सुकुम्बासीहरुको लगत संकलन घरघरमा गएर गरिने

सुकुम्बासीहरुको लगत संकलन घरघरमा गएर गरिने

पथरी, भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोगले मोरङको पथरी शनिश्चरे नगरमा वडा वडामा गएर लगत संकलनका बारेमा जनप्रतिनिधि र कर्मचारीहरुलाई अभिमुखिकरण गराइएको छ ।

अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रममा आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईंले तत्कालै लगत संकलन गरी नापी कार्य अघि बढाउनका लागि पालिकाहरुले प्रक्रिया थाल्न अुनरोध गर्नुभयो । साथै उहाँले सबै समस्या पालिकाहरुमा दर्ज गरेर समाधानमा के गर्नु उचित हुन्छ भन्ने राय सहित आयोगमा र आयोगले आवश्यक परे सरकारमा समेत पेश गरी सच्चाईको आधारमा भूमि समस्या समाधान गरिछोड्ने बताउनु भयो ।

कार्यक्रममा, पथरी शनिश्चरेका जनप्रतिनिधि तथा लगत संकलनका लागि वडा वडामा खटिने कर्मचारीका साथै बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजकुमारी इङनाम सहितको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै कानेपोखरी गाउँपालिका अध्यक्ष काफ्लेले पथरी शनिश्चरे र कानेपोखरीमा एउटाले ढालफाँड गरेको जग्गाको अर्काैले पूर्जा निकालेको समस्याको न्यायसम्मत रुपमा समाधान समेत गर्ने गरी लाग्नु पर्ने जनाउनु भयो ।

सो क्रममा आयोगका कर्मचारीहरु राम भुसाल र घनश्याम बस्यालले कँही कतै आफ्नो र परिवारको नाममा जग्गा नभएकाले अनुसूचि ३ को ‘भूमिहीन सुकुम्बासी’ फारम भर्नुपर्ने जनाउनु भयो । अन्यत्र केही जग्गा समेत भएको तर १० वर्षअघिदेखि आफुले ऐलानीपर्ति जग्गा जोतभोग गर्दै आएकाले अनुसूचि ४ को ‘अव्यवस्थित बसोबास’को फारम भर्नुपर्ने विषयमा जानकारी गराउँदै फारम भर्ने तरिकाका बारेमा प्रष्ट्याउनु भयो ।

पथरी शनिश्चरे नगर प्रमुख एवम् आयोगको पालिकास्तरको सहजिकरण समितिका संयोजक दिलीपकुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । उपप्रमुख एवम् समितिका सहसंयोजक यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, उपसचिव शालिग्राम काफ्ले सहितको कार्यक्रममा सहभागिता रहेको थियो ।

नगरमा बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालय स्थापना गरी १० वडाबाट ३,३ जनाका दरले कर्मचारी नियुक्त गरिएको छ । यसअघि ती कर्मचारी र वडा सचिवहरुलाई घर घरमा गएर फारम भर्ने विषयमा नगरपालिकाले समेत अभिमुखिकरण कार्यक्रम राखेको थियो ।

 


सम्बन्धित खवर