पाेखरा : नेपालकै पर्यटकीय केन्द्र पोखराको मुटु मानिने फेवातालको गहिराई बढाइने भएको छ । फेवा बाँध मर्मतसम्भार गर्न फेवातालको पानीको सतह घटाएको मौका पारेर सोमबारदेखि फेवातालको गहिराई बढाउन शुरु गरिने भएको हो । यसअघी बाँध मर्मतसम्भारको लागि फेवातालको पानीको सतह घटाएपछि नागरिक स्तरबाट फेवाको गहिराई बढाउनुपर्ने आवाज उठेको थियो । नागरिक स्तरबाट आवाज उठेसँगै संघसंस्थाले दवाब बढाएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका, फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समिति, सिंचाई डिभिजन कार्यालयलगायतका सरोकारवालाहरुको बैठकले फेवातालबाट माटो, ढुंगा, गिट्टी, बालुवा निकाल्ने निर्णय गरेको हो । शुक्रबार बसेको सो बैठकको निर्णय अनुसार आईतबारदेखि नै फेवातालबाट ढुंगा, गिट्टी, बालुवा, माटोलगायतका वस्तुहरु निकाल्न शुरु गर्ने भनिएपनि तयारी नपुगेपछि सोमबारदेखि मात्र निकाल्न शुरु गरिने फेवातालमा थुप्र्रिएको माटो ब्यबस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले जानकारी दिए ।
फेवातालबाट १५ हजार घन मिटर माटो निकाल्ने तयारी गरिएको छ । फेवातालको सिरान क्षेत्र मानिने फिर्केखोला, हर्पनखोला, खहरेखोला लगायतका क्षेत्रबाट फेवामा मिसिने क्षेत्रबाट माटो निकालिने संयोजक श्रेष्ठले बताए । फेवातालको माटो ६÷७ मिटर निकाल्ने तयारी गरिएको उनको भनाई छ । केहि वर्ष अगाडिसम्म सो क्षेत्रमा ६÷७ मिटर गहिराई थियो,उनले भने,‘अहिले त्यो पुरिएर ताल नै दुई वटा बन्लाजस्तो भइसकेको छ, त्यसैले पहिलेकै अवस्थामा फर्काउनेगरी माटो निकाल्ने तयारीमा छौं ।’
श्रेष्ठका अनुसार माटो निकाल्न करीब डेढ करोड रुपैयाँ आवश्यक पर्छ । एक्साभेटरको प्रयोग गर्दा करीब २५ लाखमै हुने भएपनि मान्छे प्रयोग गरेर माटो निकाल्दा झण्डै १ करोड ३३ लाख खर्च लाग्ने अनुमान रहेको उनको भनाई छ । फेवाताल संवेदनशील क्षेत्र भएकाले सबै ठाउँमा एक्साभेटर प्रयोग गर्न नसकिने भएकाले मान्छेको प्रयोग गर्नुपर्ने बाध्यता रहँदा खर्च बढ्ने उनको भनाई छ ।
फेवातालको गहिराई बढाउन सबै सहमत भएपनि बजेट निकाल्न भने समस्या भएको छ । आर्थिक वर्षको अन्त्य तिर भएकाले प्रदेश सरकार, पोखरा महानगरपालिका, सिंचाई डिभिजन कार्यालय वा अन्य कुनैपनि कार्यालयले बजेट निकाल्न समस्या भएको हो । यद्वपी पोखरा महानगरपालिकाले ५० लाख र प्रदेश सरकारले २५÷३० लाख बजेट दिने आश्वासन दिएको छ । तर कसैलेपनि तत्काल बजेट निकासा गरिहाल्ने स्थिति नरहेकाले रकमान्तर गरेर मात्र बजेट दिने भनेको श्रोतको भनाई छ । तत्काल बजेट नभएपछि ताल संरक्षण तथा विकास प्राधिकरणको ५ लाखबाट काम शुरु गर्ने तयारी गरिएको संयोजक श्रेष्ठले बताए । त्यसपछि फेवाताल क्षेत्रमा रहेको कोमागाने पार्कको नाममा रहेको कोषबाट २० लाख निकालेर खर्च गर्ने तयारी भएको उनको भनाई छ । यसका अलावा फेवा जलाधार क्षेत्र संरक्षण कोषमा रहेको १५ लाखपनि तानेर माटो निकालिने उनले बताए । त्यतिञ्जेल महानगर र प्रदेश सरकारले बजेट रकमान्तर गरेर दिने उनले जानकारी दिए ।
सोमबारदेखि फिर्केखोला मिसिने फेवा क्षेत्रबाट माटो निकाल्न शुरु गरिने उनले बताए । माटो निकाल्ने काम गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको उपस्थितिमा शुरु गरिने उनले बताए ।
यता माटो निकाल्न ढिलाई हुँदा फेवा बाँधको काम सकिएपनि पानी जमाउन ढिलाई भएको छ । फेवा बाँध मर्मत सम्भारको काम सकिएपनि माटो निकाल्न ढिलाई हुँदा फेवातालमा पानी जमाउन ढिलाई भएको सिंचाई डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले बताए । मर्मत सम्भारको काम सकिएको ३÷४ दिन भइसक्यो,उनले भने,‘माटो निकाल्न ढिलाई हुँदा पानी जमाउन केहि ढिलाई भएको छ ।’ यद्वपी परिक्षणका लागि पानी जमाउने काम भने शुरु गरिएको उनले बताए ।
यसैबीच, फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले फेवातालको चार किल्ला छुट्याएर सरकारलाई बुझाएको जनाएको छ । समितिले फेवातालको बास्तविक क्षेत्र ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा अर्थात ५.७२६ वर्ग किलोमिटर रहेको भन्दै सो क्षेत्रको सिमांकन कायम गर्न सिफारिस गर्दै प्रतिवेदन तयार गरेको छ । साथै सो समितिले सिमाङ्कनको काम सकेर अब तालको बास्तविक पानीको क्षेत्रफल, दुषित भनिएको जग्गाको बास्तविकता पत्ता लगाउँदै मुआब्जाका लागि आवश्यक पर्ने बजेटसहित संरक्षणको काममा लागेको समितिका संयोजक पून्य पौडेलले जानकारी दिए ।