निर्माणस्थल छाड्दै नारायणगढ–बुटवल सडकमा कार्यरत कामदार

निर्माणस्थल छाड्दै नारायणगढ–बुटवल सडकमा कार्यरत कामदार

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०/७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार कोभिडकै कारणले धमाधम निर्माणस्थल छाडिरहेको आयोजनाले जनाएको छ । कतिपय कामदारको परिवारका सदस्य वा आफन्त कोभिड भएकाले काम छाडेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताउनुभयो । एकै दिन वा एकै पटकभन्दा पनि कामदार बिस्तारै घटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ यो अवस्थामा सुधार नभएसम्म कामदारलाई तुरुन्त काममा फर्काउन गाह्रो हुने देखिन्छ ।”

निर्माणस्थलमा कतिपय स्थानीयवासी त कतिपय टाढाका कामदार कार्यरत थिए । कामदारले धमाधम काम छाडेर हिंडिरहेकाले निर्माणमा बाधा पुगेको छ । निर्माणस्थलमा उपलब्ध जनशक्तिलाई कोभिड मापदण्डको पालना गराएर काममा लगाइएको हो । कामदारहरुलाई छुट्टाछुट्टै समूहमा रहने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । निर्माण अघि बढाउनका लागि स्थानीय प्रशासनबाट सहयोग भइरहेको प्रमुख दृष्टिले बताउनुभयो ।

सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारलाई उच्च प्राथमितामा राखेको भएपनि आयोजना निर्माणमा विभिन्न कारणले ढिलाइ भइरहेको छ । कहिले वन क्षेत्रमा रुख हटाउने, कहिले कामदारले आफूहरुले पारिश्रमिक रोकिएको भन्दै केही समय निर्माण ठप्प बनाउने र गत वर्षदेखि कोभिडको असर परेको प्रमुख दृष्टिले बताउनुभयो । समग्र ठेक्काको हिसाबले १५÷२० प्रतिशत सक्नुपर्ने भएपनि अहिलेसम्मको भौतिक प्रगति छ÷सात प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ ।

चिनियाँ कम्पनीले पनि स्वास्थ्य मापदण्डको पालना गरेर काम अघि बढाइरहन चाहेको बताइन्छ । नारायणगढदेखि बुटवल सडकको लम्बाई ११५ किमी रहेको छ । सो सडकमा पूर्व र पश्चिम गरेर दुई ठेक्कामा निर्माण भइरहेको । चिनिँया कम्पनी चाइना स्टेट इञ्जिनीयरिङ कर्पोरेशनले दुबै ठेक्कामा निर्माण अघि बढाइएको छ । ‘डेडिकेडेट डबल लेन’ सडकमा ठाउँ हेरेर तीनदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो ।

बजार क्षेत्रमा मुख्य राजमार्ग चार लेन र दुई लेन सर्भिस ट्याक गरी छ लेनमा विस्तार हुँदैछ । मुख्य राजमार्गको दुबैतर्फ एक÷एक लेनको सर्भिस ट्याकको निर्माण हुनेछ । जङ्गल क्षेत्र, बस्ती नभएका क्षेत्रमा चार लेन हुने छ भने दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुँदैछ । क्षमताभन्दा बढी तौल बोकेका धेरै गाडीहरु धेरै दाउन्ने आइपुगेर बिग्रने गरेको छ । एउटा लेनमा गाडी बिग्रिए पनि अरु दुई लेनबाट दुबैतर्फ पास हुनसक्ने भन्दै तीन लेनमा विस्तार गर्न लागिएको बताइएको छ । रासस

सम्बन्धित खवर