श्रीलङ्का टापुमा ४० बर्ष पछि पुग्यो विजुली

श्रीलङ्का टापुमा ४० बर्ष पछि पुग्यो विजुली

इटहरी : साँझ परेपछि टुकीको मधुरो उज्यालोमा बस्ने श्रीलङ्का टप्पुका बासिन्दाहरूले यस पटकको दशैं बिजुली बत्तीको उज्यालोमा मनाए । अब नजिकै आइरहेको तिहार झन झिलिमिली पारेर मनाउने तयारीमा छन । यो अवसर जुटाएका हुन सुनसरी क्षेत्रनम्बर ४ का संघीय संसद पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ।

तीन साता अघिसम्म छिमेकी पल्लो गाउँमा बलेको बिजुली बत्तीको उज्यालोलाई टाढाबाट हेर्दै आफ्नो घरमा टुकी बालेर चित्त बुझाउँथे होरेज चन्द्रवंशी र उनका छरछिमेकीहरू । अहिले चन्द्रवंशीको उमेर ७५ वर्ष पुग्दा बल्ल टुकी बत्तीलाई बिदाई गर्न पाएका छन । चाजो पाजो मिलाएर विजुली गाउँमै लगे पछि अहिले नेता कार्कीको चर्चा काँग्रेसमा मात्र नभएर समग्र सुनसरीबासीले प्रशंसा गर्न थालेका छन ।

वराहक्षेत्रमा विद्युतीकरण सुरु भएको चारदशक बितिसकेको छ । तर, श्रीलङ्का टप्पुका करिब ५ हजार बासिन्दाले भने टुकीकै भरमा साँझको स्वागत गर्दै आएका थिए । अरूका लागि सामान्य भए पनि श्रीलङ्का टप्पुका बासिन्दाका लागि आफ्नो गाउँघरमा बिजुली बत्ती बल्नु ठूलै उपलब्धि भएको छ । नेपाली काँग्रेसका नेता उपेन्द्र कटुवालले भने चुनावी अभियानमा बोलेको कुरा ज्ञानेन्द्र दाईले पुरा गर्नु भयो त्यहाँका सर्वसाधरण खुसी भए उनले भने । पोल गाड्ने काम समेत हामीले गरेका हौ उनले भने ।

विद्युतीकरण हुँदा वराहक्षेत्र नगरपालिका–६ र ९ का बासिन्दाले खुशीयालीसमेत मनाएका छन । सुगम जिल्लाको दुर्गमस्थल मानिएको श्रीलङ्का टप्पुमा बिजुली बल्दा गाउँमा खुशीयाली छाएको स्थानीय रामसेवक मेहताले बताए । उनले भने, ‘टुकीको ठाउँमा बिजुली बत्ती आयो । बिजुलीलाई सदुपयोग गरेर गाउँका किसानहरूले आयमूलक क्षेत्रमा लागेर जीविका चलाउन सक्ने भएका छन ।’

श्रीलङ्का टप्पुस्थित गरैया कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका स्थानीय युवा सन्तोषकुमार चन्द्रवंशीले खेती किसान गरेर जीविका चलाउने स्थानीय बासिन्दामा विद्युतीकरणले नयाँ आशा र उत्साह पलाएको बताए । उनले भने, ‘गाउँमा विद्युत्को अभाव थियो । परम्परागत खेती किसानी गर्दै आएका थियौं । अब विद्युत प्रयोग गर्दै आधुनिक कृषिको योजना सुरु गर्ने तयारीमा छौं । कृषिका लागि अब मोटर जडान गर्न सकिने भयो, पानी तान्न सकिने भयो, सबैभन्दा ठूलो कुरो जस्तो लागेको त मोबाइल चार्ज गर्ने समस्या समाधान भयो ।’

विद्युत प्रसारणपछि कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीलगायतका जनावरले दिने दुःख पनि कम हुने उनले बताए । उनका अनुसार बर्सेनि जङ्गली हात्ती र अन्य जनावरले आतङ्क मच्चाउँदै वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको धनमाल, बालीनाली क्षति पु¥याउने गरेको थियो । उनले भने, ‘बिजुली बत्ती आएपछि जङ्गली हात्ती र अन्य जनावरबाट दुःख नपाइएला भन्ने आशा पलाएको छ ।’ वराहक्षेत्र–९ का वडासदस्यसमेत रहेका स्थानीय शम्भु चन्द्रवंशीले बिजुली आएपछि गरैया कृषि सहकारी संस्थाले आधुनिक कृषिसँगै चक्लाबन्दीमा खेती गर्ने योजना बनाएको बताए ।

श्रीलङ्का टप्पुमा नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत करिब अढाई करोड रुपैयाँको लगानीमा विद्युत विस्तार भएको नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख मिथिलेसकुमार गइवारले जानकारी दिए । उनले भने, ‘अनगोइङ प्रोजेक्ट हो, थप टेण्डर भएको छ । ५ वटा ट्रान्सफर्मर जडान गरेका छौं । छुटफुट लाइन भने विस्तार गर्नेछौं । कोरोना सङ्क्रमणका बेला औपचारिक कार्यक्रम गरिएन, हाललाई विद्युत छाडेका छौं ।’

सम्बन्धित खवर