वर्तमान गठबन्धनको सरकार जनताप्रति उत्तरदायी छ ः अर्थमन्त्री शर्मा

वर्तमान गठबन्धनको सरकार जनताप्रति उत्तरदायी छ ः अर्थमन्त्री शर्मा

अर्थमन्त्री एवं नेकपा माओवादीका नेता जनार्दन शर्माले वर्तमान गठबन्धनको सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताउनुभएको छ ।

हेटौँडामा आज आयोजित वाइसिएल हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनमा उहाँले भन्नुभयो, “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनको सरकारले जनउत्तरदायित्व बहन गर्दै जनताको हित हुने काम गरिरहेको छ ।” उहाँले देशको अर्थतन्त्र ऋणात्मक भइरहेको बेला हालै आएको प्राकृतिक विपत्तिले थप जटिलता दिएकाले अर्थतन्त्रमा थप नकारात्मक असर परेको बताउनुभयो । हालै आएको बेमौसमी बाढीका कारण देशको जिडिपीमा ७ प्रतिशत योगदान रहेको कृषितर्फको धान खेती नष्ट हुँदा देशको अर्थतन्त्रसँगै गरिब किसानकोे जीविकामा जटिलता थपिएको उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले सरकारले छोटो समयमा प्रतिस्थापन विधेयकमार्फत युवा, महिला, विद्यार्थी, बालबालिका, घाइते, अपाङ्ग, शहीद परिवार र गरिब जनताको मुद्दामा थोरै भए पनि बजेट विनियोजन गरेर सम्बोधन गर्ने काम गरेको बताउनुभयो । प्राकृतिक प्रकोपबाट धान खेती नष्ट भएका कृषकको पीडा सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले राहतको प्याकेजसमेत ल्याएको र चाँडै नै कृषकलाई राहत उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर