नवरात्रको तेस्रो दिन ः चन्द्रघण्टा देवीको पूजा आराधना

नवरात्रको तेस्रो दिन ः चन्द्रघण्टा देवीको पूजा आराधना

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

यसैगरी हनुमानढोकास्थित दसैँ घरमा पनि आज विधिपूर्वक नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा आराधना गरिएको छ । हनुमानढोकाको दसैँ घरमा राज्यका तर्पmबाट विधिपूर्वक घटस्थापना गरी जमरा राखेर शक्तिकी अधिष्ठात्री देवी दुर्गाको नवरात्रभर पूजा आराधना हुने गरेको पुजारी देवराज अर्यालले जानकारी दिनुभयो ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । आज शनिबार पनि परेकाले बिहानदेखि दिनभर नै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको थियो । गत वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले धेरै मन्दिर बन्द गरिएका थिए । यस वर्ष कोरोना जोखिम कायमै रहे पनि सङ्क्रमण दर कम भएको र आधाआधीले खोपसमेत लगाइसकेकाले स्वास्थ्य सुरक्षाका विधि पालना गरी शक्तिपीठमा भक्तजनको भीड लागेको हो । भक्तजनले भौतिक दूरी कायम गर्न भने नसकेको देखिन्छ ।

सम्बन्धित खवर