४४ दिनपछि भारतमा सबैभन्दा कम संक्रमित, एक करोड खोप किन्न दिल्ली सरकारद्वारा बोलपत्र आह्वान

४४ दिनपछि भारतमा सबैभन्दा कम संक्रमित, एक करोड खोप किन्न दिल्ली सरकारद्वारा बोलपत्र आह्वान

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सबैभन्दा थोरै देखिएको छ।

दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय एक दिनमा एक लाख ८६ हजार ३६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।

यसअघि दैनिक तीन लाख १८ हजार ८९५ जना सङ्क्रमित भएका थिए भने एकैदिनमा तीन हजार ६६० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७५ लाख ५५ हजार ४५७ पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

कुल सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ९३ हजार ४१० जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको तथ्याङ्क छ ।

भारतमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या पनि बढेर ९०।३४ प्रतिशतसम्म पुगेको छ । बिहीबार मात्रै भारतमा २० लाख ७० हजार ५०८ जनाको कोरोना परीक्षण गरिएको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २३ लाख ४३ हजार १५२ रहेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

एक करोड खोप किन्न दिल्ली सरकारद्वारा बोलपत्र आह्वान

भारतको दिल्ली प्रदेश सरकारले कोरोनाभाइरस विरुद्धको एक करोड खोप किन्नका लागि बोलपत्र आह्वान गरेको छ । देशको केन्द्रीय राजधानीसमेत पर्ने दिल्ली सरकारले आपतकालिन “ग्लोवल टेन्टर” आह्वान गरेको अधिकारीहरुले जनाएका छन् ।

जनरल स्वास्थ्य सेवा निर्देशनालयद्वारा प्रकाशित बोलपत्रमा आगामी जुन ७ गते बेलुका ५ बजेसम्म बोलपत्रका लागि फाराम भर्न सकिने समयावधि तोकिएको छ । भारत सरकारको आधिकारीक निकायले प्रयोगका लागि अनुमति दिएको खोप मात्रै खरिद गर्नु पर्ने बोलपत्रमा उल्लेख गरिएको छ । बोलपत्र इमेलमार्फत् भर्न सकिने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको महामारी नियन्त्रण हुन नसकेको र फेरि तेस्रो चरणको महामारी फैलिने खतरा रहेकाले खोप खरिदलाई प्राथमिकता दिइएको प्रदेश सरकारले जनाएको छ । केन्द्रीय सरकारको प्रयास र भारतमा उत्पादन भइरहेको खोपले मात्रै तत्कालको आवश्यकता पुरा नहुने भएकाले विश्वाव्यापी बोलपत्र आह्वान गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको महामरी नियन्त्रणको एउटा कडिकै रुपमा खोप खरिद प्रक्रियालाई लिइएको समाचारमा उल्लेख गरिएको छ ।

दिल्ली सरकारका अनुसार अहिले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुलाई दुई लाख ६५ हजार १० कोभिसिल्ड खोप उपलब्ध गराइएको छ। त्यस बाहेक दिल्लीका अरु ५२ लाख ६४ हजार २३२ खोप प्रयोग भइसकेको छ।

सम्बन्धित खवर