खानेपानी अभाव भएपछि इलाम नगरपालिका ११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको संख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत पानी निकालेपछि बसाइँ सर्नेहरू फर्किन थालेका छन् । जमिनमुनि करिब १२३ मिटर खनिएको छ तर ५० मिटरमुनि नै पानी भेटिएकाले त्यहीँबाट खानेपानी आपूर्ति हुन थालेको छ ।
लामो बाटो हिँडेर मूलको पानी ल्याउनुपर्ने बाध्यताले आजित गाउँबासी बसाइँ सर्ने क्रम बढ्दो क्रममा थियो । पानीकै समस्याले गाउँले विस्तापित हुन थालेपछि इलाम नगरपालिकाले डिप बोरिङबाट पानी निकाल्ने योजना बनाएको हो । जिल्लामै पहिलो परीक्षण भएकाले सफल हुने/नहुनेमा द्विविधा थियो तर नगरको परीक्षण सफल भएपछि गाउँले खुसी भएका छन् ।
लामो बाटो पानी बोक्नु नपर्ने भएपछि पुनः गाउँ फर्किएको ७० वर्षीया टीका पराजुली बताउँछन् । पराजुली २०३२ सालमा विवाह गरेर सोयाक आउँदा खानेपानी लिन दैनिक एक घण्टा हिँड्नुपर्थ्यो । अहिले बोरिङबाट घरमै पानी झरेपछि भने पराजुलीलाई ‘जीवनले काँचुली’ फेरिएझैँ भएको छ ।
एक वर्षअघि दुई करोड ४७ लाख ८० हजारको लागतमा बोरिङको काम सुरु गरिएको थियो । सुक्खा डाँडामा अन्य क्षेत्रबाट पानी ल्याउन सकिने अवस्था थिएन । सोही कारण नगरले यो नयाँ उपाय अपनाएको हो । गाउँमा सडक, बिजुली सबै विकासका पूर्वाधार पुगे पनि खानेपानी नभएपछि स्थानीयवासी चिन्तित थिए ।
पानीको समस्या सुल्झिएपछि गाउँमा फर्किनेको संख्या बढेको स्थानीय नरेन्द्र आचार्य बताउँछन् । आचार्य पनि पानीको समस्याले विस्थापित भएका थिए । उनी यही समस्याले गाउँ छाडेर बेँसीमा बस्दै थिए, बस्तीमा पानी झरेपछि फेरि गाउँ फर्किने तरखरमा छन् । यहाँका अधिकांश परिवार पानीको समस्याले झापातर्फ बसाइँ सरेका छन् ।
झापाबाट नजिक भएकाले पनि गाउँले पानीको सुगमताका लागि त्यतै सरेका हुन् । पानीका लागि योभन्दा पहिले पनि विभिन्न प्रयत्न चलेका थिए तर कुनै पनि योजना सफल भएनन् । गाउँमा पानी ल्याउन खोलाको पानी मोटरबाट ल्याउनेदेखि कुवाको पानी संकलन गर्ने कामसमेत गरियो तर कुनै काम सफल भएको थिएन ।
नगरको पछिल्लो प्रयत्न सफल भएपछि गाउँमा सिँचाइका लागि पनि पानी पुग्ने वडाध्यक्ष रविन एक्तेन बताउँछन् । खानेपानी समस्याले १८ घरपरिवार अन्यत्र बसाइँ सरेका छन् । खानेपानीका लागि एक लाख ६० हजार लिटर क्षमताका तीनवटा ट्यांकी निर्माण भएका छन् ।
वितरणका लागि चेम्बर, वास आउट चेम्बर एउटा/एउटा, भल्व बक्स चेम्बर सातवटा, एयर भल्व चेम्बर दुईवटा, सोलार सिस्टम १५.७५ किलोवाट रहेका छन् । बोरिङका लागि आवश्यक पर्ने सबै फिटिङको काम र एउटा घर निर्माण भइसकेको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले जानकारी दिए । उनका अनुसार मेधस नजिक बेँसी क्षेत्र भएकाले कम गहिराइमै पानी निकाल्न नगर सफल भएको हो । अहिले आयोजना १०० घरका लागि हो । अर्को पटक थप गर्दै लगिने नगरपालिकाले जनाएको छ । (रासस)