानेभन्याङ फुटबल क्लबले एपिएफलाई दबाबमा राखेको थियो ।

निर्धारित समय सम्म खेल १–१ गोलको बराबरी भए पछि खेल ट्राई ब्रेकरमा सिद्ध्याइएको थियो । खेलको म्यान अफ द म्याच एम. एफसी. दार्जिलिङका गोल रक्षक उर्गेन पिनिसो शेर्पा घोषित भए । उनले नगद पुरस्कार स्वरूप रु ५ हजार प्राप्त गरे ।

भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिम सहभागिता रहेका प्रतियोगिताका विजेताले ५ लाख ११ हजार नगदसहित शिल्ड, पदक तथा प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले २ लाग ११ हजार शिल्ड, पदक र प्रमाण पत्र पाउने छन् ।

शनिवारको खेल द योङ ब्रदर सुनसरी र पिवाइसि हेटौँडाबिच हुने अमरदह ढल्के जोवन युवा क्लबका अध्यक्ष प्रताप तामाङले बताए ।
उद्घाटन कार्यक्रममा विद्यार्थी तथा विभिन्न जातीय सङ्घ संस्थाको सांस्कृतिक झाँकीहरुको प्रस्तुतिसमेत रहेको थियो ।

सम्बन्धित खवर