अकाल मृत्युको त्रासमा पथरीवासी : एउटा ‘सर्पदंश केन्द्र’का लागि वर्षौंदेखिको हारगुहार

अकाल मृत्युको त्रासमा पथरीवासी : एउटा ‘सर्पदंश केन्द्र’का लागि वर्षौंदेखिको हारगुहार

पथरी, मोरङ / वर्षायाम सुरु भएसँगै मोरङको पथरी शनिश्चरेका बासिन्दाका रातहरू निन्द्राविहीन बन्ने गर्छन्। खेतबारी र आँगनमै विषालु सर्पको डर त छँदै छ, त्योभन्दा ठुलाे त्रास छ— यदि टोकी हालेछ भने बचाउने कसरी ?

भौतिक पूर्वाधार र विकासका ठुला गफ भइरहँदा, पथरीका नागरिक भने जीवन बचाउने एउटा प्राथमिक आवश्यकता— ‘सर्पदंश उपचार केन्द्र’ का लागि वर्षौंदेखि हारगुहार गरिरहेका छन्।

दमक पुग्दा-पुग्दै निभ्छ जीवनको बत्ती

पथरी शनिश्चरेमा सर्पदंशको उपचार गर्ने कुनै व्यवस्था छैन। विषालु सर्पले टोकेका बिरामीलाई बचाउन भागमभाग गर्दै छिमेकी झापाको दमकस्थित रेडक्रसको केन्द्र पुर्‍याउनुपर्ने बाध्यता छ। तर, दमकसम्मको दुरी, खराब सडक, मध्यरातमा सवारी साधन नपाउनु र बाटोमै बित्ने अमूल्य समयका कारण हरेक वर्ष धेरै नागरिकले अस्पतालको ढोका नदेख्दै अकालमा ज्यान गुमाइरहेका छन्। एउटा सामान्य उपचार सेवाको अभावमा नागरिकले यसरी बर्सेनि ज्यान गुमाउनु राज्यको गम्भीर लापरवाही भएको स्थानीयको आक्रोश छ। “सर्पले टोकेपछि एक-एक सेकेन्डको महत्त्व हुन्छ, तर हामी दमक पुर्‍याउने गाडी खोज्दाखोज्दै बिरामी गुमाउन बाध्य छौँ।”एक स्थानीयकाे भनाइ ।

पथरीमा केन्द्र बने आधा दर्जन पालिकालाई राहत

पथरी शनिश्चरेमा सर्पदंश उपचार केन्द्र स्थापना हुनु भनेको केवल एउटा नगरको स्वास्थ्य सेवा थपिनु मात्र होइन। यसले आसपासका आधा दर्जन बढी क्षेत्रका बासिन्दालाई प्रत्यक्ष जीवनदान दिनेछ:

प्रत्यक्ष लाभ पाउने क्षेत्रहरू: पथरी शनिश्चरे, कानेपोखरी, सुनवर्षी, उर्लाबारी, र बेलबारी।

फाइदा : दमक वा विराटनगर धाउनुपर्ने बाध्यताको अन्त्य र ‘गोल्डेन आवर’ (बच्न सकिने समय) भित्रै तत्काल उपचार।

स्थानीयको स्पष्ट प्रश्न: नागरिकको ज्यानभन्दा ठूलो विकास के हो?

स्थानीय बासिन्दाले स्थानीय नगरपालिकासहित प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउँदै अब आश्वासन होइन, तत्काल काम चाहिएको बताएका छन्।

सम्बन्धित निकायले समयमै ध्यान दिएर नगरमै सर्पदंश उपचार केन्द्र (एन्टी-स्नेक भेनम र भेन्टिलेटरसहितको टोली) सञ्चालनमा ल्याउने हो भने बर्सेनि दोहोरिने यी दुःखद मृत्युका घटनाहरूलाई रोक्न सकिन्छ। नागरिकको जीवन रक्षा गर्नु नै सरकारको पहिलो कर्तव्य हो— र पथरीवासी अहिले त्यही कर्तव्य पालनाको पर्खाइमा छन्।

सम्बन्धित खवर