इटहरा : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ कि एक वृद्धा महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ ।
गत शनिबार राति १० बजेतिर छिमेकी परिवारका सदस्य मिलेर वृद्धालाई सामूहिक आक्रमण गरेका थिए । वृद्धामाथि खाबोमा बाँधेर अमानवीय ढंगले कुटपिट भएको थियोे । आक्रमणबाट वृद्धाको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।
सामूहिक आक्रमणबाट घाइते भएकी उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । आक्रमणबाट गम्भीर घाइते भएकी वृद्धाको बोल्न र घटनाको यथार्थ बताउन सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।
कुटपिटपछि बेहोस भएको देखेपछि श्रीमानले तत्काल घटनाको बारेमा प्रहरीलाई जानकारी गराएको बताइएको छ ।
उनीमाथि वर्ष ६५ का भीमलालसिंह गनगाई, वर्ष ६० का जितनलासिंह गनगाई, ५० वर्षका लखनलालसिंह गनगाई, २७ वर्षका लक्ष्मीप्रसादसिंह गनगाई र १९ वर्षीया हैरानी गनगाई मिलेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने मध्ये भीमलाल, जितनलाल र लखनलाल एउटै परिवारका दाजुभाइ हुन् । लक्ष्मीप्रसाद भतिजो र हैरानी भीमलालकी छोरी रहेको बताइएको छ ।
टुनामुना लगाएर बिरामी बनाइदिएको भन्दै गनगाई परिवारले यसअघि पनि वृद्धा महिलामाथि पटकपटक दुर्ववहार गर्ने गरेको स्थानीयहरु बताउँछन् । पीडित महिला पहिलादेखि नै मानसिक रुपमा कमजोर छिन् ।
पीडितका श्रीमानले घटनामा संलग्नविरुद्ध जाहेरी दिएपछि प्रहरीले लखनलाल र हैरानीलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई बोक्सी आरोपमा दुर्ववहार गरेको कसुरमा मुद्दा चलाउन अनुसन्धानका लागि आइतबार अदालतबाट म्याद थप गरिएको छ । घटनामा संलग्न अन्य तीन जना भने अझै फरार रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पीडित वृद्धा पहिलादेखि नै मानसिक रुपमा कमजोर छिन् । दुई परिवारबीच पहिलादेखि नै सामान्य झगडा हुदै आएको थियोे । वृद्धालाई यसअघि पनि विभिन्न आरोपहरु लगाएर सो परिवारले कुटपिट गर्ने गरेको थियोे ।
अहिले पक्राउ परेकी हैरानी गनगाईकी दिदी पुनमदेवी गनगाईसँग पीडित महिलाको विवाद भएको थियो । त्यही विवादलाई लिएर बोक्सीको आरोप लगाउँदै उनीमाथि सामूहिक आक्रमण भएको थियोे ।
शनिबार राति करिब १० बजेतिर घरमा सुतिरहेको अवस्थामा वृद्धालाई उठाएर नजिकको गाई गोठमा लगेर कुटपिट गरेका थिए ।
वडाअध्यक्ष भन्छन् : बोक्सीको आरोप लगाएको छैन
रतुवामाई २ का वडाअध्यक्ष किरणलाल सिंह गनगाईले पीडित वृद्धा महिलालाई कसैले बोक्सीको आरोप नलगाएको बताएका छन् । पुरानो रिसिबिका कारण उक्त घटना घटेको पनि उनले बताए ।
प्रदेश दैनिकसँग कुरा गर्दै उनलेे भने, ‘ महिला महिला झगडा गर्दा हाम्रो समाजमा छोरीलाई पनि नराम्रो शब्द प्रयोग गरिन्छ तर त्यस्तो गालिलाई बोक्सीको आरोप लगाएको भन्न मिल्दैन । ‘
वृद्धा महिला केही दिनदेखि राति उठेर कताकता हिड्ने, घरमा नसुत्ने गरिरहेकी थिइन्, गनगाइले भने, त्यसैले उनलाई परिवारका सदस्यले नै २/३ दिनदेखि बाँधेर राखेका थिए ।
आफ्नै घरका मान्छेले समेत वृद्धा महिलालाई कुटपिट गरेको वडाअध्यक्ष गनगाइको भनाइ छ ।