कोभिडको दोस्रो डोज ८ हप्तापछि

कोभिडको दोस्रो डोज ८ हप्तापछि

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको (कोभिसिल्ड) खोप दोस्रो डोज पहिलो डोज लगाएको ८ हप्तापछि मात्र लगाइने छ । खोपको बारेमा भईरहेको विभिन्न अनुसन्धानले पहिलो डोज लगाएको ८ हप्तापछि लगाउँदा बढी प्रभावकारी हुने पत्ता लागेसँगै खोप विज्ञ टोलीले सोही अनुसार गर्नका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको हो ।

स्वास्थ्य पत्रकार मञ्च नेपाल आज राजधानीमा आयोजना गरेको कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले ढुक्क भएर सो खोप लगाउन सुझाव दिनुभएको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड ढुक्क भएर लगाउन पनि अनुरोध गर्नुभएको छ ।

अहिले नेपालमा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप अभियान सञ्चालन भईरहेको छ । खोप लगाइसकेकाहरुलाई २८ दिन पुरा भएपछि दोस्रो डोज दिने भनिएता पनि त्यसको प्रभावकारीतालाई मध्यनजर गर्दै ८ हप्तापछि लगाउनका लागि मन्त्रालयलाई सिफारिस गरिएको खोप विज्ञ तथा प्राविधिक समितिका संयोजक डा. श्यामराज उप्रेतिले बताउनुभयो । ‘अहिले कोभिसिल्ड खोपको बारेमा विभिन्न अनुसन्धान भैरहेको छ ।’

उहाँले भन्नुभयो,‘पछिल्लो अनुसन्धानले पहिलो खोप लगाएको ८ हप्तापछिमात्र दोस्रो डोज लगाउँदा त्यसको प्रभावकारिता बढी हुने भन्ने देखिएपछि मन्त्रालयलाई सिफारिस गरिएको हो ।’ मन्त्रालयले यस कुरालाई निर्णय गरेपछि पहिलो खोप दिइएको ८ हप्तापछि मात्र दोस्रो खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमु्ख डा. झलक शर्मा गौतमले बताउनुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोरोना नियन्त्रणमा अन्य देशको तुलनामा नेपालले उत्कृष्ट काम गर्न सफल भएको दाबी गर्नुभयो । मन्त्री रावतले महामारीमा सरकारले केही गरेन भन्नेहरुलाई तोकिएको मितिभन्दा एक महिना अघि खोप ल्याएर सफल भएको पनि बताउनुभयो ।

यता स्वास्थ्यकर्मीहरुले महामारीको समयमा विकसित भनिएका मूलुकको भन्दा बढी सेवा गरेको दावी गरेका छन् । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले २४ फागुनदेखि समुदायस्तरमा खोप अभियान सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभयो । खोप अभियान नरोकियोस् भनेर खरिद पक्रिया पनि अघि बढाइएको बताउनुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले खोपका कारण अहिलेसम्म कसैलाई पनि स्वास्थ्यमा गम्भीर समस्या नआएको बताउनुभयो । उहाँले नेपालमा थप ३ वटा खोप उत्पादक कम्पनीको विभागमा निवेदन परेको र ती कम्पनीहरुलाई आवश्यक कागजातका लागि पत्राचार गरिएको बताउनुभयो ।

खोप लगाएकालाई टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, रक्तचाप कम हुनेलगायत समस्या देखिएको र ती समस्या सामान्य भएको खोप विज्ञ डा. उप्रेति बताउँनुहुन्छ । ‘यस्ता समस्या देखिनु भनेको खोपले काम गर्दैछ भन्ने हो,’ उहाँले भन्नुभयो, यसलाई सामान्य रुपमा लिनुपर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले पहिलो चरणमा ५५ बर्ष भन्दा माथि उमेर समूहका व्यक्तिले खोप पाउनुपर्ने बताउनुभयो । ‘अहिले कोभिड संक्रमण भएर गम्भीर अवस्थामा पुगेका र मृत्युदर पनि ५५ वर्षभन्दा माथिका मानिसहरुको बढी रहेकाले यो उमेर समूहका नागरिकले खोपमा पहिलो प्राथमिकता पाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

यसैगरी महामारी रोग विज्ञ प्रा.डा. केदार बरालले कोभिड–१९ को खोप आइसकेको भएपनि हेल्चेक्राई गर्न नहुने बताउनुभयो। खोपपछि हुन सक्ने अवाञ्छित घटनाको निरुपण समितिको सदस्य समेत रहनुभएको उहाँले कोभिसिल्ड लगाएर कोहि पनि गम्भीर खालको समस्यामा नरहेको जानकारी दिनुभयो ।

विश्वमा हाल ७० वटा खोप ट्रायलमा रहेको र २० वटा खोप तेस्रो चरणमा छ । कोभिसिल्ड नेपालसहित अन्य १६ वटा मुलुकहरूमा पनि प्रयोग भइरहेको भन्दै सुरक्षित र प्रभावकारिताको विषयमा आशंका नगर्न विज्ञहरुले आग्रह गर्नुभएको छ । नेपालमा लगाइरहेको कोभिसिल्डलाई पनि विश्व स्वास्थ्य संगठनले मान्यता दिने अन्तिम तयारीमा पुगेको खोप शाखाका प्रमुख डा. शर्माले बताउनुभयो ।

७०% प्रभावकारी भनिएको कोभिसिल्ड खोपलाई यसअघि नेपालमा १४ माघबाट फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाउन सुरु गरिएको थियो । त्यस्तै कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले भारतमा खोप शुरु भएको पाँच दिन पछि नै नेपालमा १० लाख डोज खोप अनुदानमा उपलव्ध गराएको भन्दै सरकारको प्रयास र भारत सरकारको सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले पहिलो प्राथमिकतामा राखेर सञ्चारकर्मीलाई समेत खोप उपलव्ध गराएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई धन्यवाद दिनुभयो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार तथा विज्ञ गरी ७० भन्दा बढीको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर