शङ्खधर सङ्ग्रहालय सहितको सामुदायिक भवन उद्घाटन

शङ्खधर सङ्ग्रहालय सहितको सामुदायिक भवन उद्घाटन

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकमा निर्माण गरिएको शङ्खधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान भवनको उद्घाटन गर्नुभएको छ । शङ्खधर दिवसको अवसर पारेर आज मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको भवन उद्घाटन कार्यक्रममा उहाँले नेपाल सम्वत नेवार समूदायको मात्रै सम्वत हो भन्ने भ्रम आजैबाट सबैले हटाउनुपर्ने बताउनुभयो । शाक्यले भन्नुभयो, “नेपाल सम्वत राष्ट्रिय सम्वत हो, यो सबै नेपालीको सम्वत भएकाले यसमा कसैले पनि भ्रम पाल्नु हुँदैन, शङ्खधर राष्ट्रिय विभूति भएकाले उहाँको सबैले सम्मान गर्नुपर्छ ।”

उहाँले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद एवं राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भन्ने हेतुले महानगरपालिकाले उहाँहरुको सम्मानमा शालिक निर्माण गर्दै आएको बताउनुभयो । “साख्वाः को मात्रै होइन महानगरपालिकाले जहानीयाँ राणा शासनविरुद्धको लडाइँका क्रममा सहादत प्राप्त गरेका चार शहीद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीको सम्झनामा पूर्णकदको शालिक निर्माण गरिसकेको छ”, उहाँले भन्नुभयो, “उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफलस्थित र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको छ, धर्मभक्तको पुख्र्यौली टोल झोँछेमा पनि हामीले उनको नाममा पार्क र शालिक निर्माण गरेका छौँ ।”

त्यसअवसरमा वाग्मती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले शंखधर साख्वाःको सम्झनामा मध्यपुरथिमिमा बनेको भवन र त्यसभित्रको संरचना इतिहास बनेर रहने चर्चा गर्नुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकावासीको मन–मुटुमा रहेको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले नगरपालिकाको रु ९० लाख, सांसद महेश बस्नेतको सांसद कोषबाट रु ५० लाख र शङ्खधर प्रतिष्ठानको तर्फबाट जन श्रमदानसहित रु १० लाख गरी रु एक करोड ५० लाखमा उक्त भवन उपभोक्ता समितिमार्फत निर्माण भएको बताउँदै भवनमा अभिलेखालय, सूचना केन्द्र, सङ्ग्रहालय र सचिवालय रहने गरी चार तलाको भवन निर्माण भएको बताउनुभयो ।

साख्वाःको इतिहास भक्तपुर र काठमाडौँसँग जोडिएको स्मरण गराउँदै उहाँले काठमाडौँ महानगरपालिकाको नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गतको आर्थिक सहयोगमा शङ्खधर पार्क निर्माण भइरहेको पनि जानकारी दिनुभयो । त्यसअवसरमा शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नेकपाका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, नेपाली कांग्रेस मध्यपुर नगरसमितिका सभापति सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले शङ्खधर साख्वाःले पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठलाई नगरप्रमुख श्रेष्ठले भवनको साँचो हस्तान्तरण गर्नुभयो । कार्यक्रममा शङ्खधर चोकस्थित साख्वाःको शालिकमा उपस्थित जनप्रतिनिधिले माल्यार्पण गर्नुभएको थियो । रासस

सम्बन्धित खवर