विराटनगरमा उद्योग दर्ता नगरी उत्पादन गरिएको गुणस्तरहीन सेनिटाइजर नष्ट

विराटनगरमा उद्योग दर्ता नगरी उत्पादन गरिएको गुणस्तरहीन सेनिटाइजर नष्ट

विराटनगर : विराटनगर महानगरपालिका–१५ मा ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्सकाे गुणस्तरहीन सेनिटाइजर नष्ट गरिएकाे छ । मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने गुणस्तरहीन सेनिटाइजर उत्पादन गरिएको पुष्टि भएपछि सेनिटाइजर गरिएकाे हाे । कोरोना त्राससँगै उद्योग स्थापना गरेर अनिल चौधरीले प्रयोगनै गर्न नमिल्ने सेनिटाइजर उत्पादन गरेका हुन् । उत्पादन गरी बिक्रीका लागि बजार लैजाने तयारी हुँदै गर्दा औषधि व्यवस्था विभागको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी, उपभोक्तावादी संस्था पब्लिक फोरमलगायतको संयुक्त टोलीले अनुगमन गरेर उत्पादनमा रोक लगाएको थियो ।

पहिलो पटक २०७७ साल असोज १३ गते गरिएको अनुगमनपछि टोलीले उत्पादित सेनिटाइजर बजार लैजान र बिक्री गर्न पनि रोक लगायो । त्यस क्रममा एक सय ९४ कार्टुन सेनिटाइजर बिक्रीमा बन्देज गर्दै उत्पादन पूर्ण रुपमा रोकिएको विभागको कार्यालय विराटनगरका फार्मेसी अधिकृत दीपेन्द्र खड्काले जानकारी दिएका छन् ।

 

अवैध सेनिटाइजर बजारमा बिक्री गर्न लैजान लागेको सूचनाका आधारमा बिक्रीमा रोक लगाइएको विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले बताए । प्रयोग गर्न नमिल्ने सबै सेनिटाइजर बुधबार नष्ट गरिएको कट्टेलले जनाएका छन् । उद्योगमा बुधबार दोस्रो पटक अनुगमन गर्दै बिक्रीमा रोक लगाइएको उत्पादित सेनिटाइजर नष्ट गरिएको उनले बताए । उनका अनुसार पानीको स्रोतमा हालेर नष्ट गर्दा जीवजन्तुलाई असर गर्नसक्ने देखिएपछि डाइलुसन गराएर (सेनिटाइजरमै पानी हालेर) शौचालयको सेफ्टी ट्यांकीमा हालेर नष्ट गरियो ।

कट्टेलले मिथाइल अल्कोहल मिसाएर सेनिटाइजर बनाउन नपाउने मापदण्ड रहेको बताए । तर परीक्षणबाट मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक उक्त अल्कोहलको प्रयोग गरेर उत्पादन गरेको पाइएको उनको भनाइ छ । सेनिटाइजर बनाउन इथानोल र आइसोप्रोपायल अल्कोहल ७० देखि ८० प्रतिशत हुनुपर्ने सरकारी मापदण्ड छ ।

तर उद्योगले इथानोलको ठाउँमा मिथाइल अल्कोहल प्रयोग गरेर सेनिटाइजर बनाइरहेको पाइयो । ‘मिथाइल अल्कोहल प्रयोग गर्दा मानिसको स्वास्थ्यमा धेरै असर गर्छ,’ कट्टेलले भने, ‘आँखा चिलाउने, हातमा फोका आउने, एलर्जी हुनेदेखि लिएर दीर्घकालिन रुपमा क्यान्सर समेत गराउँछ ।’ त्यही भएकाले सेनिटाइजर बनाउन मिथाइल अल्कोहल मिसाउन प्रतिबन्ध रहेको उनको भनाइ छ । उनका अनुसार उत्पादकले उत्पादित सेनिटाइजर बिक्रीका लागि बजारमा भने लगिसकेको छैन । ‘सबैतिर बजार अनुगमन गर्दा अहिलेसम्म उक्त सेनिटाइजर फेला परेको छैन,’ कट्टेलले भने, ‘उद्योगका सञ्चालकले पनि बजारमा ‘सप्लाई’ नगरेको जानकारी गराएका छन् ।’ यदि बजारमा लगेको र उपभोक्ताले प्रयोग गरेको भेटिएमा उद्योग सञ्चालकलाई औषधि ऐन २०३५ अनुसार कारबाही अघि बढाइने उनले बताए ।

सम्बन्धित खवर