राम कार्कीको अध्यक्षतामा रतुवामाईमा युवा संघ गठन

राम कार्कीको अध्यक्षतामा रतुवामाईमा युवा संघ गठन

प्रवेश विष्ट, इटहरा : मोरङको रतुवामाई नगरपालिकामा राष्ट्रिय युवा संघ नेपाल गठन भएको छ । युवा संघ रतुवामाई नगर कमिटीको अध्यक्ष राम कार्की बन्नुभएको छ ।

आइतबार रतुवामाई ७ स्थित विश्वनाथ मन्दिरको सभाहलमा भएको बृहत युवा भेलाले संघको अध्यक्षमा कार्की र सचिवमा समीर सुवृदीलाई मनोनयन गरेको हो । यस्तै राष्ट्रिय युवा संघ नेपाल रतुवामाई नगर कमिटीमा १६६ जना सदस्य रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा विद्यार्थी फाँट इन्जार्ज विनोद ढकालले छिन्नभिन्न भएको कम्युनिस्ट पार्टीलाई एकिकृत गर्दै नेपाली राजनीतिक आन्दोलनको मूल प्रवाहको रुपमा कम्युनिस्ट आन्दोलनलाई स्थापित गर्न युवाहरुनै अग्रसर रहेको बताउनुभयो । वर्तमान नेपाली राजनीतिको सन्दर्भ जोड्दै नेता ढकालले भन्नुभयो, ‘पार्टीको एक तहको नेतृत्व आफ्नो पार्टी छाडेर नयाँ पार्टी निमार्णको अभियानमा लागिरहेको छ । जसको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड), माधबकुमार नेपाल र झलनाथ खनालले गरिरहनु भएको छ । ’

हाल पार्टीमा कुनै वैचारिक, सैद्धान्तिक विवाद नभई खाली प्रचण्ड र माधव नेपाल पदका पछि लागेर पार्टी विभाजन तर्फ अघि बढेको उहाँले बताउनुभयो । आफूहरु अझै पनि पार्टी एकताको पक्षमा रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीनै नेकपाको मूल धार भएको भन्दै नेता ढकालले एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।

त्यस्तै नेकपा केन्द्रीय सदस्य तथा नेकपा मोरङ जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेलले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको बताउनुभयो । संविधानसभा सदस्यसमेत रहनुभएको पोखरेलले आफूहरूले स्थिरताको कुरा गरिरहेको बेला प्रचण्ड -माधव समूह अस्थिरताको पक्षमा रहेकाले उनीहरू पार्टी फुटाउन लागिपरेको बताउनुभयो ।

मुलुकमा विकास र समृद्धि चाहनेहरुले अब केपी ओलीलाई साथ दिनुपर्ने उहाँको भनाइ छ । जनताले विश्वास दिएर पठाएको प्रधानमन्त्रीले आफ्नै पार्टीका केही नेताको पद लोभनका कारण काम गर्न नपाएपछि जनतामा जाने निर्णय गर्नुभएको पनि नेता पोखरेलले बताउनुभयो ।

कार्यक्रममा नेकपाका युवा नेता पर्शुराम बस्नेत, अनेरास्ववियू केन्द्रीय कार्यलय सदस्य भाष्कर खनाल, युवा संघका केन्द्रीय सदस्य विजय डाँगी, युवा संघ मोरङ जिल्ला संयोजक नवीन पौडेललगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियोे ।

सम्बन्धित खवर